चुनावी सरगर्मी
यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो : कांग्रेस सभापति थापा
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन्।
सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा उनले भने‚ “यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो। किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ।”
उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेपछि खुसी लागेको बताए। उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए। उनले भने‚ “सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन्। तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेन-जी पुस्ता देखेपछि धेरै खुसी भएको छु। उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु।”
सभापति थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनुपर्ने बताए। उनले भने‚ “अहिले सर्लाहीलगायत मधेसका जिल्लामा शिक्षा‚ स्वास्थ्य र सिँचाइ मुख्य समस्या हो। यहाँको जग नै बलियो बनाउनु छ। त्यसका लागि युवाहरूले एकजना बराबर पाँचजना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसको बारेमा। तपाईं युवाहरूले यसबारेमा जिम्मा लिइदिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु।”
उनले अब कांग्रेसले घोषणा-पत्रमा पनि सर्लाहीको मागबारे ल्याउने तयारी भइरहेको बताए। त्यसमा सर्लाहीका समस्या कांग्रेसको संकल्प-पत्रमा रहोस् भनेर म आज काठमाडौँ जाँदै छु। म फेरि आउनेछु।
उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन‚ देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे। “देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर प्रोजेक्ट गभर्मेन्ट तयार छ। प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ। त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ‚” सभापति थापाले भने।