नियात्रा
म दुई पटक लमजुङ पुगेँ, तर अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालले हाँस्दै फेरि पनि बोलाइरहेको अझै बिर्सेको छैन।
पोखरा विमानस्थलमा विमान अवतरण गर्दा बिहानको करिब ९ बजेको हुँदो हो। हावा चलिरहको भए पनि घाम राम्रै लागेको थियो।
पोखरा भन्नेबित्तिकै मन फुरुंग हुन्छ। यहाँको प्रकृति नै यस्तो छ कि सबैलाई आकर्षित गर्छ। यसपटक म अझै उत्सुक र रोमाञ्चित थिएँ। मेरो यात्रा पोखरासम्म मात्र सीमित थिएन, लमजुङ पुग्नु थियो। म दोस्रो पटक लमजुङ टेक्दै थिएँ।
१२ चैत २०७८ मा सदरमुकाम बेँसीसहरमा हुने पत्रकारितासम्बन्धी प्रशिक्षण कार्यक्रमको सहजीकरणको दायित्व बोकेर १० चैतमा म लमजुङ जाँदै थिएँ, तर यस पटकको बाटो फरक थियो। बेगनास ताल हुँदै बेँसीसहरसम्मको यात्रा। आहा! धेरैले यो बाटोबारे चर्चा गर्दै यात्रा गर्न सुझाए पनि अवसर भने पाइएको थिएन। नेपाल पत्रकार महासंघका लमजुङ अध्यक्ष परमेश्वर अधिकारीको निम्ताले यो मौका जुराएको थियो। यस पटक भने नयाँ बाटो हेरिछाड्ने लोभ संवरण गर्न नसकेर मैले पोखरा-बेगनासको बाटो रोजेको थिएँ।
लमजुङ अर्थात् ठूला पहाडको भूमि
लमजुङ जिल्लाको नामकरण मगर भाषाबाट भएको मानिन्छ। राससकर्मी जनक श्रेष्ठका अनुसार मगर भाषामा लमजुङको अर्थ अग्ला, लामा, ठूला, पहाड तथा पर्वतले बनेको भूमि भन्ने हुन्छ। लमजुङ गण्डकी प्रदेशको पर्यटकीय पहाडी जिल्लाका रूपमा चर्चित छ। यसको सिमाना पूर्वमा गोरखा, पश्चिममा कास्की, उत्तरमा मनाङ र दक्षिणमा तनहुँ जिल्लासँग जोडिएको छ भने समुद्री सतहबाट ३८५ मिटरदेखि ८,१६३ मिटर (मनास्लु हिमाल) सम्मको उचाइमा फैलिएको छ। वातावरणीय विविधता पाइने यस जिल्लामा हिमालीका साथै उष्ण मनसुनी हावापानी पाइन्छ।
यातायातका साधनको सहज उपलब्धता र छोटो दूरीका हिसाबले त तनहुँको डुम्रेतर्फकै बाटो सहज मानिन्छ। तर, बेगनासको बाटोमा पाइने रोमाञ्च र आनन्द डुम्रेतिरबाट जाँदा पाइँदैन। बेगनासतिरको बाटोमा बेँसीसहरसम्म त्यति धेरै गाडी चल्दैनन्।

भोर्लेटार। तस्बिर सौजन्य : परमेश्वर अधिकारी
पोखरा विमानस्थलमा मलाई एक जनाले स्वागत गर्दै मोटरसाइकलमा बसाए। अब उनैसँग प्रारम्भ भयो, बेसीसहरतर्फको यात्रा। बेगनास तालसम्म त म पहिला पनि अनेक पटक आएको छु। अग्रज तारानाथ दाहाल र मैले लेखनाथमा दुईतीन पटक प्रशिक्षण कार्यक्रमको सहजीकरण गरेका छौँ। यस अर्थमा लेखनाथवरिपरिका बेगनास र रुपालगायत ताल र क्षेत्रमा आनन्दपान गरेको अनुभव मसँग छ। अगाडिको यात्रा भने नितान्त नौलो थियो।
