काठमाडौँ। उच्च अदालत विराटनगरले गोरे भनिने चूडामणि उप्रेतीलाई ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैद सजाय ठहर गरेको छ।
न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्यको हत्या कसुरमा आइतबार जन्मकैद सदर गरेको हो। मोरङ जिल्ला अदालतले जन्मकैद सजाय तोकेपछि उनी कारागारमा छन्।
‘एउटै अभियोगपत्रमा छुट्टाछुट्टै मागदाबी थियो। हत्या प्रकरणमा २० वर्ष जन्मकैद सदर भएको छ। अरू मुद्दामा अभियोगदाबी नपुग्ने फैसला भएको छ‚” उच्च अदालत विराटनगरका सूचना अधिकारी सन्तोष पोखरेलले नेपालन्युजलाई बताए।
१८ फागुन २०७४ मा मोरङको उर्लाबारीमा सनमको हत्या भएको थियो। त्यही अभियोगमा जिल्ला अदालतले गोरेसहित ६ जनालाई जन्मकैदको सजाय ठहर गरेको थियो। तीमध्ये गोरेको हकमा जन्मकैद सदर भएको छ भने अन्यको हकमा सजाय घटेको छ।
अन्य अभियुक्तहरू नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई हकमा जिल्लाले तोकेको २० वर्ष सजाय घटाएर १० वर्ष कायम गरेको छ।
त्यसैगरी भविन तामाङ र राजनकुमारको जिल्ला अदालतकै तीन वर्ष सजाय सदर भएको छ। मदनप्रसाद घिमिरेलाई जिल्लाले तोकेको ६ महिना बढाएर ३ वर्ष कैद हुने फैसला गरिएको थियो। अन्य जिल्ला अदालतले सफाइ दिएकाहरूलाई उच्च अदालतले सदर गर्दै सफाइ नै दिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए।