जनकपुर। निर्वाचन आयोगले धनुषा १ का उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरेको छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका थिए।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको धनुषा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बरालले नेपालन्युजलाई जानकारी दिए।
कर्जा सूचना केन्द्रको विवरणअनुसार कमल निर्माण सेवा प्रालिका सेयरधनी रहेका किशोरी कालोसूचीमा देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीशले जानकारी दिइन्। उनले भनिन्‚ “उम्मेदवारी खारेज गर्ने निर्णय भएको छ।” उनका अनुसार आयोगको निर्णय धनुषा निर्वाचन क्षेत्र १ का निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइएको छ।
प्रदेश सभाको पहिलो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित किशोरी गत प्रतिनिधिसभा निर्वाचनमा पार्टी परिवर्तन गरेर जनमत पार्टीबाट उम्मेदवार बनेका थिए। यस निर्वाचनमा भने उनी रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका थिए। निर्वाचनसम्बन्धी प्रचलित कानुनअनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार बन्न अयोग्य ठहरिने व्यवस्था छ। सोही आधारमा साहको उम्मेदवारी खारेज गरिएको आयोगको भनाइ छ। निर्माण व्यवासायी रहेका साह यस क्षेत्रमा विभिन्न सडकहरू अधुरो र पुलहरूसमेत अधुरो छाडेका थिए।
कर्जा सूचना केन्द्रको चेक बाउन्स र निर्माण सेवाको कालोसूचीमा रहेको तथ्य बाहिरिएसँगै उनको उम्मेदवारी खारेज भएको हो। कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका सेयरधनी रहेका किशोरी २०८० वैशाखदेखि कालोसूचीमा देखिएका छन्। विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेकाहरूको विवरणमा उल्लेख थियो।

केन्द्रको ५ फागुनसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार कमला निर्माण सेवा प्रालिका सेयर होल्डर किशोरीको नाम चार ठाउँमा छ। यो सूचीमा उनकी पत्नी अंजिला साह र किशोरी साह कमलको संयुक्त नाम कालोसूचीमा देखिएको थियो।
क्रम संख्या ३८६३५ र कालोसूची नम्बर ६४२४५ मा उनी कालोसूचीमा परेका छन्। उनको नाम निरन्तर कालोसूचीमा रहेको पाइएको छ। १७ असोज २०८० मा कमल निर्माण सेवाका तर्फबाट उम्मेदवार किशोरी साह कमल र सन्जितकुमार साहको नाम उल्लेख छ। त्यसपछि क्रम संख्या ५२७४६, ५२७५० को कालोसूची नम्बर क्रमशः ८६३९१ र ८६३९६ मा परेका छन्।
२१ असोज २०८० मा कमल निर्माण सेवा प्रालिबाट किशोरी र राजकिशोर महासेठको नाम उल्लेख छ। क्रमसंख्या ५३१०४ मा कालोसूची नम्बर ८६९३० मा कालोसूचीमा परेका छन्।
धनुषा १ मा नेपाली कांग्रेसबाट रामपल्टन साह‚ नेकपा एमालेबाट रामचन्द्र मण्डल‚ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृकाप्रसाद यादव उम्मेदवार छन्।