काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन फुटबलर साम्बाको हारगुहार

११ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकसँग आर्थिक सहयोगको अपिल गरेकी छन्।

चोटका कारण बिरामी परेको भन्दै उपचार गरेर मैदान फर्किन चाहेको भन्दै उनले आर्थिक सहयोग संकलन अभियान सुरु गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सात सातादेखि घुँडाको चोटका कारण आफू मैदानबाहिर रहेको खुलाएकी छन्।
“यसपटक एन्फाबाट अपेक्षित प्रशासनिक र आर्थिक सहयोग प्राप्त भएन,” उनले भनेकी छन्, “आर्थिक अभावकै कारण शल्यक्रियाको मिति दोहोर्‍याएर तय गर्नुपरेको छ।” अहिले उनी आबद्ध क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न चाहे पनि आफूले कतार जाने योजना बनाएको खुलाएकी छन्।

“क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउने तयारी देखाएको छ। तर म उच्चस्तरको उपचारका लागि पुन: कतारको अस्पतालमा जान चाहन्छु,” उनले लेखेकी छन्‚ “कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान रहेको छ।”

उनले आफ्ना समर्थकलाई सहयोगका लागि क्यूआर वा बैंकमार्फत आर्थिक योगदान दिन आग्रह गरेकी छिन्। विदेशी समर्थकले ‘गिभ अ लिटिल’ लिंकमार्फत सहयोग गर्न पनि उनले अपिल गरेकी छन्। “यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। थाकेको हो, तर हारेको छैन। फेरि एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु‚” उनले भनेकी छन्।