खिचिक्क
तोकिएको चेकपोस्टमा रोकेर मोटरसाइकलसहित अन्य सवारीसाधनको नियमित जाँच
काठमाडौँ। निर्वाचनलाई लक्ष्य गर्दै प्रहरीले पुल्चोक क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेको छ।
प्रहरीका अनुसार साँझको समयमा सवारीसाधन रोकेर कागजात, परिचय खुल्ने प्रमाणको जाँच तथा शंकास्पद गतिविधिप्रति निगरानी बढाइएको हो।
शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न मुख्य चोक तथा व्यस्त मार्गहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएका छन्।
मोटरसाइकलसहित अन्य सवारीसाधनलाई तोकिएको चेकपोस्टमा रोकेर नियमित जाँच गरिँदै छ। निर्वाचन नजिकिँदै जाँदा उपत्यकाका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप विस्तार गरिएको छ।
मुख्य चोक, व्यस्त सडक, पुल्चोक, थापाथली, जावलाखेल, कुपन्डोललगायत क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालित छन्। मुलुकभर एकीकृत सुरक्षा योजनाअनुसार प्रहरी, सशस्त्र प्रहरी, सेना र निर्वाचन प्रहरीको संयुक्त परिचालन भइरहेको छ। प्रहरीले यात्रुलाई सहयोगी बन्न आग्रह गरेको छ।
२१ फागुनमा हुने निर्वाचनमा प्रत्यक्षतर्फ १६५ क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान हुँदै छ। निर्वाचन आयोगले स्वच्छ तथा विश्वसनीय मतदान सुनिश्चित गर्न विभिन्न सुरक्षा उपायहरू अपनाएको छ।
हेर्नुहोस् सवारीसाधनको जाँच गरिरहेका थप तस्बिर :





