काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१९ फाल्गुन २०८२
उपत्यकामा सुरक्षाका लागि खटिएका निर्वाचन प्रहरी। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचनविरोधी काम गरेको, मतदाता भ्रमित पार्ने गतिविधि गरेको, आचारसंहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार देशैभरबाट ३२ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा निर्वाचन प्रदेशगत विवरणअनुसार मधेस प्रदेशबाट चार, बागमती प्रदेशबाट चार, गण्डकी प्रदेशबाट एक, लुम्बिनी प्रदेशबाट चार, कर्णाली प्रदेशबाट दुई र सुदूरपश्चिम प्रदेशबाट एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकाबाट १६ जना नियन्त्रणमा लिइएको छ। कोसी प्रदेशबाट भने अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।

पक्राउ परेकामध्ये १७ जना छुटेका र १५ जनामाथि प्रचलित कानुनी व्यवस्थाबमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाइएको काफ्लेले जानकारी दिए।

निर्वाचनसम्बन्धी साइबर निगरानीलाई प्रभावकारी बनाउन केन्द्रीय संयन्त्रअन्तर्गत प्रदेशगत साइबर एकाइहरू परिचालन गरिएको छ।

बर्दियाबाट एकजना पक्राउ

यसैगरी बर्दियाबाट प्रहरीले निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मधुवन नगरपालिका ६ का ३७ वर्षीय केशरसिंह विक लावडलाई पक्राउ गरेको छ। उनलाई सानोश्री बसपार्कबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।