काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदार कार्यालयका प्रमुख तथा अधिकारी बोलाएर छलफल गरेको छ।

शिवरात्रि पर्वलक्षित समन्वय बैठक महानगरपालिकाले पहिलोपटक डाकेको हो। महानगरपालिकामा बिहीबार आयोजित बैठकमा कार्यवाहक प्रमुख सुनीता डंगोलले भनिन्‚ “हरेक उत्सवपछिको समीक्षामा यसो गर्न पाएको भए हुन्थ्यो। भन्ने गरिन्छ। यसपटक त्यस्तो गुनासो गर्नु नपरोस् भनेर समन्वय बैठक गरिएको हो।”

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वातावरण समिति संयोजक बालकृष्ण महर्जन, काठमाडौँका सहायक प्रजिअ ओम भट्टराई, प्रहरी उपरीक्षक बालनरसिंह राणा, पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा, प्रहरी उपरीक्षक कौशलकुमार बुढाथोकी, गुठी संस्थानका प्रशासक शैलेशराज कुँवर, वडाध्यक्ष विमलकुमार होडा, महानगरपालिकाका विभागीय प्रमुख, पुरातत्त्व विभागका अधिकारीलगायत सहभागी थिए।

बैठकमा महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले स्वास्थ्य शिविर र आकस्मिक स्वास्थ्योपचार, वातावरण विभाग प्रमुख सरिता राईले सरसफाइ र स्वच्छताको योजना, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले पशुपति क्षेत्रका संवेदनशील ठाउँमा सीसीटीभी जडान, महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले पार्किङ व्यवस्थापन, पैदल मार्गको व्यवस्थापनसहित महानगरपालिकाले गरिरहेका कामका विषयमा जानकारी गराएका थिए।

गुठी संस्थानले दाउराको व्यवस्था, साधुसन्तको स्वागत, बास तथा बिदाइ र पूजाका विधिका विषयमा जानकारी गराएको थियो।

कोषका सदस्य-सचिव सापकोटाका अनुसार यस वर्ष पशुपतिमा करिब आठ लाख श्रद्धालुले मन्दिरको प्रत्यक्ष दर्शन गर्ने अनुमान छ। “मन्दिर परिसरमा करिब २० लाख श्रद्धालु आउने अनुमान गरेका छौँ‚” उनले भने।