काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

दृष्टिकोण

स्वास्थ्य, जीविका र जीवनपद्धतिसँग संवेदनशील रूपमा जोडिएको पर्यावरण र जलवायु परिवर्तनलाई राजनीतिक दलहरूले यसपालिको चुनावी अजेन्डामा पनि बेवास्ता गरेका छन्।

१८ फाल्गुन २०८२
मनाङको जंगलमा लागेको डढेलो। तस्बिर : रासस
अ+
अ-

केही दिनयता इरानसँग अमेरिका र इजरायलको लडाइँका कारण खाडी मुलुकहरू नराम्ररी प्रभावित भएका छन्। पश्चिम एसियामा भड्किएको युद्धबाट नेपालको अर्थतन्त्रमा ठूलो असर पर्नेवाला छ। वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि यूएई, साउदी अरब, कतार, कुवेतलगायका खाडी मुलुकहरूमा १७ लाख २९ हजार २८८ नेपाली छन्। विदेशबाट आउने रेमिटेन्सकै टेकोमा अर्थतन्त्र उभिएको अवस्थामा बहुसंख्यक नेपालीहरू रोजगारीमा गएका मुलुकमा संकट परे त्यसको चोटले हामीलाई पनि पिर्नेछ।

तत्काल र प्रत्यक्ष देखिने यस्तो असरबाहेक नेपालले पर्यावरणीय पाटोमा निरन्तर असर भोगिरहे पनि यसमा नीति निर्माताहरूको ध्यान गइरहेको छैन। खासगरी वायु प्रदूषण र यसको कारणले भएको जलवायु परिवर्तनबाट हाम्रो हिमाली देशले मूल्य चुकाइरहेको छ र ठूलो जोखिममा छ।

कलकारखाना, सवारीसाधन, खनिज इन्धन दहनबाट कार्बन डाइअक्साइड निस्किन्छ। यस्तै, धानबाली, डम्पिङ साइट, पशुपालनबाट मिथेन ग्यास निस्किन्छ। यी हरितगृह ग्यासले जलवायु परिवर्तन गराइरहेको छ। हरितगृह ग्यासजन्य प्रदूषणले पृथ्वीको ताप बाहिर जान नदिँदा तापक्रम बढ्नु नै जलवायु परिवर्तन हो। सवारीसाधन, इँटाभट्टा, डढेलो र फोहोर बालिँदा निस्किने धुवाँले कालो कार्बनका रूपमा तापक्रम वृद्धिमा भूमिका खेल्छ। साथै, हावामा पीएम २.५ को मात्रा अर्थात् धुलोका सूक्ष्म कण बढाउँछ, जुन मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ।

वातावरणीय असन्तुलनका असर बहुआयामिक छन्। प्रदूषणका कारण खासगरी काठमाडौँ उपत्यकाको वायु अस्वस्थ हुँदा स्वास्थ्य समस्या बढाइरहेको छ। पछिल्ला वर्षहरूमा काठमाडौँ विश्वका सबैभन्दा बढी प्रदूषित हावा भएका सहरहरूको सूचीमा पर्दै आएको छ। अर्कातिर, प्रदूषणले सिर्जना गरेको हरितगृह ग्यास उत्सर्जनका कारण तापक्रम वृद्धि हुँदा हाम्रा हिमालमा असर परिरहेको छ। हिमनदी पग्लिने गति बढेको छ भने हिमताल फुट्ने जोखिम, असामान्य वर्षा, बाढीपहिरो वृद्धिजस्ता समस्या देखिएका छन्। यही दरमा हिउँ पग्लिने हो भने भविष्यमा हाम्रा नदीहरूको अस्तित्व के होला? नदीमा आश्रित जीवन पद्धति र मानव जीवन कस्तो होला? जलवायु परिवर्तनको असरले वर्षाको चक्र खलबल्याउँदा अनिश्चित मनसुन, अतिवृष्टि र बाढी, खडेरीजस्ता घटना बढेको छ। यसबाट एकातिर प्राकृतिक विपद्, अर्कातिर कृषि उत्पादनमा ह्रास र खाद्य असुरक्षा निम्तिएको छ।

