काठमाडौँ। नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस २०८२ को पूर्वाभ्यास गरिएको छ।
बिहीबार भएको पूर्वाभ्यासको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरे। उनले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झन्डा प्रदान गरेका थिए।
साथै उनले केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्वितीय हुने क्रमशः उपत्यका पृतना र मध्यपश्चिम पृतनालाई पुरस्कृत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेना दिवस हरेक वर्ष महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइन्छ। यस वर्षको शिवरात्रि ३ फागुनमा परेको छ।