जेरुसेलम। इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायललाई मध्यपूर्वको विशाल भूभागमा बाइबलीय अधिकार रहेको सङ्केत दिएको टिप्पणीपछि अरब र मुस्लिम देशहरू एकै स्वरमा विरोधमा उत्रिएका छन्।
एक दर्जनभन्दा बढी सरकार तथा तीन प्रमुख क्षेत्रीय संस्थाले संयुक्त वक्तव्य जारी गर्दै उक्त अभिव्यक्तिलाई ‘खतरनाक र भडकाउने’ भन्दै कडा निन्दा गरेका छन्।
पूर्व बाप्टिस्ट पादरी तथा कट्टर इजरायल समर्थक हक्काबी अति–दक्षिणपन्थी टिप्पणीकार टकर कार्लसनको पोडकास्टमा बोलिरहेका थिए। शुक्रबार सार्वजनिक गरिएको एपिसोडमा कार्लसनले बाइबलीय पद उद्धृत गर्दै कहिलेकाहीँ इजिप्टको नाइल नदीदेखि सिरिया र इराकको युफ्रेटिस नदीसम्मको भूभाग इजरायलको अधिकार क्षेत्र हुन सक्ने व्याख्या गरेका थिए।
त्यसको जवाफमा हक्काबीले ‘यदि तिनीहरूले त्यो सबै लिए भने राम्रो हुनेछ’ भनेका थिए। थप प्रश्नमा उनले इजरायलले ती सबै भूभाग लिन आग्रह नगरेको उल्लेख गर्दै आफ्नो भनाइ केही हदसम्म अतिशयोक्तिपूर्ण भएको बताएका थिए।
तर उक्त टिप्पणीले क्षेत्रीय स्तरमा तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयमार्फत जारी संयुक्त वक्तव्यमा युएई, इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, लेबनान, सिरिया र प्यालेस्टाइन राज्यका साथै इस्लामिक सहयोग सङ्गठन, अरब लिग र खाडी सहयोग परिषद्ले हस्ताक्षर गरेका छन्।
उनीहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्रको मर्म र गाजा युद्धलाई कम गर्ने तथा व्यापक राजनीतिक समाधान खोज्ने प्रयासविरुद्ध यस्तो अभिव्यक्ति गएको बताएका छन् ।
इरानले पनि प्रतिक्रिया दिँदै हक्काबीको टिप्पणीले प्यालेस्टिनीहरूमाथि इजरायलले गरिरहेको ‘विस्तारवादी आक्रमण’ मा अमेरिकी सक्रिय संलग्नता प्रकट गरेको आरोप लगाएको छ। यसअघि साउदी अरेबियाले उक्त अभिव्यक्तिलाई ‘लापरवाह’ र ‘गैरजिम्मेवारपूर्ण’ भनेको थियो भने जोर्डनले यसलाई क्षेत्रीय सार्वभौमसत्तामाथिको आक्रमण ठहर गरेको थियो।
कुवेतले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको बताएको छ भने ओमानले यसले शान्ति र स्थिरताको सम्भावनालाई खतरामा पारेको जनाएको छ। इजिप्टले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्र वा अन्य कुनै अरब भूमिमा इजरायलको सार्वभौमिकता नभएको पुनः दोहोर्याएको छ।
प्यालेस्टिनी प्राधिकरणले सामाजिक सञ्जालमार्फत हक्काबीको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम किनारलाई इजरायलमा विलय नगर्ने अडानसँग विपरीत भएको टिप्पणी गरेको छ।
शनिबार हक्काबीले एक्समा अन्य विषयमा आफ्नो धारणा प्रस्ट्याउन दुई सन्देश प्रकाशित गरेको भए पनि बाइबलीय पदसम्बन्धी अभिव्यक्तिलाई भने प्रत्यक्ष सम्बोधन गरेको छैन।
इजरायली संसद्का अध्यक्ष अमिर ओहानाले भने हक्काबीको समग्र इजरायल समर्थक दृष्टिकोणको प्रशंसा गर्दै कार्लसनमाथि ‘झूट र हेरफेर’ गरेको आरोप लगाएका छन्।
उता कार्लसन हालै स्वघोषित श्वेत राष्ट्रवादी निक फुएन्टेससँग गरेको लामो अन्तर्वार्तापछि यहुदीविरोधी आरोपको सामना गरिरहेका छन्, जसमा फुएन्टेसले हिटलरको प्रशंसा, नरसंहार अस्वीकार र अमेरिकी यहुदीहरूलाई विश्वासघातीको रूपमा चित्रण गरेका थिए।
हक्काबीको उक्त टिप्पणीले गाजा युद्ध र पश्चिम किनारका विषयमा चलिरहेको संवेदनशील कूटनीतिक प्रयासबीच नयाँ तनाव थपिदिएको छ, जसले मध्यपूर्वमा शान्ति प्रक्रिया झनै जटिल बन्ने सङ्केत दिएको छ।