काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

मध्यरात १२ बजेसम्म मतदान गन्तव्यमा फर्किसक्न सरकारको आग्रह

२० फाल्गुन २०८२
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्न काठमाडौँबाट घर फर्किँदै मतदाताहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

आफूले मन पराएका उम्मेदवार र पार्टीलाई मत खसाल्न भक्तपुरका सानुकाजी थापा सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका-६ टिमुरेमा रहेको पुर्ख्यौली घर पुगिसकेका छन्। दसैँतिहारलगायत चाडपर्व पनि उपत्यकामै मनाउने उनी मताधिकार प्रयोग गर्न भने सपरिवारै गाउँ पुगेका हुन्। “मलाई लाग्छ, चुनाव देश र जनताको हितमा काम गर्ने सही मान्छे चुन्ने ठूलो उत्सव हो,” उनी भन्छन्, “त्यसैले दसैँतिहारमा नआए पनि चुनावमा भने म गाउँ नै आउने गर्छु।”

२० वर्ष शिक्षण पेसामा आबद्ध थापा अवकाशका लागि केही वर्ष बाँकी छँदै राजीनामा दिएर सामाजिक कार्यमा सक्रिय छन्। राजनीति र दलहरूसँग बढ्दो नैराश्यबीच लोकतान्त्रिक प्रक्रियाप्रति माहोल बनाउनसमेत आफू गाउँ फर्केको बताउने ५७ वर्षीय थापा थप्छन्, “काम गर्ने मान्छे चुनेर मतको सदुपयोग गर्नुपर्छ भनेर अरूलाई जगाउन पनि परिवारका हामी पाँचै भोटर गाउँ आयौँ।”

साथीभाइसँग चुनावी छलफल गर्दै सानुकाजी थापा(दायाँबाट पहिलो)। तस्बिर : दिनेश थापाको फेसबुक

थापाजस्तै २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न अघिल्लो दिनसम्म पनि काठमाडौँबाट गृहजिल्ला फर्किने क्रम जारी छ। १ फागुनदेखि २० फागुन बिहानसम्म साढे आठ लाख नागरिकले उपत्यका छोडेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी बताउँछन्। “उपत्यका आसपासका जिल्लामा भने अहिले पनि घर फर्कने क्रम जारी छ। कुल संख्या भने योभन्दा बढी हुन सक्छ,” उनी भन्छन्।

मतदाता घर फर्किएसँगै गाउँमा चुनावी रौनक छाएको छ। मताधिकार प्रयोग गर्नुपर्छ भन्ने चेतना बढेकाले पनि जिल्ला फर्कनेको दर उत्साहपूर्ण रहेको सुनसरी, बराहक्षेत्रस्थित आदर्श माविका शिक्षक उदय ठटाल बताउँछन्। “पहिलेका निर्वाचनमा नआउनेहरू पनि यसपटक उत्साहका साथ भोट हाल्न गाउँ आएको देखेँ,” उनी भन्छन्, “हरेक मतदाताको भोट निर्णायक हुने जानेर पनि होला, सहरबजार बस्नेहरू भोट हाल्न थातथलो फर्केका छन्।”

गाउँ फर्किँदै मतदाता। तस्बिर : नेपाल फोटो लाइब्रेरी

मतदानका लागि उल्लेख्य नागरिक बाहिरिएपछि उपत्यकाका सडक सुनसान भएका छन्। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सरकारले बुधबार राति १२ बजेबाट अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। त्यसैले १२ बजेअघि नै मतदान गन्तव्यमा पुगिसक्न सरकारले आग्रह गरेको छ।

निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ कुल मतदाता छन्, जसमध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० जना छन्। उपत्यकाबाहिर मात्र एक करोड ७७ लाख १८ हजार ३१५ मतदाता छन्। जसमा पुरुष ९० लाख ८१ हजार ३१७, महिला ८६ लाख ३६ हजार ८१० र अन्य १८८ जना छन्। देशैभरि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्रको व्यवस्था गरिएको आयोगले जनाएको छ।