कलकारखानादेखि यातायातका साधनसम्म उल्लेख्य नभएको नेपालले प्रदूषण र जलवायु परिवर्तनको गहिरो चोट खेप्दै आएको छ। प्रत्येक वर्षको अप्रिलमा काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष दशभित्र पर्ने गरेको छ।

नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त सानो हिस्सा ओगटे पनि असर भने अत्यधिक भोगिरहेको छ। नेपालले ०.००२७ प्रतिशत मात्र कार्बन डाइअक्साइड उत्सर्जन गर्छ। विश्वमा कार्बन उत्सर्जन गर्ने शीर्ष तीन मुलुकमा चीन, अमेरिका र भारत पर्छन्। चीनले सबैभन्दा धेरै ३५ प्रतिशत कार्बन उत्सर्जन गर्छ। विश्वमा सबैभन्दा बढी कार्बन डाइअक्साइड जीवाष्म इन्धन (कोइला, पेट्रोल, डिजेल आदि) को दहनबाट उत्सर्जन हुन्छ। ठूल्ठूला कलकारखाना, आणविक भट्टी, प्रशस्त हवाईजहाज र यातायातका साधन सञ्चालनमार्फत ठूला देशहरूले गरेको कार्बन डाइअक्साइड उत्सर्जनको मूल्य नेपालजस्ता साना देशले चुकाउनुपरेको छ।

कलकारखानादेखि यातायातका साधनसम्म उल्लेख्य नभएको नेपालले प्रदूषण र जलवायु परिवर्तनको गहिरो चोट खेप्दै आएको छ। प्रत्येक वर्षको अप्रिलमा काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष दशभित्र पर्ने गरेको छ। वायु प्रदूषण र जलवायु परिवर्तनका कारण देशले बहुआयामिक असर भोगिरहे पनि आसन्न चुनावमा कुनै पनि राजनीतिक दलले पर्यावरणीय समस्यालाई अजेन्डा बनाएका छैनन्।

कार्बन व्यापारले नछेकेको असर

नेपालको कुल क्षेत्रफलको करिब ६६ लाख हेक्टर भूभाग वनक्षेत्रले ओगटेको छ। सरकारी तथ्यांकअनुसार, देशको कुल भूभागको करिब ४४.७४ प्रतिशत वनक्षेत्र छ। पछिल्लो क्रममा पहाडी भूभागको अधिकांश खेतीयोग्य जमिन बाँझो छ। ती जमिन झाडी, वनमा परिणत भएका छन्। यसबाट पनि नेपालमा वनको क्षेत्रफल बढ्दै गएको छ।

वातावरणीय हिसाबले नेपाल कार्बन डाइअक्साइड उत्सर्जन गर्नेभन्दा पनि कार्बन सञ्चित गर्ने देश हो। वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार नेपालले एक हेक्टर वनबाट १७६.९५ मेट्रिक टन कार्बन सञ्चित गर्छ। नेपालको वनक्षेत्रबाट कुल एक अर्ब १० करोड ८४ लाख ७० हजार मेट्रिक टन कार्बन सञ्चित हुने देखिन्छ। विश्व बजारमा प्रतिमेट्रिक टन कार्बन पाँच अमेरिकी डलरमा बिक्री भइरहेको छ। नेपालले एक खर्बभन्दा बढीको कार्बन व्यापार गर्न सक्ने प्रारम्भिक अनुमान छ।

विडम्बना चाहिँ, कार्बन व्यापार गर्ने देशले कार्बन उत्सर्जनका कारण वातावरणीय असरको सामना गरिरहेको छ।

सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने र कार्बन व्यापार गर्ने तथ्यले प्रष्ट पार्छ, नेपालको वातावरणीय अवस्था खराब हुनुमा नेपालको आन्तरिक कारण प्रमुख होइन। त्यसो भए प्रत्येक वर्ष काठमाडौँ संसारका प्रदूषित वायु भएका सहरको सूचीमा पर्नु, नेपालका हिमाल कालापत्थर बन्दै जानु, हिमनदी पग्लिनु, मौसममा निकै असन्तुलन हुनु, अतिवृष्टि, भूस्खलन हुनुको कारण के चैत मासमा लाग्ने डढेलो, यहाँ सञ्चालित यातायातका साधन, सीमित उद्योगबाट उत्सर्जित कार्बन डाइअक्साइड मात्र हुन् त? नेपालमा प्रदूषण कसरी हुन्छ?

नेपालमा वातावरण प्रदूषण हुनुका प्रमुख कारण भनेर वन तथा वातावरण मन्त्रालयले तथ्य सार्वजनिक गरेको छ। जसलाई आन्तरिक कारण मान्न सकिन्छ। जुन यस्ता छन् :

१. सवारीसाधनको धुवाँ : पुराना तथा मर्मत नगरेका सवारीसाधनले धेरै धुवाँ फाल्छन्। डिजेल र पेट्रोल जलाएर चल्ने सवारीसाधनबाट निस्कने धुवाँले वायुमण्डलमा प्रदूषण फैलाउँछ।

२. कलकारखाना : काठमाडौँ उपत्यका र अन्य क्षेत्रका इँटाभट्टा, कलकारखानाहरूले धुवाँ, हानिकारक ग्यास, दूषित पानी उत्सर्जन गर्छन्। यी धुवाँ र ग्यासले वायु प्रदूषण बढाउँदै मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछन्।

३. फोहोरमैला व्यवस्थापनको कमी : खुला ठाउँमा फोहोर जलाउने चलनले हानिकारक धुवाँ निस्किन्छ। फोहोर जथाभावी फालिँदा र जलाइँदा पानी, माटो र हावा दूषित बनाउँछ।

४. वन विनाश : बगैँचा, जंगल कटान र अव्यवस्थित सहरीकरणले हरियाली घटाउँछ। हरियाली कम हुँदा कार्बन डाइअक्साइडको मात्रा बढ्छ, जसले वातावरण प्रदूषित बनाउँछ।

५. निर्माण कार्यबाट निस्किने धुलो : सडक, भवन आदिको निर्माणका क्रममा निस्किने धुलोले वायु प्रदूषण बढाउँछ।

६. प्लास्टिक तथा पोलिथिन : प्लास्टिकजन्य पदार्थ खुला ठाउँमा जलाउँदा विषाक्त ग्यास निस्कन्छ।

७. ऊर्जाको असन्तुलित प्रयोग : कोइला, काठ, डिजेल जस्ता पारम्परिक इन्धनको अत्यधिक प्रयोगले प्रदूषण निम्त्याउँछ।

प्रदषणका बाह्य कारण

क) भारत

१. वायु प्रदूषण : भारतका उत्तरी राज्यहरू (उत्तर प्रदेश, बिहार, दिल्ली)मा हुने धुवाँ, औद्योगिक उत्सर्जन, फसल बाल्ने गतिविधि लगायतका कारण वायु प्रदूषण बढ्दछ। यो प्रदूषित वायु पश्चिमी वा दक्षिणी हावा बहावमार्फत नेपालका तराई क्षेत्र हुँदै काठमाडौं उपत्यका तथा अन्य स्थानमा फैलिन्छ। काठमाडौंमा कहिलेकाहीँ हावाको दिशा र मौसमको अवस्थाको कारण भारतको प्रदूषणको असर झन् बढी देखिन्छ।

२. स्वास्थ्यमा असर : प्रदूषित हावा श्वासप्रश्वास प्रणालीमा असर गर्छः दम, एलर्जी, आँखा पोल्ने, छालाको समस्या आदि। दीर्घकालीन रूपमा हृदय र श्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्न सक्छन्।

