काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
प्रदीप पौडेल।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधारका कार्य अघि बढेको बताएका छन्। तर अहिले अवरोध आएकोमा उनले दुःख जनाए।

“बिमा हामीहुँदा कहीँ बन्द भएको थिएन,” उनले भने,“यो सरकारले पनि बन्द हुन दिनु हुँदैन।” काठमाडौँ ५ मा सोमबार आयोजित कार्यक्रममा उनले आफू स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा रहँदा स्वास्थ्य बिमाको सुधार गर्दै नीतिगत तथा व्यवहारिक सुधार अघि बढाएर कानुनी संशोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिएको बताए । त्यसपछि त्यो प्रक्रिया रोकिएको उनको गुनासो छ।

“स्वास्थ्य बिमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिति आउँछ,” उनले भने। स्वास्थ्य बिमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रिय सभामार्फत कानुन संशोधन हुने कार्यसूचीमा रहेको उनले बताए।

उनले आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित तीन लाखदेखि साढे सात लाख रुपैयाँसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको भन्दै स्वास्थ्य बिमालाई सुधार मात्रै विकल्प भएको बताए।

“हामीले तयार गरेको प्रतिवेदनका आधारमा प्रक्रिया लागु गर्ने हो भने एक वर्षमा एक खर्बसम्म बिमाले आम्दानी गर्छ,” उनले भने, “त्यसो भए चाहिनेलाई पाँच लाख दिन कुनै गाह्रो हुने छैन। हामीले कसरी गर्ने, कसलाई दिने सबै तय गरेर छाडेका छौँ।”

फरक प्रसंगमा उनले विगतमा काठमाडौं ५ को सांसद रहँदा क्षेत्रमा विकासका धेरै काम गरेको दाबी पनि गरे। उनले चक्रपथ विस्तारमा दबाब दिन संसद्‌मा प्रस्ताव लैजानेदेखि दबाब यात्रासम्म गरेको र अहिले नतिजा देखिएको बताए।

“अब बसुन्धरासम्म दोस्रो चरणको काम चीनले गर्नेगरी अगाडि बढेको छ। महाराजगन्जदेखि मण्डीखाटारसम्म अघिल्लो बजेटले काम भइरहेको छ। यो वर्ष बजेट परे पनि सरकारले निर्वाचनका लागि पैसा जोहो गर्न रद्द गरेको छ। तर बन्ने सुनिश्चित छ।”