गण्डकी। हाइकर्स क्लब नेपालले पोखरा र आसपासका गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विगत सात वर्षयता सञ्चालन गर्दै आएको हाइकिङको ६७औँ शृङ्खला फेवाताल किनाराको पदमार्ग ‘राउण्ड फेवा, भ्युफेवा’ मा सरसफाइसहित सम्पन्न गरेको छ।
हरेक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङको यो शृङ्खला फेवातालको किनारस्थित रानिवनभित्रको पदमार्ग ‘राउन्ड फेवा: भ्यु फेवा’को सरसफाइसहित सम्पन्न गरिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए।
हाइकिङका माध्यमबाट विभिन्न गन्तव्यको प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ आदि कार्य गरिँदै आइएको उनले बताए।
उनका अनुुसार हाइकिङका क्रममा पदमार्ग क्षेत्रमा रहेको प्लाष्टिकजन्य फोहर चार बोरा संकलन गर्दै त्यसको व्यवस्थापन गरिएको थियो।
पोखरामा विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरू हरेक महिनाको तेस्रो शनिबार हाइकर्स क्लब नेपालले सञ्चालन गर्दै आएको हाइकिङमा सहभागी बन्ने गरेका छन्।