काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

१३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। थ्रीस्टार फुटबल क्लब पुनः ‘ए’ डिभिजन लिगमै रहने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अपिल कमिटीले गत असारमा क्लबलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने निर्णय गरेपछि थ्रीस्टारले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो। निवर्तमान अध्यक्ष अरुणमान जोशीका अनुसार न्यायाधीश श्रीधराकुमारी पुडासैनी र कृष्ण मुरारी शिवाकोटीको इजलासले बुधबार उत्प्रेषण जारी गर्दै अनुसन्धान समिति र अपिल समितिको निर्णय खारेज गरेको हो।

“हाम्रो जित भएको छ। एन्फाले मुद्दा हारेको छ। यससँगै हाम्रो क्लब ए डिभिजनमा रहने निर्णय भएको छ,” उनले नेपालन्युजसँग भने। थ्रीस्टारको ‘ए’ डिभिजनमा फर्किनु २०७९ मा लिगको अन्तिम खेलसँग जोडिएको छ। लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै रेलिगेसन टारेको थियो। त्योसँगै एपीएफ क्लबले ‘ए’ डिभिजनमा आफ्नो स्थान गुमाउनुपरेको थियो।

त्यसपछि एपीएफले केही अवैधानिक खेलाडी खेलाइएको उजुरी दायर गरे पनि अनुशासन समितिले थ्रीस्टारलाई जरिवाना लगाएर छाडेको थियो। अनुशासन समितिको निर्णयमा असहमति जनाउँदै थ्रीस्टार र एपीएफ दुवैले अपिल गरेका थिए। त्यो अपिलमाथि छानबिन गर्दै अपिल कमिटीले गत ५ असारमा अवैधानिक खेलाडी खेलाएबापत थ्रीस्टार उक्त खेलमा ३-० को नतिजामा पराजित हुने निर्णय गरेको थियो।

योसँगै ३ अंक गुमाएपछि थ्रीस्टार खुमलटारसँगै रेलिगेसनमा परेको थियो। एपीएफले भने ‘ए’ डिभिजन क्लबको हौसियत पुन: प्राप्त गरेको थियो। तर, दुई पक्षबीच भएको खेलमा खेलसँग सम्बन्धित नभएको एपीएफको उजुरीका आधारमा कारबाही गर्नु अन्यायपूर्ण व्यवहार रहेको थ्रीस्टारको जिकिर थियो।