विचार–साहित्य
म स्वप्न र दुस्वप्नको अन्तर्विरोधमा थिचिएको एक लेखक हुँ र मेरा उपन्यास इतिहासले जन्माएका डिस्टोपियाहरूका खुला प्रतिक्रिया हुन्।
म प्रायः बिहान ब्युँझँदा स्वप्नले थिचिएको हुन्छु। अझ अचेल त त्यो स्वप्नभन्दा पनि बढी दु:स्वप्न भएको हुन्छ। यस्तो हुन थालेको लगभग ३०/३२ वर्षजति भयो होला। त्यसअघि म सालाखाला राम्रा सपनाहरू देख्थेँ। ती रंगीन हुन्थे। सपनामा चराहरूझैँ उडिरहेको हुन्थेँ। साथमा असल मानिसहरू हुन्थे। स्वप्नदृश्यमा रमणीय प्रकृति र सुन्दर पर्यावरण हुन्थ्यो। प्रेम, सहयोग र त्याग सपनाका विषय हुन्थे। सुख र फेरि सुख मात्र अनुभव हुन्थ्यो।
तर, अब त्यस्तो छैन। जब मेरा स्वप्नहरूको रंग श्यामश्वेत र तिनको अन्तर्य कहालीलाग्दो हुन थाल्यो, त्यसपछिको समयमा मैले उपन्यास लेख्न थालेको हुँ। यो संयोग या वियोग थियो, म भन्न सक्दिनँ। उपन्यास लेख्नुभन्दा अघिको समयमा मभित्र यथास्थितिप्रति चर्को असहमति र समतावादी युटोपियाप्रति परम अनुराग थियो। तर, उपन्यासको रचनायात्रामा हिँडेपछिका यो तीन दशकमा मभित्र यथास्थितिविरुद्धको आक्रोश यथावत् रहे पनि समतावादी युटोपिया चाहिँ कठघरामा उभिन पुगेको छ।
विपनामा म कस्तो मानिस हुँ, म आफ्नो मूल्यांकन गर्न असमर्थ छु, तर एउटा कुरा स्पष्ट भन्न सक्छु– सपनामा म राम्रो मान्छे होइन। सपनामा म सधैँ प्रतिनायक बनेको हुन्छु। यो सत्यको छायाविम्ब मेरो यो उपन्यासमा पनि अंकित छ। यस हिसाबमा म स्वप्न र दु:स्वप्नको अन्तर्विरोधमा थिचिएको एक लेखक हुँ र मेरा उपन्यास इतिहासले जन्माएका डिस्टोपियाहरूका खुला प्रतिक्रिया हुन्।
आज उपन्यास लेखकका रूपमा मेरो उमेर तीन दशकजत्तिको भएछ। यस सहयात्रामा मेरो र उपन्यासबीचको अन्तरसम्बन्ध कसरी निरूपित हुन्छ? म कहाँ हुन्छु? अचेल मैले आफैँलाई सोध्ने प्रश्न हुन् यी।

नातिनी रीति र नाति रिवाजका साथ उपन्यास लोकार्पण गर्दै लेखक नारायण ढकाल। तस्बिर सौजन्य : नेपालय
तर, म यहाँ यी प्रश्नहरूको उत्तर दिन बसेको होइन। म यस्ता जटिल प्रश्नहरूको उत्तर दिन सक्ने ल्याकतको लेखक पनि होइन। यी प्रश्नहरूको सटीक जवाफ नहुनु मेरो लेखकीय सीमा र यन्त्रणा हो।
मैले किशोर अवस्थाबाट उपन्यास पढ्न थालेको हुँ। उपन्यास पढ्नु ठूलै अपराध मानिन्थ्यो, हत्या नै गरेजस्तो। एक युवक वा युवतीले भयानक सन्त्रासमा पोर्नोग्राफी पढेजस्तो। अथवा त्योभन्दा पनि बढी सकस, कुनै अस्वीकृत जमातले तथाकथित गम्भीर सामाजिक अपराध गरेजस्तो। मेरो किशोरकालमा उपन्यास एक अत्यन्त बदनाम विधा थियो।
