काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्।

आज (शुक्रबार) इभन-पार ६८ खेलेका उनले समग्रमा ६-अन्डर २६६ सहित उपाधि जितेका हुन्। उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रोपटक उपाधि जिते। उपाधिसँगै एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो करियरको १३औँ उपाधि हो।

समग्रमा २-अन्डर २७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्त रूपमा दोस्रो स्थान हात पारे। सञ्जयले आज १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ मा आजको खेल सकाए। उनीहरूले समान ९५ हजार नगद पुरस्कार हात पारे।

समग्रमा १-अन्डर २७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर निरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्त रूपमा चौथो स्थान बाँडे। निरजलर आज १-ओभर ६९, रविले २-ओभर ७० र रामेले ३-ओभर ७१ को स्कोर कार्ड बनाए। उनीहरूलाई नगद ६३ हजार पुरस्कार वितरण गरियो।

आज ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा २-ओभर २ सय ७४ का साथ तोरणविक्रम शाहीले सातौं स्थान हात पारे। उनले ४७ हजार प्राप्त गरे। इभन-पार ६८ खेलेको जयरामले समग्रमा ३-ओभर २७५ सहित आठौँ स्थानमा प्रतियोगिता सकाए। उनले ४१ हजार आफ्नो नाममा लेखाए।

यस्तै ५-ओभर २ सय ७७ सहित भुवनकुमार रोक्का र टंकबहादुर कार्कीले नवौँ स्थान बाँडे। भुवनले २-अन्डर ६६ र टंकले २-ओभर ७० मा अन्तिम दिनको खेल पूरा गरे। उनीहरूले ३३ हजार पाँच सय नगद पुरस्कार पाए।

एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराउँदै उपाधि जिते। आज ३-अन्डर ६५ खेलेका राहुलले समग्रमा इभन-पार २७२ स्कोर गरे। आज ३-ओभर ७१ खेलेका स्वप्निलले समग्रमा ८-ओभर २८० स्कोर जोडे। समग्रमा ११-ओभर २८२ बनाएका महेन्द्र फगामी तेस्रो भए। आज उनले ४-ओभर ७२ को स्कोर दर्ज गरे।

अन्तिम १८ होलको खेलको सुरुवात गर्दा भुवन दिनेशभन्दा मात्र १ स्ट्रोकले अगाडि थिए। तर अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा भुवनको जित सहज बन्यो। भुवनले फ्रन्ट र ब्याक नाइन इभन-पार ३४ मा सकाए। उनले पहिलो, चौथो र १७औँ होलमा बर्डी प्रहार गरे। छैटौँ, आठौँ र १८औँ होलमा एक-एक सट खेर फाले।

सञ्जयले सातौं होलमा बोगी प्रहार गर्दा बाँकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन १-ओभर ३५ मा फ्रन्ट नाइन सकाए। यसपछि १३औँ होलको बर्डीका विरुद्ध १८औँ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ खेले।

दिनेशले पहिलो र छैटौँ होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। यसपछि १०औँ, १३औँ र १५औँ होलमा एक-एक सट बचाए। तर यसपछि ११औँ, १२औँ, १४औँ र १६औँ होलमा बोगी खेपे।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे। प्रतियोगितामा ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए। खेलाडीहरूले कुल आठ लाख ७५ हजार रुपैयाँका लागि प्रतिस्पर्धा गरे। शीर्ष १८ स्थानसम्म रहने खेलाडी नगद पुरस्कारको हकदार बने।