काठमाडौँबाट १६० किमीको दूरीमा अवस्थित सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर पश्चिमको कुन्छा लमजुङको पुरानो सदरमुकाम हो। जनकका अनुसार २०२८ सालमा तत्कालीन कुन्छा (हाल : सुन्दरबजार नगरपालिका-१) बाट सदरमुकाम बेँसीसहरमा सारिएको थियो। डुम्रे बजारबाट ४२ किलोमिटर उत्तर बेँसीसहर पोखराको बेगनास तालबाट करिब ८० किलोमिटरको दूरीमा अवस्थित छ।
रुपाकोट हुँदै गन्तव्यतर्फ
राससका पत्रकार लमजुङवासी कृष्ण अधिकारीका अनुसार बेगनासबाट मध्यनेपाल नगरपालिका (लमजुङ) हुँदै बेँसीसहर जाने मार्ग उत्कृष्ट वैकल्पिक मार्गका रूपमा स्थापित हुँदै छ। उनी पृथ्वी राजमार्गको धुलो र ट्राफिकबाट बच्न चाहनेका लागि यो ग्रामीण र सुन्दर बाटो निकै उपयुक्त भएको सुझाउँछन्।
लेखनाथको तालचोकबाट भित्री बाटो हुँदै रुपाकोटतर्फ लाग्ने बाटो छ, जसले कास्की र लमजुङको सिमाना छुन्छ। रुपाकोटबाट बेगनास र रुपा दुवै तालको सुन्दर दृश्य देखिन्छ। ‘ट्विन लेक भ्यु’ का नामले प्रसिद्ध यस क्षेत्रबाट माछापुच्छ्रे हिमालको दृश्यपान जीवनकै अनमोल हुन सक्छ। समय छ भने रुपाकोटमा केही बेर अडिनु उचित हुन्छ। यस्तो मनमोहक र अनुपम दृश्य म पुगेको नेपालमा अन्यत्र कतै भेटेको छैन; ताल, पहाड, हिमाल र जंगल अनि सूर्यको लुकामारी।
रुपाकोटबाट देउराली हुँदै अगाडि लागेपछि मर्स्याङ्दी र मादी नदीका सहायक खोलाहरू तर्दै करपुटार पुगिन्छ।
कास्की र लमजुङको भित्री पहाडी क्षेत्र हुँदै सानो आकारको ग्रामीण कृषि बाटो भौगोलिक अवस्थितिसँगै कतै नागबेली, कतै सोझो र कतै उकालो-ओरालो हुँदै अगाडि बढ्छ। प्रकृतिले पटक पटक आफूतिर तान्दै केही बेर दृश्यपान गरेर मात्र गन्तव्यतर्फ बढ्न प्रेरित गरे पनि मलाई यता अडिने सुविधा थिएन।
बेँसीसहरसम्मको यात्रामा गुरुङ, मगर र क्षेत्री-ब्राह्मण बस्तीको अवलोकन गर्दै मौलिक जीवनशैली अध्ययन गर्न सकिने रहेछ। अझ मजस्ता मधेसीका लागि कास्की, तनहुँ र लमजुङका विभिन्न जातजातिको सान्निध्य प्राप्त गर्दै देशको विविधता अनुभूत गर्ने यो दुर्लभ अवसर हो।

करापुटार। तस्बिर सौजन्य : परमेश्वर अधिकारी
रुपाकोटबाट देउराली हुँदै अगाडि लागेपछि मर्स्याङ्दी र मादी नदीका सहायक खोलाहरू तर्दै करपुटार पुगिन्छ। यो ठाउँ ईशानेश्वर महादेव मन्दिरका कारणले चर्चित छ। यहाँबाट अगाडिको यात्रापछि मध्यनेपाल नगरपालिकामा पर्ने भोर्लेटार बजार पुगिन्छ। यो क्षेत्र खेतीपाती र शान्त वातावरणका लागि चिनिन्छ। तर, विगतको तुलनामा यस क्षेत्रको व्यावसायिक र व्यापारिक महत्त्वमा कमी आएको छ।
मसँग पोखराबाट आएका मोटरसाइकल चालक मित्रले आफ्नो सेवा यहाँसम्म मात्र रहेको जनाउ दिए। एउटा चिया पसलमा हामी अडियौँ। अब मैले अर्को मोटरसाइकलमा यात्रा गरेर सुन्दरबजार पुग्नुपर्ने थियो। अर्को मोटरसाइकल चालकको प्रतीक्षामा हामीले दुई दुई कप चिया खायौँ।