जासुसी उपन्यासको पठनले अपराधको संसारसित रोमाञ्चित बन्ने लत लाग्यो। एक प्रकारले अपराधप्रतिको अनुराग नै भनौँ। मेरा लागि अपराध एक आनन्दमय मनोरञ्जन बन्न पुग्यो।
त्यसैले महाविद्यालयका पुस्तकभित्र उपन्यासहरू राखेर पढ्थेँ म, ताकि पिताजीले थाहा नपाऊन्। आमा निरक्षर भएकाले उनको डर थिएन। उपन्यास पठनको प्रारम्भमा हेमांग दीक्षित, दीर्घबाहु, शरद निरौला, विजय चालिसे, प्रेम कैदीहरू मैले पढेका केही नेपाली नाम हुन्। ती जासुसी उपन्यासका सर्जक हुन्। पछि राजधानीस्थित किताब बजार तथा भारतीय, बेलायती र अमेरिकी पुस्तकालयहरूमा कर्नल रञ्जित, वेदप्रकाश काम्बोज, सर अर्थर क्यानन डायल आदिहरू पनि पढ्ने मौका मिल्यो।
ती पढेपछि मैले बुझेको जीवनबाहिर पनि अर्को समानान्तर संसार रहेछ भन्ने बोध भयो। जासुसी उपन्यासको पठनले अपराधको संसारसित रोमाञ्चित बन्ने लत लाग्यो। एक प्रकारले अपराधप्रतिको अनुराग नै भनौँ। मेरा लागि अपराध एक आनन्दमय मनोरञ्जन बन्न पुग्यो। त्यसलाई पछि आत्मसात् गरेको मुक्ति अभियानले केही वर्ष विस्थापित गरे पनि त्यो अनुराग मभित्र अहिले फेरि जुर्मुराउन थालेको छ। म त्यो बोधबाट मुक्त हुन विपनामा भगीरथ कोसिस गर्छु, तर सपनामा सक्दिनँ। त्यसैले सपनामा म प्रतिनायक भइरहेको हुन्छु भनेको हुँ।
मैले सामाजिक र ऐतिहासिक उपन्यास पढ्न थालेको चाहिँ २०२८ सालपछि मात्र हो। बसाइँ मैले पढेको पहिलो नेपाली सामाजिक उपन्यास थियो र रूपमती दोस्रो। भ्रमर, आज रमिता छ आदिहरू अझ पछि पढेँ। गुलसन नन्दा खासै पढिनँ। युधीर थापा पढेको भए पनि सम्झिन्नँ। आगो शीर्षकको एक उपन्यास, जो नेपाली पोर्नो उपन्यास थियो, त्यसलाई मुटु ढुकढुक पार्दै पढेको हुँ। त्यो पढेपछि कैयौँ दिनसम्म अपराधबोध भएको थियो। ती लेखकको नाम अहिले मलाई सम्झना छैन।

हिन्दीमा लेखक कुशवाहाकान्त मेरो पहिलो पठन हो। उनको उपन्यासको विषय क्रान्तिकारी हो भन्ने मात्र सम्झना छ, तर शीर्षक बिर्सें। पढेपछि धेरै दिनसम्म त्यसको मातले लट्ठिएको थिएँ। अंग्रेजीमा चार्ल्स डिकेन्सको डेभिड कपरफिल्ड पाठ्यक्रममा भएकाले पहिलो बन्न पुगेको हो। डेभिड कपरफिल्ड मजस्तै एक दुःखी पात्र थियो। त्यो पात्र चार्ल्स डिकेन्स आफैँ थिए। त्यो पढेर आनन्दभन्दा बढी दुःख कमाएको सम्झना अझै छ।
त्यसपछि आख्यान पढ्ने क्रम सतत र निरन्तर हुँदै गयो। त्यसक्रममा मलाई जति मात्रामा लेव तोल्सतोयले बाटो देखाए, मक्सिम गोर्कीले धेरै कम। म गोर्कीका उपन्यासभन्दा कथाहरूबाट ज्यादै प्रभावित छु। अर्का रुसी लेखक फ्योदोर दस्तोएव्स्की मेरा औपन्यासिक आदर्श हुन्। उनको गोल्याद्किन द डबलको सन्दर्भ यस कृतिमा पनि छ। नामहरू धेरै छन्। यस्तो विवरण निकै लामो हुन्छ, र साथसाथै अर्थहीन पनि। अहिले त्यता नजाऔँ।
