प्रतिनिधिसभा निर्वाचन/सुनसरी ३
भगवती र गच्छदारलाई रास्वपाका चौधरीको चुनौती
२२ माघ दिउँसो सुनसरीको बर्जु गाउँपालिका-५, कटुवाल टोलका टेकबहादुर कटुवाल १० जना कामदारसहित दुई बिघामा लगाएको उखु काट्न व्यस्त थिए। बर्जुस्थित इस्टर्न सुगर मिलले उखु ल्याउने पुर्जी (टोकन) दिएपछि उनलाई भ्याइनभ्याइ थियो। तर, व्यस्ततामा पनि उनमा निराशा झल्किइरहेको थियो। “मन पोलेको छ,” उखुको भारी मिलाउँदै कटुवालले भने, “राज्यले दिने भनेको ७० रुपैयाँ अनुदान अझै दिएको छैन। हाम्रो पसिनाको मूल्य उखुको लाँक्राजस्तै सुक्दै गएको छ।”

टेकबहादुर कटुवाल उखुको समस्या सुनाउँदै।
सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको थियो, जसमा उद्योगले ५६५ र सरकारले ७० रुपैयाँ अनुदान दिने सम्झौता थियो। तर, त्यही ७० रुपैयाँ पाउन पनि उखु किसानले गएको ८ भदौमा काठमाडौँको माइतीघर मण्डलमा पुगेर प्रदर्शन गर्नुपर्यो। सरकारले किसानसँग उक्त रकम दिने सम्झौता पनि गर्यो। तर, धेरैले अझै पैसा पाएका छैनन्। कटुवालले पनि ५० हजार रुपैयाँ पाउन बाँकी छ। “ठूला मान्छेलाई यो सानो रकम होला, हाम्रा लागि त बच्चाको स्कुल फी र घरको नुन-तेल हो,” उनले भने।
बर्जु-५ सीतागन्जका पुर्शराम सत्याल पनि दुई हजार क्विन्टल उखुको एक लाख ४० हजार रुपैयाँ अनुदान नपाउँदा खिन्न छन्।
यतिबेला २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको रापले सुनसरी ३ पनि तातेको छ। उम्मेदवारहरू किसानका खेतैसम्म पुगेर मत मागिरहेका छन्। तर, किसानका लागि चुनाव केवल ‘भोट दिने पर्व’ मात्र होइन, थाती रहेको अनुदान उठाउने ‘अस्त्र’ पनि बनिरहेको छ।
बर्जु-५ सीतागन्जका पुर्शराम सत्याल पनि दुई हजार क्विन्टल उखुको एक लाख ४० हजार रुपैयाँ अनुदान नपाउँदा खिन्न छन्। “काठमाडौँसम्म पुगेर नारा लगाइयो, तर सरकारले बजेटमै नराखेर हामीलाई ठग्यो,” सत्याल भन्छन्, “यसपालि त जो आउँछ, उसलाई हाम्रो अनुदान कहिले आउँछ भनेर सोध्छौँ।”

उखु किसान पुर्शराम सत्याल।
बर्जु-२ का प्रदीप राय प्रतिक्विन्टल ८० रुपैयाँमा उखु बोक्ने काम गर्छन्। एक खेपमा ३२ क्विन्टलसम्म उखु मिल पुर्याउँछन्। उनको आफ्नै १२ कट्ठाको उखुको अनुदान पनि सरकारी फाइलमै थुनिएको छ। “यसपटक किसानको दुःख बुझ्नेलाई मात्र भोट दिने विचार छ,” राय भन्छन्।
सुनसरी, मोरङ र झापामा गरी करिब साढे पाँच हजार बिघामा उखु खेती हुने गरेको छ, जसमध्ये सुनसरीमा सबैभन्दा बढी तीन हजार ५०० बिघामा उखु लगाइन्छ।

सुनसरी ५ बर्जुमा उखु काट्दै किसानहरू।
सुनसरी ३ मा नेपाली कांग्रेसबाट पुराना नेता विजयकुमार गच्छदार मैदानमा छन्। उनी ६ पटक निर्वाचित भइसकेका र १२ पटक मन्त्री बनिसकेका सत्ता राजनीतिका चतुर खेलाडी मानिन्छन्। तर, यसपटक उनको साख पहिलेजस्तो छैन। ललितानिवास जग्गा प्रकरणको दाग र अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरीसँगको पराजयले उनी रक्षात्मक देखिन्छन्।
सुनसरी ३ मा नेपाली कांग्रेसबाट पुराना नेता विजयकुमार गच्छदार मैदानमा छन्।
२०७९ सालको चुनावमा चौधरीले ४० हजार ७८८ मत ल्याउँदा गच्छदार ३५ हजार ६०० मतमा सीमित भए। ७९ वर्षको उमेरमा उनी ‘अन्तिम पटक’ भन्दै मत मागिरहेका छन्।
यसपटक पनि एमालेले चौधरीलाई नै चुनावी मैदानमा उतारेको छ। चौधरी आफ्नो बिरासत जोगाउने दाउमा छिन्। यद्यपि, सत्तामा हुँदा किसानका समस्या समाधान गर्न नसकेको आरोप उनलाई पनि लागेको छ।

सुनसरीको बर्जुमा रहेको इस्टर्न सुगर मिल।
तुलनात्मक रूपमा पुराना दलका उम्मेदवारहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अशोक चौधरीले चुनौती दिएका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट भने दुर्गेश चौधरी उम्मेदवार रहेका छन्।
तुलनात्मक रूपमा पुराना दलका उम्मेदवारहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अशोक चौधरीले चुनौती दिएका छन्।
कुल एक लाख ३४ हजार ३०२ मतदाता रहेको सुनसरी ३ थारू समुदाय बहुल क्षेत्र हो। २३ जना उम्मेदवारमध्ये १० जना थारू समुदायकै हुनुले पनि यहाँको जातीय समीकरण कति जटिल छ भन्ने देखाउँछ। अघिल्लो निर्वाचनमा एमालेकी चौधरीले जिते पनि पनि यसपटक रास्वपा र स्वतन्त्र उम्मेदवारहरूको सक्रियताले एमाले-कांग्रेसलाई दबाब थपिएको छ।
सुनसरी ३ मा दुहबी नगरपालिका, इटहरी उपमहानगरका ६ देखि १५ सम्मका १० वटा वडा, इनरुवा नगरपालिकाको वडा नं. ७, बर्जु र गढी गाउँपालिका समेटिएका छन्।