बिहानको करिब १०ः३० बजेको हुँदो हो, मोटरसाइकल लिएर भाइ प्रकाश न्यौपाने आइपुगे। र, अगाडिको यात्रा आरम्भ गरेँ। यस बाटोका लागि म अपरिचित भए पनि बाटामा पर्ने केही चर्चित स्थानबारे भने यसअघि पटक पटक सुनेको हुँ। सुन्दरबजार, दुराडाँडा, भोटेओडार यस्तै ठाउँ हुन्।
सुन्दरबजार अस्पताल र भोटेओडार
भोर्लेटारबाट अगाडि बढेपछि थानसिंह, नेटा, कोइरालाफाँट, सत्रसय-दुराडाँडा, तार्कु खहरे, खत्रीठाँटी हुँदै सुन्दरबजार पुगियो। सुन्दरबजार यस क्षेत्रकै महत्त्वपूर्ण बजार मानिन्छ। दिउँसोको करिब १२:३० जति बजेको हुँदो हो, मलाई कुरेर बसेका नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीसँग भेट भयो। सुन्दरबजारस्थित उनकै घरमा खाना खाइयो।
सुन्दरबजार नगरपालिका-६ को नमुना अस्पताल निकै चर्चित छ। अस्पतालका अध्यक्ष पनि अधिकारी नै रहेछन्। यस अस्पतालमा हाल एक हजार १०० भन्दा बढी आजीवन सदस्य रहेको कुरा अधिकारी बताए। उनका अनुसार ९ पुस २०६७ देखि सञ्चालित यो अस्पताल यस क्षेत्रको जीवनरक्षा केन्द्रका रूपमा परिचित छ। अस्पताल अवलोकनपछि मेरो निष्कर्ष थियो– यो अस्पताल अधिकारीले भनेभन्दा पनि सफल रहेछ। म पुग्दा १५ बेड रहेको अस्पताल हाल २५ बेड बनिसकेको छ।

सुन्दरबजारस्थित नमुना अस्पताल। तस्बिर सौजन्य : परमेश्वर अधिकारी
अधिकारीकै गाडीमा हामी बेसीसहरतर्फ लाग्यौँ। सुन्दरबजारबाट केही अगाडि पुगेपछि भोटेओडार पुगिन्छ। यहीँनेर तनहुँको डुम्रेतिरबाट आउने बाटो मिसिन्छ। यस आधारमा यो ‘जंक्सन’ हो। डुम्रेबाट पिप्ले, पाउँदी, सार्कीभन्ज्याङ हुँदै भोटेओडार पुगिन्छ। मेरा लागि मर्स्याङ्दी किनारैकिनारको यात्रानुभूति बडो गजबको थियो।
हामीले यहाँ जिल्लाका युवा नेतृत्वसँग दुई दिनसम्म लोकतन्त्र, सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र सूचनाको हकबारे छलफल गरेका थियौँ।
भोटेओडारबाट अगाडि लागेपछि उदीपुर आउँछ। यहाँबाट मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध र सुन्दर दृश्यहरू देख्न सकिन्छ। यहाँबाट करिब १० किलोमिटरको यात्रापछि सानो बस्ती दलाल र त्यसपछि सदरमुकामको बजार आउँछ। मौसम सफा भएमा बेँसीसहरनजिकै पुग्दा उत्तरतर्फबाट मनास्लु र लमजुङ हिमालका सुन्दर हिमशृंखलाले स्वागत गरेको अनुभूति हुन्छ।
म पहिलो पटक २१ फागुन २०७० मा यहाँ अग्रज हरिविनोद अधिकारी, दीपेश घिमिरे, वासु गौतम आदिसँगै आएको थिएँ। हामीले जिल्लाका युवा नेतृत्वसँग दुई दिनसम्म लोकतन्त्र, सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र सूचनाको हकबारे छलफल गरेका थियौँ। मैले एकाबिहानै हाँसेको अन्नपूर्ण हिमाललाई पहिलो पटक नजिकबाट हेरेको त्यतिबेलै हो।
