काठमाडौँ। आयोजकको टिम झापा-११ फुटबल क्लब कठिन जित निकाल्दै बिर्तामोडमा जारी सातौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो क्वार्टरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा झापाले सिङलिङलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको हो।
टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो। सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले बचाए भने दीपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो।
खेल अवधिभर झापाले विपक्षी सिङलिङ स्पोर्टिङ क्लबलाई दबाबमा राख्यो। झापाका आधा दर्जन प्रहार खेर गएको थियो। सिङलिङले विपक्षी पोस्टमा खासै अवसर सिर्जना गर्न सकेन।
खेलको प्लेयर अफ दी म्याच विजेता टिम झापा-११ का गोलकिपर विवेक मगर घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए।