आवरण
मधेस प्रदेशमा चुनावी प्रयोजनमा अनुमतिविना भारतीय नम्बर प्लेटका गाडीको जथाभाबी प्रयोगले बढायो सुरक्षा चुनौती
नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधि र उनीसँग प्रतिस्पर्धामा उत्रिएकी नेकपा (एमाले)की उम्मेदवार जुलीकुमारी महतोको घरअगाडि अचेल हरेक दिन दुईतीन वटा भारतीय नम्बर प्लेटका स्कर्पियो देखिन्छ। पूर्वमन्त्रीद्वयको घरअगाडि पार्किङ गरिने ती गाडी २१ फागुनको प्रतिनिधिसभाको चुनावी प्रचार र घरदैलो कार्यक्रममा प्रयोग हुने गरेका छन्।
हुन त मधेसमा चुनावको मुखमा मात्र होइन, अरू बेला पनि भारतीय नम्बर प्लेटका गाडी भाडामा चल्नु सामान्य हो। तर, चुनावमा यो क्रम एकाएक बढेको छ। निधि र महतोले मात्र होइन, अरू दलका उम्मेदवारले पनि चुनावमा भारतीय गाडीको प्रयोग बढाएका छन्। ४ फागुनमा स्वाभिमान पार्टीले सप्तरीमा चुनावी प्रचारमा चलाएको भारतीय नम्बरको एउटा स्कर्पियो त सप्तरी प्रहरीले नियन्त्रणमै लिएको थियो। पूर्वमुख्यमन्त्रीसमेत रहेका सप्तरी २ का स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहका समर्थकले बीआर ११ पीबी ८६१० नम्बरको भारतीय स्कर्पियो प्रयोग गरेका थिए। प्रहरीले त्यो गाडी केहीबेर नियन्त्रणमा लिएर छाडिदिएको हो।

४ फागुनमा सप्तरी प्रहरीले नियन्त्रणमा लिएका दुई भारतीय गाडी।
सप्तरीमै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादवले चुनाव प्रचारमा भारतीय नम्बरको गाडी प्रयोग गरेका थिए। उनले पनि ४ फागुनमै बीआर ६७ पीबी ८९५६ नम्बरको भारतीय स्कर्पियो चलाएका थिए। त्यसलाई पनि प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडिदिएको थियो। स्वाभिमान पार्टी र रास्वपाले प्रयोग गरेका यी दुवै भारतीय नम्बरका स्कर्पियोलाई प्रहरीले समाते पनि कारबाही भने भएन।
मधेसमा उम्मेदवारले चुनाव प्रचारमा मात्र होइन, उम्मेदवारी दर्ता गर्नसमेत निर्लज्ज तरिकाले भारतीय नम्बरका गाडी नै प्रयोग गरेकोसमेत भेटियो। पर्सा ४ मा एमालेबाट उम्मेदवार बनेका जालिम मियाँ मन्सुरी भारतीय नम्बर प्लेटको सवारी चढेर ६ माघमा उम्मेदवारी दर्ता गर्न गएका थिए। रोचक के थियो भने, उनी सवार भारतीय गाडीको नम्बर प्लेट चाहिँ एमालेको झन्डाले छोपिएको थियो। मन्सुरी प्रतिनिधि पात्र मात्र हुन्, मधेसमा अरू उम्मेदवारले पनि भारतीय स्कर्पियो भाडामा लिएर अनि नम्बर प्लेट छोपेर खुलेआम चुनावी प्रयोजनमा चलाएका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा छरिएको छ।
राजनीतिक दलले आयोजना गरेका चुनावकेन्द्रित सभाहरूमा पनि भारतीय गाडीको अचाक्ली प्रयोग भेटिन्छ।