यहाँका पत्रकारहरूसँग मेरो निकै पुरानो-आत्मीय सम्बन्ध रहँदै आएको छ। म हिमालय टाइम्स दैनिकमा रहँदाताकाका सहकर्मी किसान संगीत नेपाली र मिलन शर्मा दनाई, कृष्ण केसी, वसन्त भट्ट, मीना गुरुङ, सन्तोष पौडेलसँग भेटघाट कमै भए पनि उनका नाम स्मृतिमा आइरहन्छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष सन्देश पौडेल, पत्रकार नवीनराज कुइँकेल, शान्ता कमली, विराट न्यौपाने, नवराज पहाडी, कमला केसी, सिर्जना घिमिरेसँग प्रत्यक्ष/अप्रत्यक्ष सम्पर्क हुने गरेको छ। यस पटकको प्रशिक्षणका क्रममा थुप्रै पत्रकार मित्रसँग भेट भयो। केहीसँग सम्बन्ध नवीकरण भयो भने केहीसँग नयाँ सम्बन्ध निर्माण।
बेँसीसहर : मनाङको ‘गेटवे’
अधिकारीसँग बेँसीसहर आइपुग्दा दिउँसोको २ जति बजेको थियो। सामान्यतया पोखराबाट यहाँसम्म आइपुग्न यति समय लाग्दैन, तर रोकिँदै अडिँदै गर्दै आएकाले अलि बढी लाग्नु स्वाभाविक थियो।
मनाङको ‘गेटवे’ मानिने बेँसीसहर लमजुङको सदरमुकाम मात्र नभई यस क्षेत्रको प्रमुख आर्थिक र पर्यटकीय केन्द्र पनि हो। समुद्री सतहदेखि ७६० मिटरको उचाइमा अवस्थित यो बस्ती अन्नपूर्ण पदमार्गको प्रस्थानबिन्दु हो। मनाङ जाने धेरै यहीँ बाटो भएर जान्छन्।

लमजुङको सदरमुकाम बेँसीसहर। तस्बिर : विराट न्यौपाने/रासस
सदरमुकाम क्षेत्र मूलतः बेँसीसहर र गाउँसहर गरी दुई क्षेत्रमा विभाजित छ। गाउँसहर क्षेत्रमा अवस्थित दरबार शाहवंशीय राजाको गोरखाभन्दा पहिलेको थातथलो हो। यहीँबाट लिगलिगकोट गई दौडमा सहभागी भएर द्रव्य शाहले गोरखाबाट शासन चलाउन थालेको मानिन्छ। ऐतिहासिक र धार्मिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने कालिका मन्दिरका कारण यो जिल्लाको आध्यात्मिक महत्त्व पनि छ। यति मात्र होइन, जातीय-सांस्कृतिक सम्पदा जगेर्नाको आधारमा घरवास अर्थात् ‘होमस्टे’ का कारण पनि जिल्लाले नयाँ परिचय थपेको छ। घलेगाउँ, काउलेपानीलगायत गाउँहरू होमस्टेका लागि विदेशमा समेत चिनिएका छन्।
ऐतिहासिक र धार्मिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने कालिका मन्दिरका कारण यस जिल्लाको आध्यात्मिक महत्त्व पनि छ।
मानिसहरू विदेश भ्रमणलाई अधिक महत्त्व दिने गर्दछन्, तर स्वदेश भ्रमणको नयाँ स्वाद विदेशले दिन सक्दैन भन्ने मेरो ठम्याइ हो। त्यसैले मैले आफ्नै देशको माटो सुँघ्दै, रमाउँदै र त्यो अनुभूतिलाई अक्षरमा उतार्दै जानुलाई जीवनको एउटा अध्याय बनाउने प्रयास गरिरहेको छु।
म दुई पटक बेँसीसहरसम्म पुगेँ, तर दुवै पटक कामको चटारोले धेरै पर्यटकीय, सांस्कृतिक र ऐतिहासिक स्थल पुग्ने धोको पुगेको छैन। यहाँको माटोको सुगन्ध धीत मर्ने गरी चाख्ने रहर बाँकी नै छ। अन्नपूर्ण, मनास्लु र लमजुङ हिमाल शृंखलाले हाँस्दै-मुस्कुराउँदै गरेको आमन्त्रणलाई पनि मैले बिर्सेको छैन।