काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नौ बुँदामा आफ्नो चुनावी प्रतिज्ञा सार्वजनिक गरेका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका सभापति थापाले सोमबार आफ्नो प्रतिज्ञा सार्वजनिक गरेका हुन्।

थापाको प्रतिज्ञाको पहिलो बुँदामा गुणस्तरीय शिक्षा- कापी-कलम अभियान रहेको छ। सर्लाही ४ मा थापाले आफ्नो पहिलो प्राथमिकता गुणस्तरीय शिक्षामा रहेको उल्लेख गरेका छन्। गणित, विज्ञान र अंग्रेजी शिक्षक उपलब्ध गराउन र विद्यालयलाई प्रविधिमैत्री बनाउन स्टिम अभियान सञ्चालन गरिने थापाको प्रतिज्ञा छ।

विद्यालयमा पुग्न नसक्ने अवस्था अन्त्य गर्न विपन्न, दलित, मुस्लिम समुदायका विद्यार्थीलाई छात्रवृत्ति अभियान चलाउने, सबैका लागि शिक्षा र सिकाइ सहज बनाउन मातृभाषा शिक्षाको व्यवस्था, उच्च शिक्षाका लागि सुविधायुक्त क्याम्पस र सीटीईभीटीबाट मान्यता प्राप्त प्राविधिक विद्यालय स्थापना, छोरीहरूको पढाइ र पढाइसँगै कमाइ सुनिश्चित गर्न ‘सबल छोरी अभियान’ सञ्चालन गरिने थापाको प्रतिज्ञामा उल्लेख छ।

प्रतिज्ञाको दोस्रो बुँदामा सुलभ स्वास्थ्य, स्वस्थ नागरिक अभियान सञ्चालन गरिने उल्लेख छ।

तेस्रो प्राथमिकतामा कृषि उत्थान, किसान गौरव अभियान रहेको छ। थापाले अन्य बुँदामा प्राकृतिक स्रोत र विपद् व्यवस्थापन संरक्षण अभियान, मिसन रोजगारी अभियान, दशगजा उज्यालो अभियान, महिला तथा बालबालिका मेरो आवाज मेरो अधिकार अभियान, दलित अधिकार समता र न्याय अभियान तथा मेरो संस्कृति मेरो पहिचान अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन्।