राजनीतिक दलले आयोजना गरेका चुनावकेन्द्रित सभाहरूमा पनि भारतीय गाडीको अचाक्ली प्रयोग भेटिन्छ। जस्तो, जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दर्ताको एक दिनअघि ५ माघमा बृहत् आमसभा आयोजना गरेको थियो। त्यस सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी थिए। त्यसमा सहभागी हुन मधेसका गाउँ गाउँबाट रास्वपाका कार्यकर्ता र समर्थक तिरहुतिया गाछी आएका थिए। तुरहुतिया गाछीको सभाका सहभागीहरू ओसार्न करिब मधेसका विभिन्न जिल्लाबाट एक हजारको संख्यामा थरीथरीका गाडीको प्रयोग गरिएको थियो। रोचक के थियो भने, तीमध्ये भारतीय नम्बर प्लेटका गाडी उल्लेख्य संख्यामा थिए।
रास्वपाले ५ माघमा आयोजना गरेको सभालाई चुनौती दिन नेपाली कांग्रेसले एक महिनापछि ६ फागुनमा तिरहुतिया गाछीमै बृहत् चुनावी सभा आयोजना गर्यो। त्यसमा पनि भारतीय नम्बर प्लेटका गाडीको ओइरो नै लागेको थियो। गाउँ गाउँबाट कैयौँ बस भाडामा लिएर कांग्रेसका कार्यकर्ता तथा समर्थक तिरहुतिया गाछीमा एकत्रित भएका थिए। तर, त्यस सभामा देखिएका साना सवारीमध्ये अधिकांश भारतीय नम्बर अंकित नै थिए।
प्रतिनिधिसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशसँग सीमा जोडिएका भारतीय गाउँ तथा सहरमा नेपालीहरूको वर्षौंदेखि पारिवारिक साइनो गाँसिएको छ। सप्तरीका पत्रकार दीपेश जोशी सीमावर्ती क्षेत्रका नेपालीहरूको नाता सम्बन्धमार्फत भारतीय गाडी नेपाल ल्याएर सस्तोमा भाडामा चलाउने गरिएको बताउँछन्। जोशी भन्छन्, “भारतमा आफन्तको नाममा रहेका गाडी यता ल्याएर चलाउँदा नेपालीलाई सस्तो पर्छ। भाडामा गाडी चाहिनेहरूले पनि सस्तो पर्ने भएकाले नेपाली गाडीभन्दा भारतीय गाडी नै रोज्ने गर्छन्। त्यसैले चुनावमा यो क्रम अरू बेलाभन्दा बढेको छ।”

नेपाली कम्युनिस्ट पार्टीको झन्डासहित प्रचारमा प्रयोग गरिएको रथ।
मुख्य रूपमा यही कारणले चुनावताका राजनीतिक दल र उम्मेदवारले भारतीय आफन्तका माध्यमबाट उताका सवारी नेपाल ल्याएर भाडामा चलाउने गरेका छन्। तर, दल र उम्मेदवारले गरेको यस्तो अभ्यासले निर्वाचन आचारसंहिताको उल्लंघन भएको छ। मधेस प्रदेशका धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सप्तरी र सिरहाका उम्मेदवारले निर्वाचनमा कार्यकर्ता ओसार्न भारतीय गाडी भाडामा लिने गरेका छन्। यी जिल्लासँग भारतीय बजार जोडिएकाले उताका गाडी यता ल्याउन सहज छ। जस्तो– धनुषासँग भारतीय बजार उमगाँव, हरिने, हरिलाखी र रक्सौला जोडिएका छन् भने महोत्तरीसँग भारतका भिठ्ठामोड र जयनगर गाँसिएका छन्। बारासँग भिखनाथोडी र अदापुर, रौतहटसँग सीतामढी, पर्सौनी, बेला र भैरवस्थान जोडिएका छन्। त्यस्तै, सर्लाहीसँग सोनवर्षा र बरगनिया जोडिएका छन्। यिनै बजारबाट मधेसका जिल्लाहरूमा भारतीय गाडी बढी मात्रामा आउने गरेका छन्।
भन्सार तिरेर निश्चित अवधिका लागि नेपाल प्रवेश गरेका भारतीय नम्बरका सवारीसाधनलाई कानुनत: चुनाव प्रचार वा राजनीतिक गतिविधिमा संलग्न हुने अनुमति छैन। तर, भन्सारमा शुल्क बुझाएर नेपाल छिरेपछि ती सवारीसाधन कुन काममा कसरी प्रयोग भइरहेका छन्, कसैले अनुगमन गरेको हुँदैन।
भन्सार कार्यालय जटहीका अनुसार अहिले एकै पटक सात दिनको भन्सार तिरेर भारतीय गाडी मधेस आउने क्रम बढेको छ। चुनावकै कारण यो प्रवृत्ति बढेको हो। यसअघि सात दिनको भन्सार तिरेर नेपाल आउने भारतीय सवारीको संख्या न्यून थियो। जटही भन्सारका कर्मचारी अजय साहका अनुसार धनुषामा मात्रै अहिले दैनिक करिब ५० वटाभन्दा बढी भारतीय गाडी चल्ने गरेका छन्। यसरी आउने भारतीय गाडीले भन्सार कार्यालयमा चुनावी प्रयोजनमा नेपाल आएको उल्लेख नगर्ने तर यता आएपछि चुनावमै खटिने गरेको साह बताउँछन्। साह भन्छन्, “भारतबाट यता आएका गाडीले चुनावका लागि आएको भन्दैनन्, तर काम चाहिँ चुनाव प्रचारकै गर्छन्। त्यसैले अचेल सात दिनको अग्रिम भन्सार शुल्क लिने गरिएको छ।”
चुनावकै कारण भारतबाट नेपाल आउने सवारीको संख्या पनि बढेको छ। मधेसको एउटा जिल्लामा दैनिक भारतीय नम्बर प्लेटका कम्तीमा ५० वटा स्कर्पियो चलिरहेका छन्। जिल्ला भन्सार कार्यालय धनुषाका अनुसार मधेसका आठ जिल्लामा दैनिक ४०० भारतीय गाडी भाडामा चलेका छन्। ५० वटा भारतीय गाडी नेपाली भूमिमा गुड्दा तिनले औसत प्रतिदिन दुई लाख रुपैयाँ कमाउँछन् भने आठ जिल्लामा औसत दैनिक ४०० गाडी चल्दा तिनको दैनिक कमाइ १६ लाख रुपैयाँ हाराहारी हुन्छ।

पर्सा ४ मा उम्मेदवारी दर्ता गराउन जाँदा नम्बर छोपिएको भारतीय गाडीमा नेकपा (एमाले)का उम्मेदवार जालिम मियाँ।
प्रहरीको अनदेखा
मधेसमा उम्मेदवार तथा तिनका समर्थकहरूले भारतीय नम्बर प्लेटका गाडीमा खुलेआम दलका झन्डा, ब्यानर र चुनाव चिह्न टाँसेर घरदैलो अभियान सञ्चालन गरेको देखिन्छ। तर, आठ जिल्लाका निर्वाचन कार्यालय, ट्राफिक प्रहरी, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय यो विकृतिलाई बेवास्ता गरेका छन्। भन्सार तिरेर निश्चित अवधिका लागि नेपाल प्रवेश गरेका भारतीय नम्बरका सवारीसाधनलाई कानुनत: चुनाव प्रचार वा राजनीतिक गतिविधिमा संलग्न हुने अनुमति छैन। तर, भन्सारमा शुल्क बुझाएर नेपाल छिरेपछि ती सवारीसाधन कुन काममा कसरी प्रयोग भइरहेका छन्, कसैले अनुगमन गरेको हुँदैन। त्यसैले चुनावमा भारतीय गाडीको दुरुपयोग बढेको हो।
राजनीतिक दल र उम्मेदवारले भने आचारसंहितामा तोकिएको सवारीसाधन प्रयोगसम्बन्धी व्यवस्थाको नै धज्जी उडाएका छन्। त्यसैको नतिजा हो– चुनावमा विनाअनुमति खुलेआम भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग।
धनुषा जिल्ला भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार ग्यावा भारतीय नम्बरका गाडीलाई भन्सार तिरेर नेपाल प्रवेशमा कुनै रोकावाट नभएको बताउँछन्। विगतमा भन्दा चुनावको मुखमा भारतीय गाडीको संख्या बढेको उनी जनाउँछन्। भन्छन्, “पहिले एउटा जिल्लामा दैनिक १०० वटा जति भारतीय नम्बर प्लेट भएका गाडी आउँथे, अचेल चुनावको मुखमा दैनिक २०० वटा जति आउन थालेका छन्।”
भन्सार महसुल ऐन, २०८१ मा नेपाल आउने विदेशी सवारीसाधनको प्रकारअनुसार थरीथरीको भन्सार दर तोकिएको छ। नेपालमा अस्थायी प्रवेशका लागि मोटरसाइकल वा स्कुटरका लागि दैनिक २००, तीनपांग्रे सवारीसाधनका लागि दैनिक ४०० र कार, जिप वा भ्यानका लागि दैनिक ६०० रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, बस, मिनिबस, माइक्रोबसलगायत पर्यटकीय सवारीको दैनिक ६००, ट्रेलर फिट नभएको ट्र्याक्टरको दैनिक ५००, ट्रेलर फिट भएको ट्र्याक्टर वा ट्रेलरको ८००, ट्र्याक्टरबाहेक ट्रेलर, ट्रक वा अन्य वस्तु परिवहनका साधनको प्रतिदिन एक हजार ७०० रुपैयाँ तोकिएको छ। तोकिएको शुल्क बुझाएर विदेशी सवारीसाधन नेपाल आउन सक्छन्।

डिजेरथसहित प्रचारप्रसार गर्दै जसपा नेपालका धनुषा ३ का उम्मेदवार परमेश्वर साह।
आचारसंहिताको धज्जी
निर्वाचन आचारसंहिता, २०८२ ले विदेशी नम्बर प्लेटका सवारीसाधन चुनावमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। आचारसंहिताको दफा १४ मा ‘सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण’ सम्बन्धी व्यवस्था छ। आचारसंहिताको उपदफा (क) मा निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्रमा आयोगले तोकेबमोजिम बढीमा दुई वटा दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न सकिने प्रावधान छ। त्यस्ता सवारीसाधन नचल्ने स्थानमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने भनिएको छ। तर, चुनावमा विदेशी नम्बर प्लेटका सवारीसाधन चाहिँ चलाउन पाइँदैन।
राजनीतिक दल र उम्मेदवारले भने आचारसंहितामा तोकिएको सवारीसाधन प्रयोगसम्बन्धी व्यवस्थाको नै धज्जी उडाएका छन्। त्यसैको नतिजा हो– चुनावमा विनाअनुमति खुलेआम भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग। तथापि, दल र उम्मेदवारले हाक्काहाक्की चुनावमा प्रयोग गरेका भारतीय नम्बरका गाडी र गाडी भाडामा लिने उम्मेदवारलाई कुनै कारबाही गरिएको छैन। धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरी राजनीतिक दलसँग आचारसंहिता पालनाको विषयमा छलफल भइरहेको दाबी गर्छन्। भन्छन्, “चुनाव अनुगमनको काम भइरहेको छ। निर्वाचन आचारसंहिता पालना गराउन हामी लागेका छौँ।”
सुरक्षा चुनौती नै भएका कारण मधेसका कतिपय जिल्लामा चुनाव प्रचारमा खुलेआम प्रयोग भएका भारतीय नम्बरका गाडी छिटपुट रूपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
निर्वाचन प्रचारमा खुलेआम भारतीय गाडी प्रयोग गरिरहेका राजनीतिक दलका उम्मेदवारहरू पनि आफूहरू निर्वाचन आचारसंहिता पालनामा पूर्ण प्रतिबद्ध रहेको जनाउँछन्। नेपाली कांग्रेसका तर्फबाट धनुषा ४ का उम्मेदवार महेन्द्र यादवले आफूहरूले निर्वाचन आचारसंहिता पालना गरेको दाबी गर्छन्। त्यस्तै, रास्वपाका तर्फबाट धनुषा २ का उम्मेदवार रामविनोद यादव पनि रास्वपाले विदेशी सवारीसाधने निर्वाचन प्रचारमा प्रयोग नगरेको जिकिर गर्छन्। भन्छन्, “हामीले चुनावमा भारतीय गाडी प्रयोग गरेका छैनौँ।”
चुनावी प्रचारमा खुलेआम भारतीय नम्बरका गाडी चलाइरहेको जसपा नेपालका धनुषा ३ का उम्मेदवार परमेश्वर साहसमेत आफूले चुनाव प्रचारमा विदेशी स्रोतको प्रयोग नगरेको जानकारी दिन्छन्। “कोही शुभचिन्तकहरूले कुनै भारतीय नम्बरको गाडीमा झन्डा टाँगेका होलान्। तर, हामीले चुनावमा विदेशी गाडी प्रयोग नहोस् भन्ने चाहेका छौँ,” उनी भन्छन्।
बढ्यो सुरक्षा जोखिम
निर्वाचनको मुखैमा भारतीय गाडीको बढ्दो प्रयोगले मधेसमा सुरक्षा जोखिमसमेत बढाएको छ। खुला सीमाका कारण एउटा नाकाबाट मात्रै नभएर विभिन्न बाटोबाट यता आउने भारतीय गाडी प्रदेशकै सुरक्षा चुनौती बनेका छन्। चुनाव प्रचारमा खुलेआम भारतीय गाडी बढेको तर तिनको नियन्त्रणमा कसैले चासो नदेखाएकाले चुनावी सुरक्षामा समेत प्रश्न खडा भएको छ। कतिसम्म भने मधेसका आठ जिल्लाका सुरक्षा निकायले समेत भारतीय गाडीको बढ्दो प्रयोगले सुरक्षा जोखिम बढेको भन्दै यसलाई गम्भीरताका साथ लिएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया स्पष्ट पार्छन्। उनी भन्छन्, “चुनावको मुखमा भारतबाट आउने सवारीसाधनका कारण सुरक्षा जोखिम बढेको छ। हामीले निगरानी बढाएका छौँ।”
थपलियाका अनुसार मधेसका अधिकांश सीमावर्ती प्रहरी चौकीहरूलाई सुरक्षा जाँचमा कडाइ गर्न निर्देशन दिइएको छ। उनी थप्छन्, “सुरक्षा जोखिम कहाँ कहाँ छ, त्यसको अध्ययन गरेर आवश्यक निर्देशन दिएका छौँ। थप सतर्कता र सुरक्षा बढाउने तयारी पनि गरेका छौँ।”
सुरक्षा चुनौती नै भएका कारण मधेसका कतिपय जिल्लामा चुनाव प्रचारमा खुलेआम प्रयोग भएका भारतीय नम्बरका गाडी छिटपुट रूपमा प्रहरीले नियन्त्रणमा लिएको छ। मधेस प्रदेशका प्रहरी प्रवक्ता कमल थापाका अनुसार चुनावी प्रयोजन र प्रचारमा भारतीय नम्बरको गाडी भेटिए तिनलाई नियन्त्रणमा लिने गरिएको छ। थापा भन्छन्, “चुनावमा खटिएका भारतीय गाडी नियन्त्रणमा लिइएको छ। तर, प्रहरीसँग त्यसको तथ्यांक चाहिँ छैन।”