सामाजिक उपन्यासहरू छिचोल्नुअघि नै मैले एउटा जासुसी उपन्यास लेखेको थिएँ। त्यसबेला म १७ वर्षको थिएँ। २०२७ सालको घटना हो। पढाइ बिगारेर घरबाट भगौडा हुने बाटोमा लागेकाले मेरो जीवनका आकांक्षाहरू भत्किइरहेका थिए। म आफ्नै बुद्धि र मतिले परिवारबाट कटेको एक पात्र थिएँ। केही कमाइधमाइ थिएन। काँठको घरदेखि चार माइल टाढा सहरको डेरामा बिहानबेलुकीको गाँस जुराउन धौ धौ थियो। साथीहरूकहाँ गएर खान पाए पेट भरियो नत्र खाली।
एउटा कुरा चाहिँ कहिल्यै बिर्सन्नँ, पाण्डुलिपि बुझाएपछिका केही दिन मेरा खुट्टा जमिनमा थिएनन्। आकाशमा उडिरहेको थिएँ।
त्यही समयमा हेमांग दीक्षितहरूको यती प्रकाशनले जासुसी उपन्यास लेखेर बुझाएमा १०० रुपैयाँ दिने घोषणा गरेको थियो। त्यस बखतको १०० रुपैयाँ निकै ठूलो रकम हो। त्यसपछि म कम्मर कसेर उपन्यास लेख्न बसेँ। भोक र प्यास बिर्सेर करिब तीन दिन र तीन रात घुँडा धसेर लेखेपछि एउटा ठूलो रजिस्टर भरियो। र, एउटा अपराध कथा तयार भयो।
उपन्यास लेखिसक्दा मेरा आँखा गाडिएर खोपिल्टाझैँ बनेका थिए।
त्यसपछि म बडो उत्साहका साथ यती प्रकाशन डिल्लीबजार गएँ र उपन्यास बुझाएँ। त्यस दिनका धेरै कुरा मेरो स्मृतिबाट लोप भइसकेका छन्, तर एउटा कुरा चाहिँ कहिल्यै बिर्सन्नँ, पाण्डुलिपि बुझाएपछिका केही दिन मेरा खुट्टा जमिनमा थिएनन्। आकाशमा उडिरहेको थिएँ।
उपन्यासको प्रथम कक्षामा म असफल भएको थिएँ। त्यो कक्षा दोहोर्याएर उत्तीर्ण हुन मेरो अगाडि भीमकाय ढोका खुलेको थियो। परम आवेग र उत्कण्ठाको ढोका। जब्बर महत्त्वाकांक्षाको ढोका।
तर, एकदिन रावणले जटायुको पखेँटा काटेझैँ मेरा पखेँटा काटिए, र म जमिनमा पछारिएँ। कारण सरल थियो, यती प्रकाशनले मेरो उपन्यासको पाण्डुलिपि अस्वीकृत गरेर डस्टबिनमा फ्याँकिदिएको थियो।
सायद त्यो उपन्यास मेरो जीवनको एक झुरतम सिर्जना थियो।
तर, त्यो घटना दुर्घटना बनेन। उपन्यासको प्रथम कक्षामा म असफल भएको थिएँ। त्यो कक्षा दोहोर्याएर उत्तीर्ण हुन मेरो अगाडि भीमकाय ढोका खुलेको थियो। परम आवेग र उत्कण्ठाको ढोका। जब्बर महत्त्वाकांक्षाको ढोका। म त्यो ढोकाबाट छिर्नैपर्छ भन्ने भूतले लखेटिन थालेँ।

उपन्यास लोकार्पणका अवसरमा मन्तव्यका क्रममा लेखक ढकाल। तस्बिर सौजन्य : नेपालय
त्यसपछि म नाम चलेका लेखक खोज्दै उपन्यास र साहित्यका अन्य विधा पढ्ने लतमा फसेँ। पागलझैँ पढ्नु र पढिरहनु मेरो दिनचर्या हुन थाल्यो। बसमा बस्दा, शौचालय पस्दा र कलेजका कक्षामा शिक्षकले पढाइरहँदा पनि मेरा आँखा साहित्यिक किताबमा रहन्थे।
