काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्यको मतदान हुने दिन भोलि (बिहीबार) मौसम सफा रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी नपर्ने प्रक्षेपण गरेको हो। महाशाखाले बुलेटिन जारी गर्दै बिहीबार मौसम सफा रहने जनाएको छ। मतदानका दिनमा वर्षा वा हिमपातको सम्भावना नरहेको महाशाखाको भनाइ छ।

महाशाखाले यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको उल्लेख गरेको छ।

निर्वाचन विशेष बुलेटिन अद्यावधिक गर्दै महाशाले निर्वाचनको दिन हिमाली, पहाडी तथा तराईका भूभागमा बादल लागे पनि पानी नपर्ने जनाएको हो।

महाशाखाका अनुसार निर्वाचनका दिन कोसीको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। पहाडमा पनि आंशिक बादल लाग्नेछ भने तराईमा मौसम सफा रहने अनुमान गरेको छ। मधेसको मौसम पनि सफा रहनेछ।

बागमती‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बदली र अन्यत्र मौसम सफा रहनेछ।

गण्डकीको हिमाली र पहाडी भेग तथा लुम्बिनीका पहाडी भेकमा कतैकतै बादल लाग्ने महाशाखाले पूर्वानुमान गरेको छ।

समग्रमा निर्वाचन अवधिभर ठुलो वर्षा वा भारी हिमपातको जोखिम नरहेकाले मतदानका लागि मौसम अनुकूल देखिन्छ । पहाडी र हिमाली भेगका मतदातालाई स्थानीय मौसममा हुन सक्ने सामान्य हेरफेर र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले निर्वाचनको समयमा मौसमको निरन्तर अनुगमन र विश्लेषण गरिरहेको र आवश्यक परे बुलेटिन अद्यावधिक गर्नेसमेत जानकारी दिएको छ ।

“महाशाखाले निर्वाचनको समयको निरन्तर अनुगमन र विश्लेषण गरिरहेको छ। सोहीअनुसार यो बुलेटिन नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ‚” महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ।