काठमाडौँ। आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ।
निगमका अनुसार सम्भावित माग वृद्धिलाई ध्यानमा राखी देशव्यापी वितरण प्रणालीलाई सुदृढ बनाउने कदम चालिएको हो।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन मार्फत यस वर्षकै उच्च परिमाणमा ग्यास लोड भई मंगलबार नेपालतर्फ पठाइएको जानकारी दिएका छन्।
सो दिन विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास लोड भएको र उक्त परिमाण करिब १ लाख ७३ हजार ८०० घरायसी सिलिन्डर बराबर हुने निगमले स्पष्ट पारेको छ।
निगमका तथ्यांक अनुसार भारतका विभिन्न भण्डारण केन्द्रमध्ये बरौनी बाट ३६ बुलेट, मथुरा बाट ३६, पारादीप बाट ४०, दुर्गापुर बाट २४ तथा हल्दिया बाट २ बुलेट ग्यास नेपालका लागि पठाइएको हो।
कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा उपभोक्तालाई ग्यास अभावको समस्या नपरोस् भन्ने लक्ष्यसहित आयात व्यवस्थापन नियमित गरिएको उल्लेख गरे।