त्यस बखतको त्यस्तो पढाइले केही काम गरे पनि उपन्यास लेख्ने आँट भने अझै आएको थिएन। जानीनजानी आफूलाई खोज्ने क्रममा कविता लेख्न थालेँ। तर, ती कविता त्यसबेलाको चर्चित ट्याब्लोइड साप्ताहिक नयाँ सन्देशबाहेक कसैले छापेनन्। गोरखापत्रले छापेन। मधुपर्कले छापेन। रूपरेखाले झन् कसरी छाप्थ्यो? पछि कथा लेख्न थालेँ, दमना पत्रिकामा पहिलो कथा छापियो। यो २०३० सालको दसैँअगाडिको घटना हो। त्यसपछि मभित्र बिस्तारै कथाकारको जन्म भयो। क्रमशः म छापिन थालेँ।
२०३० सालपछिका लगभग अढाई दशक उपन्यास लेखनतिर ध्यान नजानुमा मेरो अस्थिर जीवनचक्र मुख्य थियो। त्यस बखत म कहिले झोछेँका गल्लीहरूमा शिवधुवाँको सघन कुहिरोमाझ जीवनको सपना खोज्न गएँ। कहिले भूमिगत प्रतिबन्धित कम्युनिस्ट पार्टीको मुक्तिको संकथनसँग जोडिएँ।
तर, फेरि पनि मभित्र उपन्यासकार अझै जन्मिन सकेको थिएन।
मभित्रको उपन्यासकारभन्दा कथाकार लगभग अढाई दशक जेठो हो। विक्रम संवत् २०३० र २०४० को दशकमा मैले लगातार कथाहरू लेखिरहेँ। कथा लेखनको रचना प्रक्रियामा अल्पसमय र अल्पज्ञान पनि सुविधाजनक रहन्छ, तर उपन्यास लेख्न धेरै समयको एकान्त, मानसिक परिश्रम र विराट् जीवनबोध चाहिने रहेछ।
२०३० सालपछिका लगभग अढाई दशक उपन्यास लेखनतिर ध्यान नजानुमा मेरो अस्थिर जीवनचक्र मुख्य थियो। त्यस बखत म कहिले झोछेँका गल्लीहरूमा शिवधुवाँको सघन कुहिरोमाझ जीवनको सपना खोज्न गएँ। कहिले भूमिगत प्रतिबन्धित कम्युनिस्ट पार्टीको मुक्तिको संकथनसँग जोडिएँ। विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, पार्टी संगठन, जेल यात्रा। अनगिन्ती घटना र मोडहरू। होटलको बेयरादेखि पाठशालाको शिक्षकसम्म बनेर जीविका कमाउने आपाधापीमा उपन्यास मेरो प्राथमिकतामा आएन। कहिले सरकारी कर्मचारी, कहिले राजनीतिक संगठक र कहिले पत्रकार भएपछि उपन्यासको पाण्डुलिपि बेचेर पैसा कमाउने भन्नेतिर ध्यान जाने पनि कुरै भएन।
तर, एकदिन यस्तो आयो जुन दिन मैले आत्मसात् गरेको मुक्ति अभियानको गर्भाशयभित्र विश्वासघातको भ्रुण हुर्किंदै छ भन्ने संकेत मिल्यो। तथाकथित स्वप्नमनीषिहरू रातारात बदलिए। सक्कलीहरू नक्कली देखिन थाले। लु सुनको पागलको डायरीका व्याख्याताहरू नेवारी लोककथाको बच्चा खाने राक्षस गुरुमाप्पा बन्न थाले।
त्यसपछि मभित्र रहेको मुक्तिको युटोपियाप्रतिको विश्वास चर्मराउन थाल्यो। यो मलाई मात्र भएको होइन रहेछ। जब मैले मेरा समकालीन इस्माइल कादरे, ज्योर्गी गोस्पोडिनोभ आदिलाई पढेँ, उनीहरू पनि त्यसरी नै रनथनिएका रहेछन्।
