काठमाडौँ। आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी भन्दै नगद लुटेको आरोपमा चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरीका हवल्दारसमेत छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्ने हवल्दार नवलपरासी कावासोती नगरपालिका १३ घर भई हाल काठमाडौँ महानगरपालिका ९ बस्ने ३८ वर्षीय कर्णबहादुर सुनार हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए।
अन्य पक्राउ पर्नेमा रोशी गाउँपालिका १०‚ काभ्रेका २७ वर्षीय दीपक आलेमगर, नौकुण्ड गाउँपालिका ३‚ रसुवाका ३२ वर्षीय विक्रम तामाङ र ककनी गाउँपालिका ७‚ नुवाकोटका २८ वर्षीय जीवन तामाङ छन्।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार १४ माघमा कीर्तिपुरका विनोद लाम्गादेलाई बजार दरभाउभन्दा सस्तोमा सुन बिक्री गर्ने भनी सुनारसहितका व्यक्तिले ६० लाख नगद लुटेका थिए। कीर्तिपुरको एक क्याफेमा बोलाएपछि लाम्गादेलाई उनीहरूले घेरा हालेर नगद लुटेका थिए।
नगद लुटिएपछि प्रहरीमा निवेदन दिन पुगेपछि प्रहरी लुटपाटमा संलग्नको खोजीमा थियो। भक्तपुर कटुञ्जेबाट आलेमगर, माछापोखरीबाट तामाङद्वय र टेकुबाट सुनार पक्राउ परेको खड्काले बताए। पक्राउ परेका चारै जनालाई डाँका तथा चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न वृत्त कालीमाटी पठाइएको छ।