काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। टिकटकर तुल्सी अधिकारीमाथि तीनवटा कसुरमा अनुसन्धान सुरु भएको छ।

अधिकारीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

तुलसा कलेक्सनकी सञ्चालिका रहेकी अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ सञ्चालक कुमार चिमोरियाले वृत्त सातदोबाटोमा उजुरी दिएका थिए। २२ साउनमा उजुरी आएपछि प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक कसुरमा अनुसन्धान गरिरहेको थियो। अधिकारी भने अहिले नेपालमा नरहेको प्रहरीले जनाएको छ।

अधिकारीमाथि १९ फागुन २०८१ मै सम्पत्ति शुद्धीकरण ‍अनुसन्धान विभागमा उजुरी परेको थियो। विभागले उक्त उजुरीमाथि गत २० कात्तिकबाट अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

अधिकारी सुनवल नगरपालिका ६‚ नवलपरासीको रहेको उनको नागरिकताबाट खुलेको परिसर प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। अधिकारीले चार करोडभन्दा बढी रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको प्रहरीको भनाइ छ।

“सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दा अधिकारीले प्राप्त गरेको सम्पत्ति रूपान्तरण, हस्तान्तरणलगायत कानुनद्वारा निषेधित क्रियाकलापहरू स्थापित हुने आधार र प्रमाणहरू संकलन गर्न भनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट सुझाव आएको छ,” मिश्रले भने।

अनुसन्धान भइरहेको विषयमा अधिकारीले सामाजिक सञ्जालमा फोटो तथा भिडिओ सम्प्रेषण गरेपछि ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ। “उहाँको विषयमा तीनवटा अलग मुद्दामा अनुसन्धान जारी छ। यस्तो अवस्थामा अनुसन्धानलाई प्रभावित पार्ने क्रियाकलाप गरिएकाले हामीले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएका हौँ,” मिश्रले भने।