काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई आज अपराह्नसम्म देशभरका सबै मतदान केन्द्रमा पुग्न निर्देशन दिएको छ। दुर्गम क्षेत्रमा भने केही दिनअघि नै टोली परिचालन भइसकेको छ।
प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कर्मचारीहरूले सोमबारसम्म मतदान केन्द्रको चारकिल्ला निर्धारण गरी सूचना टाँस्ने र आवश्यक तयारी पूरा गर्नुपर्नेछ। निर्वाचन सामग्री सम्बन्धित मतदान अधिकृतले सुरक्षाकर्मीको उपस्थितिमा बुझ्ने व्यवस्था गरिएको छ।
सडक सुविधा नभएका करिब ३ सय केन्द्रमा आइतबारसम्मै कर्मचारी पुगिसकेका छन् भने शहरी र तराईका केन्द्रमा पनि सोमबारसम्म सबै टोली पुग्ने आयोगको भनाइ छ।
मतदान सम्पन्न भई मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्रै खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुनेछ।




