काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

टी-२० विश्वकप

१५ आप्रवासी खेलाडी भित्र्याएर विश्वकप खेल्न आएको इटालीले यतिबेला नेपाललाई थप मिहिनेत गर्नुपर्ने पाठ सिकाएको छ।

२९ माघ २०८२
इटालीसँग पराजित भएपछि निराश हुँदै दीपेन्द्रसिंह ऐरी (रातो र निलो रंग)। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

दुई वर्षअघि आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपालको साहसिक प्रदर्शनले विश्व क्रिकेटको ध्यान खिच्यो। त्यसयता नेपालले टी-२० शृंखलामा दुईपल्टको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध लगातार दुई जित र यसै विश्वकपमा इङ्ल्यान्डविरुद्ध चार रनको झिनो हार बेहोर्‍यो। यी सबै नतिजाले एउटा प्रश्न जन्माएको थियो– के नेपाली क्रिकेटको स्तर उकासिएकै हो?

एक त नेपालले बलियो टोलीविरुद्ध कम खेल्न पाउँथ्यो। तर, जतिबेला अवसर पाउँथ्यो, निडर भएर खेल्थ्यो। ब्याटिङमा देखिएको आक्रामकता, बलिङमा देखिएको अनुशासन र फिल्डिङमा देखिएको ऊर्जाका कारण विदेशी खेलाडी पनि बेलाबेला नेपालको तारिफ गर्थे।

सायद यही कुराले होला, कप्तान रोहितकुमार पौडेलले इङ्ल्यान्डविरुद्ध चार रनको हार बेहोरेपछि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)सँग अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतजस्ता बलिया टोलीसँग वर्षमा दुईतीन वटा शृंखला खेल्न पाउनुपर्ने माग राखे। तर, विश्वकपको यही संस्करणमा बिहीबार इटालीविरुद्ध १० विकेटको लज्जास्पद हार बेहोरेपछि रोहितले भन्न भ्याए, ‘हाम्रा लागि निरन्तरता धेरै महत्त्वपूर्ण थियो। तर, इटालीसँग त्यो देखाउन सकेनौँ। यो स्वीकार गर्न कुनै लाज छैन।’

क्रिकेटमा नेपाल र इटाली नौला प्रतिस्पर्धी थिएनन्। फर्म्याट फरक भए पनि ५० ओभरको एकदिवसीय खेलमा इटालीलाई नेपालले हरेकपल्ट पराजित गरेको थियो। सन् २००४ को आईसीसी विश्वकप छनोट (डिभिजन)मा नेपाल ८८ रनको फराकिलो अन्तरले विजयी भएको थियो। त्यसको ६ वर्षपछि डिभिजन फोरमा पनि नेपालले ६ रनको रोमाञ्चक जित निकालेको हो। सन् २०१३ को डिभिजन थ्रीमा त दुई रनको नतिजा निकाल्दै नेपालले बलियो छाप छोडेको थियो।

१५ आप्रवासी खेलाडी भित्र्याएर विश्वकप खेल्न आएको इटालीले यतिबेला नेपाललाई थप मिहिनेत गर्नुपर्ने पाठ सिकाएको छ। 

यतिबेलासम्म नेपाल इटालीप्रति हाबी नै थियो। तर, बिहीबार नेपालले नसोचेको पराजय भोग्यो। सन् २०१४ मा पहिलोपल्ट टी-२० विश्वकप खेल्दा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो। सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको विश्वकप नेपालले पुनः खेलिरहँदा इटाली टिम पुनर्निर्माणको प्रक्रियामा जुटेको थियो। तर, पछिल्लो दुई वर्षको दौरान इटालीले त्यस्तो के गर्‍यो, जसका कारण अहिले नेपाली टोली लज्जित भएको छ।

१५ आप्रवासी खेलाडी भित्र्याएर विश्वकप खेल्न आएको इटालीले यतिबेला नेपाललाई थप मिहिनेत गर्नुपर्ने पाठ सिकाएको छ। बिहीबारको खेलमा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीन वटै क्षेत्रमा कमजोर देखियो।

इटालीविरुद्ध ब्याटिङ गर्दै आसिफ सेख। तस्बिर : नेपाल फोटो लाइब्रेरी

अघिल्लो खेलमा इङ्ल्यान्डसँग कडा प्रतिस्पर्धा गरेको नेपालको हैसियत इटालीका मुख्य प्रशिक्षक जोन डेभिसनले राम्रोसँग ऐनामा देखाइदिएका छन्।

धेरै नबोले पनि नेपालविरुद्धको खेलअगाडि उनले भनेका थिए, ‘यो हाम्रा लागि ठूलो मौका हो। यही मौकालाई हामी जितमा बदल्ने प्रयास गर्नेछौँ। हुन त टी-२० मा एकदुई खेलाडी चम्किए पुग्छ।’

लिङतर्फ तीन जना स्पिनर बेन्जामिन मानेन्टी, जेजे स्मुट्स र क्रिसन कालुगामगे चम्किएको खेलमा ब्याटिङतर्फ मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई ठूलो स्टेजमा कसरी क्रिकेट खेल्नुपर्छ भन्ने पाठ सिकाए।

उनको त्यो भनाइ बिहीबार प्रमाणित भयो। बलिङतर्फ तीन जना स्पिनर बेन्जामिन मानेन्टी, जेजे स्मुट्स र क्रिसन कालुगामगे चम्किएको खेलमा ब्याटिङतर्फ मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई ठूलो स्टेजमा कसरी क्रिकेट खेल्नुपर्छ भन्ने पाठ सिकाए। नेपालले पूरै २० ओभर खेल्न नसकेको खेलमा जितका लागि आवश्यक १२४ रन इटालीले ४४ बल बाँकी रहँदै निकाल्यो।

नेपाली बलरले एउटा पनि विकेट झार्न सकेनन्। नेपालविरुद्ध बलिङतर्फ मानेन्टीले चार ओभरमा नौ रन मात्र खर्चेर दुई, स्मुट्सले चार ओभरमा २२ रन खर्चेर एक र कालुगामगेले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिए। ब्याटिङतर्फ जस्टिनले ३४ बलमा पाँच चौका र तीन छक्कासहित अविजित रहँदै ६० रन बनाए। जस्टिनभन्दा दुई बल कम खेलेका एन्थोनीले तीन चौका र ६ छक्काको सहयोगले अविजित ६२ रनको योगदान दिए।

जस्टिन मोस्का (बायाँ) र एन्थोनी मोस्का। तस्बिर : एपी/रासस

इटालीको अन्तर्राष्ट्रिय क्रिकेटमा यी दाजुभाइको यो कीर्तिमानी साझेदारी मात्र थिएन, ऐतिहासिक जित पनि थियो। इटालीले विश्वकपमा पहिलोपल्ट जित निकालेको हो। यो जितसँगै जहाँ इटालीको सुपर-८ मा प्रवेश गर्ने सम्भावना प्रबल बनेको छ भने नेपालको आशा झिनो।

नेपालले अब विश्वकपअन्तर्गत बाँकी दुई खेल आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दै छ। इटालीको खेल भने इङ्ल्यान्डसँग सोमबार र वेस्ट इन्डिजविरुद्ध आउँदो बिहीबार हुनेछ।