भोजपुर। आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ।
सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन गरिएको हो। कार्यरत प्रहरी निर्वाचनका लागि खटिनुपर्ने भएकाले ती दुवै ठाउँको सुरक्षाका लागि सेनालाई जिम्मेवारी दिइएको हो।
जिल्लामा रहेका नेपाली सेनाको नयाँ श्रीनाथ गणले कारागार कार्यालय र विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हालेको ती कार्यालयले जनाएका छन्। सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका कारागार, विमानस्थल तथा आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरूप ती ठाउँको सुरक्षामा सेना खटिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए।
गत माघ २१ गतेदेखि निर्वाचनका लागि शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गर्ने निर्णयसँगै भोजपुरका ग्रामीण क्षेत्रमा पनि अहिले नेपाली सेनाले अन्य सुरक्षा निकायसँगको सहकार्यमा गस्तीलगायत कार्य गरिरहेको छ।
भोजपुरमा दलले थाले उम्मेदवारको प्रचारप्रसार
यसैबीच, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ। निर्वाचन आयोगले तोकेको समयअनुसार यहाँ रहेका राजनीतिक दलले भोजपुर सदरमुकामबाट प्रचारप्रसार अभियान सुरु गरेका छन्।
बजार क्षेत्रमा बिहानैदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताले घरदैलोमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको पोस्टर टाँस्न सुरु गरेका छन् । निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार आफूरुले प्रचारप्रसार सुरु गरेको दलले जानएका छन्।
मतदान हुनुभन्दा १५ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।
सोही व्यवस्थाअनुसार फागुन ४ गतेदेखि १८ गते राति १२ः०० बजेसम्म राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्नसक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी दल तथा उम्मेदवार एवं अन्य सरोकार भएका सबैले चुनाव प्रचारप्रसार गर्नसक्ने र औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउने उनले बताए।
प्रमुख सुवेदीका अनुसार दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्नेछन्। निर्वाचन कार्यालयले यही फागुन १७ गतेसम्मका लागि भोजपुरमा ८१ जना मतदाता शिक्षा स्वयंसेवक र नौ जना अनुगमनकर्तासमेत परिचालन गरिसकेको छ।
यहाँ १२ दलका १२ उम्मेदवार चुनावी मैदानमा छन् भने जिल्लामा ८७ वटा मतदानस्थल र दुई अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा एक लाख २५ हजार ७६६ मतदाता छन्।