तनहुँ। यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ। तनहुँका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र शनिबार आइपुगेको हो।
तनहुँ क्षेत्र नं १ को मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को मतपत्र दुलेगौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा राखिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले जानकारी दिए।
क्षेत्र नं १ प्रत्यक्षतर्फ एक लाख ३६ हजार र समानुपातिकतर्फ एक लाख ४२ हजार मतपत्र आएको छ। क्षेत्र नं २ प्रत्यक्षतर्फ एक लाख ३७ हजार र समानुपातिकतर्फ पनि एक लाख ३७ हजार मतपत्र आइपुगेको निर्वाचन अधिकारी लम्सालले बताए।
निर्वाचनका लागि आवश्यकपर्ने अन्य सामग्री पनि व्यवस्थापनको काम सकिएको छ। निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्ति भई अब तालिम सञ्चालन गर्न लागिएको छ।
लम्सालका अनुसार क्षेत्र नं १ का कर्मचारीका लागि फागुन ११ र क्षेत्र नं २ का कर्मचारीका लागि फागुन १२ गते तालिम सञ्चालन हुनेछ।निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता छन्। त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको लम्सालले बताए।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८८२ र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन्। क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ। क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०० दुई रहेको छ।
क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ। क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नं ५ र ६ पर्दछ।