मुम्बई। मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका प्रसिद्ध पटकथा लेखक सलीम खानको स्वास्थ्यमा सुधार आएको छ।
अस्पतालले अभिनेता सलमान खानका बुबा सलिमको स्वास्थ्यबारे पछिल्लो अवस्था सार्वजनिक गरेको हो।
अस्पतालका डा. जलिल पारकरले सञ्चारमाध्यमहरूलाई बताएअनुसार सलिमको अवस्थामा उल्लेखनीय सुधार आएको छ।
उनले भने, “सलिम खानलाई मंगलबार बिहान लीलावती अस्पताल ल्याइएको थियो। त्यतिबेला उहाँको रक्तचाप धेरै कम थियो। उहाँ विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो त्यसैले भेन्टिलेटरमा राखिएको थियो।”
डा. पार्करले बीबीसी न्युजहिन्दीलाई उनको मस्तिष्कघात भए पनि शल्यक्रियाको आवश्यक नपरेको प्रतिक्रिया दिए। उनले भने, “सलिम खानलाई हिजो ब्रेन हेमरेज भएको थियो। तर यो जटिल थिएन त्यसैले शल्यक्रियाको आवश्यकता पनि परेन। हामीले यसलाई नियन्त्रण गर्न सफल भयौं।”
डा. पार्करले भने सलिम खानको डीएसए (डिजिटल सब्स्ट्रयाक्सन एन्जियोग्राफी) शल्यक्रिया गरिएको थियो, जुन प्रक्रिया डा. नीतिन डांगेले गरेका थिए। उनले भने‚ “अहिले सलिम खान भेन्टिलेटरमा हुनुहुन्छ। उहाँको स्वास्थ्यअवस्था हुँदै छ। उहाँलाई एक वा दुई दिनभित्र भेन्टिलेटरबाट आईसीयूमा सारिन सम्भव हुन सक्छ।” यद्यपि उनले सलिमको डिस्चार्ज मितिबारे भने बताएनन्। बरु चिकित्सकको निगरानीमा रहने उनले बताए।
सलिमको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मंगलबार अस्पताल पुर्याइएको थियो।
७० र ८० को दशकमा सलिम खानले जावेद अख्तरसँग मिलेर अन्दाज, हाथी मेरे साथी, सीता और गीता, यादों कि बारात, जंजीर, हाथ की सफाइ, शोले, दिवार, चाचा भतिजा, त्रिशूल, डन, काला पत्थर, शरणजस्ता चलचित्रका कथा लेखेका थिए।