काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
अ+
अ-

मोरङ। आसन्न प्रतिनिधि सभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ।

जिल्लाका १५६ वटै वडामा मतदाता शिक्षा प्रभावकारी रूपमा अघि बढिरहेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। मतदाता शिक्षासँगै मतदातामा चुनावी उत्साह देखिन थालेको छ।

जिल्लाका एक हजार ८१२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन प्रशिक्षण सञ्चालन भइरहेको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकृत चोलाराज दंगालले जानकारी दिए।

निर्वाचनका सम्पूर्ण सामग्रीसहित मतपत्र छ वटै निर्वाचन क्षेत्रमा पठाइसकिएको दंगालले बताए। उनका अनुसार जिल्ला सुरक्षा समितिले वर्गीकरण गरेको अति संवेदनशील निर्वाचन केन्द्रमा थप सुरक्षाकर्मी पठाएर विशेष सुरक्षा व्यवस्था गर्नुका साथै उल्लेख्य रूपमा कर्मचारीको व्यवस्थापन गरिएको छ।

मोरङको बेलबारी–१० भाउन्नेस्थित शुक्रमाया राई उमेरले ८० वर्ष पूरा भइसकेकी छन्। पटकपटकका निर्वाचनमा मतदान गरे पनि अहिले दिइएको मतदाता शिक्षाले थप सजिलो बनाएको उनले बताइन्। बेलबारी–११ का राजन खतिवडाले पहिलो पटक मतदान गर्दै  छन्।

उनले मतदान शिक्षा लिइसकेको र आफ्नो मत बदर नहुनेमा ढुक्क रहेको उल्लेख गरिन्। रङ्गेल नगरपालिका–२ का कैलाश ऋषिदेवले पहिलो पटक मतदान गर्न लागेको बताउँदै आफूले मतदान शिक्षा लिइसकेको जानकारी दिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा मतदाता संख्या सात लाखभन्दा बढी पुगेको छ। निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार मोरङमा कूल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो। आयोगका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा सात लाख ३५ हजार ५३५ मतदाता थिए।