जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदान केन्द्र र मतदानस्थलको अनुगमन कामलाई तीव्रता दिएको छ।
जिल्लाका आठवटा स्थानीय तहमा कायम गरिएका उक्त मतदान केन्द्र र मतदानस्थलको जिल्ला सुरक्षा समितिले अहिलेसम्म ४२ अतिसंवेदनशील मतदान केन्द्रको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए।
सुरक्षा समितिले अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम भइरहेको जनाएको छ। सुरक्षाको दृष्टिकोणले जिल्लामा जम्मा ८५ मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशील रुपमा वर्गीकरण गरिएको छ। एक सय १० मतदान केन्द्रमध्ये २५ वटा संवेदनशील मतदान केन्द्रको रुपमा राखिएको छ।
६४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा रुपमा वर्गीकरण गरिएको छ। २१ वटा मतदान केन्द्रलाई सामान्य रुपमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीको भनाइ छ।
जिल्लामा अति संवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको छ। मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवस्थाको समेत अनुमगन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।
मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। निर्वाचनका लागि जिल्लामा कूल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ रहेका छन्।
कूल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० महिला र पुरुष मतदातातर्फ ३७ हजार ४५९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।