३. मौसम र जलवायुमा असर : प्रदूषणको कारण एरोसोल (हावामा फैलिएको धुलो, धुवाँ र पानीका सूक्ष्म कण) मा वृद्धि हुन्छ, जसले बादलको निर्माणमा असर पार्छ र वर्षाको चक्रमा गडबडी ल्याउँछ। नेपालमा असमान वर्षा, सुक्खा, वा असामयिक वर्षा जस्ता समस्या देखिन सक्छन्।

४. हिमाल र हिउँमा असर : कालो कार्बन नामक प्रदूषण हिमालमा जम्दा हिउँ छिटो पग्लिन्छ, जसले हिमनदी पग्लिने गति बढाउँछ र दीर्घकालीन रूपमा पानीको स्रोतमा असर पुर्‍याउँछ।

५. पारिस्थितिकी र कृषिमा असर : वायु प्रदूषणले बोटबिरुवामा असर गर्छ, जसले कृषि उत्पादन घटाउन सक्छ।

ख) चीन

चीनमा उत्सर्जित प्रदूषणले नेपालमा पार्ने प्रभाव भारतको तुलनामा थोरै भए पनि, केही विशेष अवस्थामा र मौसमी प्रवाहमा आधारित भएर असर देखिन्छ। विशेष गरी नेपालको उत्तरतर्फको हिमाली तथा पहाडी भेगहरूमा चीनतर्फबाट आएको वायु प्रदूषणको प्रभाव देखिन सक्छ।

१. वायु प्रदूषणको सीमा पार असर : चीनको तिब्बत क्षेत्र नेपालको सिमानासँग जोडिएको भए पनि त्यो क्षेत्र तुलनात्मक रूपमा औद्योगिक रूपमा कम सक्रिय छ। तर, चीनको मुख्य प्रदूषित क्षेत्र (जस्तैः सिचुवान, चोङछिङ) बाट आउने प्रदूषित हावा कहिलेकाहीँ उच्च वायु प्रवाहमार्फत नेपालसम्म आइपुग्न सक्छ।

२. कालो कार्बन र हिमाल :  चीनको औद्योगिक शहरहरूबाट उत्सर्जित कालो कार्बन वायुमार्गबाट नेपालतर्फ आइपुग्दा त्यो हिमालमा जमेर हिउँ पगाल्ने प्रक्रिया तीव्र बनाउँछ। यसले हिमनदी पग्लिने गति बढाउँछ र नेपालको जलस्रोत र वातावरणमा दीर्घकालीन असर पार्छ।

३. मौसममा असर : चीनको ठूला शहरहरूमा हुने भारी प्रदूषणले वायुमण्डलीय संघटनमा असर पार्छ, जसले नेपालमा पनि असामयिक वर्षा, तुवाँलो र असामान्य तापक्रम देखिन सक्छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा बादल गठन र सूर्यको प्रकाशमा कमी आउन सक्छ।

४. स्वास्थ्यमा प्रभाव : सीमित मात्रामा भए पनि उत्तरतिरको हावा बहावमार्फत आएको प्रदूषणले उत्तरी नेपाल (जस्तैः मुस्ताङ, मनाङ, दोलखा, हुम्ला) मा वायु गुणस्तर घटाउन सक्छ, जसले स्वास्थ्यमा असर पुर्‍याउन सक्छ। जलवायु परिवर्तन र हिमनदी पग्लनु हरितगृह ग्यास उत्सर्जन, संयुक्त राज्य अमेरिका, कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यासहरूको प्रमुख उत्सर्जकका रूपमा विश्व तातो बनाउने प्रक्रियामा योगदान पुर्‍याउँछ। जसले गर्दा नेपालसहितको हिमालय क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्।

