अनुभूति
सार्वजनिक सवारीसाधनमा लामो यात्राका क्रममा भोग्नुपर्ने स्वाद दुर्घटनाको पीडालाई सामान्य ठानिएका दुर्गा गुरुङ र कुशल थापा मगरका होटलले निको पारिरहेका छन्।
यो खानाका लागि गरिएको यात्राको होइन, यात्राका क्रममा सँगालिएका खानाका तीतोमीठो अनुभूति हो।
जब जब तपाईं सार्वजनिक यातायातमा यात्रा गर्नुहुन्छ, उनीहरूले रोकेकै ठाउँमा खाना-नास्ता खानुपर्ने हुन्छ, तब तब तपाईं ठगिएको अनुभव गर्नुहुन्छ। ठगिएको पीडा खाना वा नास्ताको गुणस्तरमा मात्र हुँदैन, पैसा तिर्दा पनि हुन्छ। अधिकांश होटेलवाला साहु र कर्मचारीको व्यवहार उत्तिकै नमीठो हुन्छ। उनीहरू हामीलाई आफ्नो पासोमा फसेको सिकार ठान्छन्। भाग्ला वा विवाद गर्ला भनेर पहिल्यै पैसा तिराइसकेका हुनाले हामी जालमा फसेका माछाझैँ हुन्छौँ। न छटपटाउन सक्छौँ, न गुनासो गर्न सक्छौँ, सुनुवाइ पनि कतैबाट हुँदैन। कति होटलवाला अलि नरम हुन्छन्, ड्राइभर र खलासीलाई ज्वाइँझैँ सित्तैमा खुवाएपछि त्यसको पैसा यात्रुबाट असुल गर्नैपर्यो भनेर सान्त्वना दिन्छन्।
तर, कहिलेकाहीँ निजी यातायातमा यात्राका क्रममा थाहा हुन्छ, राजमार्गमा उम्दा खाना खुवाउनेको कुनै कमी छैन। सस्तो, महँगो, मध्यमस्तर सबै खालका खाना/खाजाघरहरू छन्। उनीहरूले दिने आतिथेय सत्कार वाह भन्न लायक हुने गर्छ। तर, त्यहाँ सार्वजनिक यातायातका साधन रोकिन्नन्, किनकि उनीहरू कमिसन दिन तयार हुँदैनन्।
अघिल्लो साता ट्राभल, टुर र होटल व्यवसायी बलराम थापाको गाडीमा लमजुङबाट काठमाडौँतिर आउने मौका मिल्यो। साथमा थिए, गण्डकी प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता तथा अधिवक्ता राजेन्द्र घिमिरे। तनहुँ-डुम्रेको नयाँ बाटोमा तीव्र गतिमा हुइँकिँदै गर्दा खानाका सोखीन राजेन्द्रले सोधे, ‘खाना कहाँ खाने?’ फेरि उनैले सुझाए, ‘आँबुखैरेनी, मर्स्याङ्दीतिरमा गजबको झुप्रे होटल छ, त्यही खाऔँ माछाभात।’ उनैले होटल साहुलाई फोन गरे र हाम्रा आवश्यकता अर्थ्याए।

गुरुङ होटल, आँबुखैरेनी। तस्बिर : राजेश घिमिरे
२०/२५ मिनेटको यात्रामा नै पुगियो, आँबुखैरेनी-३ डम्पिङस्थित गुरुङ होटल। बाहिरबाट हेर्दा सानो, सडकको धुलोले पूरै छोपिएको छाप्रो। तर, भित्र एकदमै सफा र व्यवस्थित। स्वागतका लागि तमतयार होटल साहु दुर्गा गुरुङले भित्र छिर्नासाथ माछा देखाए। ‘ओहो! सहर पो रहेछ,’ मनमनै सोचियो, ‘लोपोन्मुख प्रजातिको माछा!’
सिल्भर महाशिरलाई कतिले सहर भन्छन्, कतिले चाहिँ चाँदी सहर। यो हामीकहाँ गोल्डेन वा सुनौलो महाशिरभन्दा अलि बढी पाइन्छ। सुनौलो सहर अतिसिकारका कारण संकटमा छ भने चाँदी महाशिर चाहिँ अहिलेसम्म सुर्ता मानिहाल्नुपर्ने अवस्थामा छैन। संकटमा रहेको प्रजातिको माछा खाने कि नखाने भन्ने नैतिक प्रश्नलाई स्वादे जिब्रोले खारेज गरिरहेको थियो। फ्रिजरमा राखेको माछा छानेर/जोखेर हरहिसाब गरेपछि दुर्गा त्यसलाई बनाउन थाले। भन्दै थिए, ‘बाम र सहर मर्स्याङ्दीका सबैभन्दा रुचाइने माछा हुन्। केटाहरू मार्छन् र बेच्न ल्याउँछन्।’