यो मेरो छैटौँ उपन्यास हो। यसपछि अर्को उपन्यास लेखिएला/नलेखिएला, म अहिले भन्न सक्दिनँ। किनकि, अचेल मेरो दिमाग सैतानको घरजत्तिकै खाली छ।
नागरिकले साह्रै कठोर त्याग गरेर स्थापना गरेको संस्कृतिभित्र विश्वासघात हुर्कंदै छ भन्ने लागेपछि मैले पहिलो उपन्यास पीतसंवाद लेखेको हुँ। त्यो मभित्रको ठाडो विचार र उत्तेजनात्मक भावनाको उपज थियो। यो कृति पहिलेको जासुसी उपन्यासको जस्तो दुर्घटनामा परेन। यसलाई पाठकले मन पराए। विचार प्रकाशनले छाप्यो।
पीतसंवादपछि मैले उपन्याससित सघन संगत थालेँ। लेखनमा मेरो पहिलो प्राथमिकतामा यो गद्य महाकाव्य पर्न थाल्यो। अहिले प्रकाशन भएको यो उपन्यास जगज्जननी उसकी आमाको नाम होइन, इतिहासका तिनै विश्वासघातहरूविरुद्ध मेरो पछिल्लो बकपत्र हो।

यो मेरो छैटौँ उपन्यास हो। यसपछि अर्को उपन्यास लेखिएला/नलेखिएला, म अहिले भन्न सक्दिनँ। किनकि, अचेल मेरो दिमाग सैतानको घरजत्तिकै खाली छ। यसरी खाली छ, मानौँ म नेपाली साहित्यको इतिहासमा एक नमुना बुद्धु हुँ। अहिले मसँग फेरि जीवित हुन सक्ने शब्दहरूको नितान्त अभाव छ।
धेरै समयसम्म मलाई लाग्यो, उपन्यास भनेको लामो कथा हो वा छोटो कथाको विस्तार। तर, राल्फ फक्स, जर्ज लुकास, मिखाइल बाख्तिन, मैनेजर पाण्डेयहरूले मेरो ज्ञानको गरिबी र प्राज्ञिक नादानीप्रति खिल्ली उडाए।
विशेषगरी उपन्यासबारे बाख्तिनको बहुआयामिक सोच र दर्शनले म रनथनिएँ। उनले उपन्यासलाई संगीत संगठनको सिम्फोनी अर्केस्ट्रा भनेका छन्। इतिहासबोध, स्वरहरूको बहुलता, संवादधर्मिता र मानिसको अन्तस्करणको आविष्कार आदि गुणले यो विधा बहुलवादी र उच्च छ भन्ने उनको दलिल छ।
मैले बाख्तिन थाहा पाएको पीतसंवाद लेखेपछि मात्र हो। मैले मात्र होइन, उनलाई बाँकी विश्वले पनि पछि मात्र थाहा पाएको हो। उनी लामो समयसम्म स्टालिनवादको आतंकले अँध्यारोमा थन्किएका थिए।
पीतसंवाद लेख्दा म निकै कच्चा उपन्यासकार थिएँ भन्ने कुरा गएको वर्षसम्म त्यसको परिमार्जनमा जुटेको तथ्यले प्रमाणित गर्छ। हरेक नयाँ संस्करणमा संरचनात्मक अवयवमा नयाँ अवतार प्रकट हुने त्यो कृतिको पछिल्लो संस्करण बेला पब्लिकेसनले बजारमा ल्याउँदै छ।
मलाई बाख्तिनहरूले खिल्ली उडाएपछि उत्पन्न छटपटी र तनाव अझै साम्य भएको छैन। यो उपन्यास लेखिरहँदा पनि सकस र छटपटीका तरंगहरू मडारिइरहेकै थिए।
यो कृति अब मेरो हातबाट निवृत्त हुँदै छ। म त्यो तनावबाट क्रमशः मुक्त हुने प्रयास गरिरहेको छु।
यो कृति राम्रो भयो कि भएन, म भन्न सक्दिनँ।
