काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा हुने ढिलासुस्ती र सर्वसाधारणले भोग्दै आएको सास्ती अन्त्य गर्न ‘डिजिटल गभर्नेन्स’ अनिवार्य भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सामान्य सरकारी सेवा लिनसमेत नागरिकले लामो लाइन बस्नुपर्ने र फाइल घुमाएर काम अल्झाइने अवस्थाप्रति असन्तुष्टि जनाए। “कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै—आम नागरिकका लागि सेवा लिनु नै हैरानीको विषय बनेको छ,” उनले भने।
थापाले अबको प्रशासनिक संरचना चुस्त, पारदर्शी र नतिजामुखी हुनुपर्नेमा जोड दिँदै ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’को सिद्धान्त अनुसार अघि बढ्नुपर्ने धारणा राखे।
परम्परागत कागजी प्रक्रिया परिवर्तन गर्दै प्रविधिमैत्री प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ। ‘डिजिटल गभर्नेन्समार्फत सेवा प्रवाहको शैली परिवर्तन गरी नागरिकको हैरानी हटाउने स्पष्ट प्रतिबद्धता छ,’ उनले उल्लेख गरेका छन्।




