गुल्मी। गुल्मीमा पहिलो पटक अंगीकृत नागरिकता वितरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चालाई अंगीकृत नागरिकता वितरण गरेको हो।
संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार सुरज लेप्चालाई जिल्लामा पहिलो पटक अंगीकृत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।
प्रजिअ गैह्रेका अनुसार नेपाली मुलकी महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि जन्मिएका छोरा-छोरीलाई अंगीकृत नागरिकता प्रदान गर्ने नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएपछि गुल्मी जिल्लाबाट पहिलोपटक नागरिकता वितरण गरिएको हो।
कानुन संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था भएको हो।