सरकारपहल

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा १९ मंसिर २०६६ मा सगरमाथा क्षेत्रको कालापत्थरमा मन्त्रिपरिषद् बैठक गरिएको थियो। त्यसको उद्देश्य थियो, हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउनु। बैठकले १० बुँदे घोषणापत्र जारी गरेको थियो। तर उक्त बैठक विश्वकै उच्च स्थानमा भएको सरकारी बैठकको चर्चामा मात्र सीमित भयो। जबकि, त्यसका उद्देश्य जलवायु परिवर्तनको असर विश्व समुदायमा देखाउनु, जलवायु न्यायको माग गर्नु, स्थानीय जनजीवन र पारिस्थितिकीय संकटबारे आवाज उठाउनु रहेका थिए।

यूएईको दुबईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) को २८औँ संस्करणमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधित्व गरेका थिए। सम्मेलनको क्रममा प्रधानमन्त्री दाहालले जलवायु न्यायप्रति नेपालको अधिकारको जोड दिएका थिए। उनले जलवायु वित्तमा वृद्धिको माग गरे, हानि र क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए।

वर्तमान विश्व पर्यावरणीय अवस्था विस्फोट हुन तयार ज्वालामुखीको मुखमा बसेको छ, जुन कुनै पनि बेला अनिष्ट हुन सक्छ। यस्तो अवस्थामा मानव र यहाँका जीवनको त कुरै छाडौँ, पृथ्वीको आयु नै कति रहन्छ भन्न सकिँदैन।

गत जेठको १ देखि ३ गतेसम्म केपी शर्मा ओली नेतृत्वको सरकारले सगरमाथा संवाद कार्यक्रम गरेको थियो। जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने उद्देश्यले आयोजना गरिएको यो अर्को कार्यक्रम थियो। तर, कार्यक्रममा विदेशका प्रतिनिधिको उपस्थिति न्यून रह्यो। कार्यक्रममा कुनै पनि देशका राष्ट्राध्यक्षले सहभागिता जनाएनन्। जसले गर्दा निर्धारित उद्देश्य हासिल हुनेमा आशंका पैदा भयो।

यस्ता कार्यक्रमले नेपालका वातावरणीय समस्याको समाधान खोज्न सकेका छन् त? कि कर्मकाण्डमै सीमित रहने गरेका छन्?

सरकारले गरेका कार्यक्रम र कोपमा गरेका भाषणले नेपालको वातावरणीय क्षेत्रमा देखिएको संकट समाधानमा कुनै काम गरेको छैन। नेपालमा मात्र होइन विश्वभरि नै प्रभाव पारेको छैन। पहिलो कुरा त, जलवायु परिवर्तन विश्वव्यापी समस्या हो। यी समस्या ल्याउनुमा अतिधनी राष्ट्र र त्यहाँका धनी व्यक्ति र संस्थाहरूको मुख्य भूमिका छ। उनीहरूले व्यक्तिगत लाभका लागि प्रकृतिको अधिक दोहन गरे, पर्यावरणीय चक्रमै असन्तुलन ल्याइदिए। यसले गर्दा मानिसलाई मात्र नभएर पृथ्वीका सबै चर-अचरलाई संकट थोपरिदिएका छन्।

अहिले विश्वभरि नै पर्यावरणीय समस्या जटिल बनेको छ। उक्त समस्यालाई वर्तमान विश्व व्यवस्थाले समाधान गर्न सक्दैन। वर्तमान विश्व पर्यावरणीय अवस्था विस्फोट हुन तयार ज्वालामुखीको मुखमा बसेको छ, जुन कुनै पनि बेला अनिष्ट हुन सक्छ। यस्तो अवस्थामा मानव र यहाँका जीवनको त कुरै छाडौँ, पृथ्वीको आयु नै कति रहन्छ भन्न सकिँदैन।

अहिलेको चुनावमा राजनीतिक दलहरूले जनजीविका र पर्यावरणका सवाललाई अजेन्डा बनाएका छैनन्। उनीहरूको चुनावी घोषणापत्रमा विकास र समृद्धिका महत्त्वाकांक्षी कुरा मात्र छन्। चुनावका बेला पर्यावरणको मुद्दा उठाएपछि विश्वका अतिविकसित राष्ट्र बेखुस हुने भयका कारण उनीहरू हच्किएका हुन् कि!