सरकारको निर्णय
काठमाडौँ। सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सिंहदरबारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले २०,२१ र २२ फागुनमा मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले जेन-जी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ। सरकारले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदान गरिने प्रस्तावित चार मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले चालु आवको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ। बैठकले काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र १ वैशाख २०८३ देखि चैत मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णयसमेत गरेको छ।