दुर्गा गुरुङ। तस्बिर : राजेश घिमिरे
सहर पकाउँदै गर्दा उनले दुई रिकापीभरि तारेका साना असला ल्याएर दिए। पोखरीको वा व्यावसायिक रूपमा उत्पादित हो या खोलाको माछा हो भनेर चिन्ने सजिलो उपाय चाहिँ तिनको आकार नै हो। खोलामा जाल वा बल्छी थाप्दा एकै आकारमा माछा पर्दैनन्। दाना खुवाएका व्यावसायिक माछा चाहिँ एकै आकारका हुन्छन्।

सहर माछा। तस्बिर : राजेश घिमिरे
हामीलाई पस्किइएका माछा साना-ठूला थिए। त्यसमाथि सबै एकै प्रजातिका पनि थिएनन्। त्यसैले मर्स्याङ्दीकै हो भनेर ढुक्क भएर खाइयो। एकैछिनपछि आयो, झोल हालेको सर। त्यो झोल सुरुप्प पार्दाको आनन्द व्याख्या गर्न गाह्रो छ। तिक्खर स्वादको यो माछा पकाउँदा दुर्गाले मसला नहालेरै गजब बनाएका थिए। उनी भन्दै थिए, ‘मेरो त पकाइ सामान्य छ। पहिले तेलमा टमाटर, अदुवा, लसुन र प्याज हालेर भुट्ने र ग्रेभी बनाउने हो। अनि पानी हालेर झोल बनाउने र माछा हाल्ने।’
त्यसपछि आयो, एक थाल भात र गोलभेँडाको चटनी। माछा, झोल, पिरो चटनी र भातको सम्मिश्रण। स्वाद वर्णनातीत। बलराम थापाको चासो थियो, ‘यो प्रेसर कुकरमा पकाएको हो नि?’ उत्तरमा दुर्गाले मुन्टो हल्लाएर ‘हो’ भने। बलरामको भनाइमा माछा छिटो बनाउन प्रेसर कुकर उत्तम उपाय हो। डेक्ची वा अरू भाडामा माछाको झोल पकाउँदा चलाउने क्रममा धेरै माछा फुट्छ, कुकरमा पकाउँदा भने सग्लै हुन्छ। लेउ, कीरा, भ्यागुता तथा साना माछा खाने सर्वभक्षी भनिएको सहर माछाको सुस्वादपछि हामी फेरि सडकतिरै लाग्यौँ।

सहरको झोल र असला तारेको। तस्बिर : राजेश घिमिरे
केही दिनपछि दैलेख पुगियो। काम सकेर सुर्खेत झर्दै गर्दा पेटमा मुसा दौड पनि सुरु भयो। सहयात्री चालक भाइ प्रकाश राम्जालीसँग लोकमार्गमा देखिएका होटलमा भात पाइन्छ कि भनेर सोध्दै थियौँ। लोहोरे र छामघाट खोलाको संगमस्थल दैलेखको चुप्रा बजारका पसलहरूमा सोधीखोजी गर्दा पनि भात खाने मौका मिल्ला जस्तो लागेन। एक जना होटलवालाले त ‘दिउँसोको २ बजे कल्ले भात दिने तिमेरलाई’ भनेर वचन नै लगाए।
म्यादी प्रहरीको भिड देखिएको नौमुले खाजाघरमा ‘भात छ’ भनेर सोध्नासाथ साहुजीले भने, ‘भातै त छैन, केही व्यवस्था गरौँला नि’ भने। मीठो वचनकै कारण भित्र छिरियो। साहुजी कुशल थापा मगरले माछाको झोल र रोटी खुवाउने भए। ‘अन्डा फराई पनि गरम्? लोकल अन्डा छ,’ उनले भने। हामीले पनि ‘हस्’ भन्यौँ।

असलाको झोल र रोटी। तस्बिर : राजेश घिमिरे
माछाको झोल, तात्तातो रोटी, अम्लेट र गोलभेँडाको चटनी आयो। लोहोरे खोलालाई नियाल्दै त्यहीँका असलासँगै मिसिएका अरू माछाहरूको तिक्खर झोलमा रोटी डुबाउँदै खाँदै गर्दा भाइ राम्जालीले गम्भीर हुँदै भने, ‘यतिका दुकानमा सोधियो। यिनले जस्तो मीठो वचन लगाएको भए हामी तिनै दोकानमा खाइन्थ्यो नि।’
हो नि। खाना व्यवसायीले सुपथ मूल्यमा स्तरीय खाना मात्र दिएर हुँदैन, व्यवहार पनि मीठै हुनुपर्छ। तर, सार्वजनिक सवारी रोकिने अधिकांश साहुजी र कर्मचारीमा यिनै चिजको हाहाकार छ। त्यसैले यात्रु अर्को पटक यो होटलमा आउन नपरोस् भनेर प्रार्थना गर्छन्, तर प्रार्थना न कानुन बनाउनेले सुन्छन्, न कार्यान्वयन गर्नेले। उपभोक्ता हितका कुरा कुरैमा सीमित रहन्छ।