मेरा एक पाठकसित सधैँ मर्निङ वाकमा भेट हुन्छ। ती हाम्रो नगरवडाका एक धुरन्धर पण्डितका नाति हुन्, र साहित्यका धुरन्धर पाठक। मैले भेट्दा उनी सधैँ आफ्नो भीमकाय कुकुरसँग हुन्छन्, कुकुरको शौचक्रिया सहयोगमा निमग्न। उनको हातमा कुकुरको दाम्लो हुन्छ। उनी तानातानमा हुन्छन्। म उनको कुकुरका ढाडे आँखा देखेर निकै डराउँछु। पुलिस कुकुर भएकाले डर लागेको हो मलाई। पुलिस शब्दसँग अझैसम्म पनि मलाई डर लाग्छ।
पुलिस कुकुर शब्द मेरा नातिनातिनीहरूले आविष्कार गरेको ‘मेटाफोर’ हो। त्यस प्राणीको जात म जान्दिनँ, किनकि जीवनमा भुस्याहा कुकुरबाहेक मेरो अरूसँग हिमचिम भएन। भुस्याहा कुकुरहरू मलाई प्रिय लाग्छन् भन्ने प्रमाण यो उपन्यासमा पनि छ। लुते कुकुर पात्रका रूपमा।
पण्डितका नातिको कुकुर सायद जर्मन सेफर्ड होला। यस्तो डरको विषयमा मैले एउटा कथा लेखिसकेको छु। तमस संग्रहमा छापिएको छ त्यो कथा।
अँ त, पण्डितका नाति मेरा स्थायी पाठक हुन्, तर कडा छिद्रान्वेषी खालका।
प्रेतकल्प छापिएपछि उनले मलाई सोधे : भूतप्रेतले पण्डित बालकृष्णको खेत खन्दिने कुरा सामाजिक यथार्थवाद हो कि जादुयी यथार्थवाद? यस्तो अस्पष्ट कुरा पनि लेख्ने?
मैले केही जवाफ दिन सकिनँ।
दुर्भिक्षका बेला पनि उनी त्यसरी नै रन्केका थिए : अलि प्रेम र दुःखका कमला कुरा लेख्नु नि ताकि उपन्यास पढेर रुँदै रातभरि तकिया भिजाउन पाइयोस्। कि त किशोरकिशोरीलाई शिक्षा दिने खालको लेख्नू। नयाँ पुस्तासित संवाद गर्नु पर्दैन? यो तालले कसरी बेस्ट सेलर लेखक बन्न सक्छौ खोइ?
म मौन बसेँ।
वृषभ वध निस्केपछि उनले फेरि सोधे : के तिम्रो उपन्यासको संसारमा एउटा पनि गतिलो मान्छे छैन? गुन्डालाई नायक बनाउने? के हाम्रो समाजमा सबै उत्पाती र खलनायक मात्रै छन्?
मैले यसको पनि उत्तर दिन सकिनँ।
जब हजार माइलको बाटो निस्क्यो, उनले फेरि भने : समग्रमा उपन्यास ठीकठीकै हो, तर उपसंहार खण्ड चाहिँ झुर रहेछ। त्यो के लेखेको? भुटिभाङ केही बुझिन्न त।
फेरि पनि म नाजवाफ भएँ।
हरेक उपन्यासपछि हरेक पटक उनले केही न केही प्रश्न सोधेका छन्, तर म उत्तर दिन सक्दिनँ।
धुरन्धर पण्डितका धुरन्धर नातिले यसपल्ट यो उपन्यास पढेपछि पनि नयाँ प्रश्न सोध्नेवाला छन्।
यसपटक उनी मलाई के सोध्लान्? अनुमान गर्न सक्दिनँ। तर, जे सोधे पनि म पहिलेझैँ असंलग्न या तटस्थ नीतिमा अडिग रहनेछु। किनकि, मसँग उनलाई चित्त बुझाउन सक्ने योग्यता छैन।
म बोल्दिनँ।
(आफ्नो नयाँ उपन्यास जगज्जननी उसकी आमाको नाम होइन लोकार्पणका अवसरमा शनिबार ढकालले दिएको मतव्यको पूर्णपाठ। उपन्यास पब्लिकेशन नेपालयले प्रकाशन गरेको हो।)