सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरी पालन प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ।
आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ। कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरी पालन प्रवर्द्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो।
एक कार्यक्रमबिच नगरपालिकाले ९० मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताए।
मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले मौरीसहितका घार वितरण गरेको उनको भनाइ छ।
नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार रु १० हजार ८०० लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो। कृषकले ५० प्रतिशत मात्र व्यहोर्नु परेको छ। बाँकी रकम नगरपालिकाले अनुदान स्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेष गरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन्।
आर्थिक वर्ष २०८२/८३ मा मौरी पालन प्रवर्द्धन कार्यक्रमका लागि नगर सभाबाट रु ६ लाख विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ।