काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

कोसीमा निर्वाचन तयारी

निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै निर्धक्क भई मतदान गर्न मतदातालाई प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालको अपिल

२० फाल्गुन २०८२
विराटनगर ११ जनपथ स्कुलभित्र तयार बनाएको मतदानस्थल। तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोसी प्रदेशमा सबै तयारी पूरा भएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रको निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका प्राविधिक र व्यवस्थापकीय कार्य पूरा भएको हो। अधिकांश केन्द्रमा भौतिक व्यवस्थापन भइसकेको र बाँकी सामान्य काम बुधबार साँझसम्म टुंगिने प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए।

निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन्। दंगालले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै निर्धक्क भई मतदान गर्न मतदातालाई अपिलसमेत गरेका छन्।

विराटनगर ११ जनपथ स्कुलभित्र तयार गरिएको मतदानस्थल।

सुरक्षाको प्रबन्ध कडा : ३५ हजार प्रहरी परिचालन

निर्वाचनलाई भयरहित बनाउन कोसी प्रदेशमा विशेष सुरक्षा रणनीति अपनाइएको छ। प्रदेशभर १२ हजार नेपाल प्रहरी र २३ हजार म्यादी प्रहरी गरी कुल ३५ हजार जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन्। कुल एक हजार ९०७ मतदानस्थलमध्ये ४३९ लाई ‘अति संवेदनशील’ र ८२१ लाई ‘संवेदनशील’ सूचीमा राखेर सुरक्षा कडा पारिएको छ।

यी ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

झापा ५ लाई प्रहरीले ‘हाई-प्रोफाइल’ संवेदनशीलताको सूचीमा राखेको छ। यस क्षेत्रमा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै थप १०० जनाको विशेष टोली परिचालन गरिएको छ।

सुरक्षामा खटिएका प्रहरी। फाइल तस्बिर

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे भन्छन्, “हामीले सम्भावित जोखिमको विश्लेषण गरी सुरक्षा घेरा मजबुत बनाएका छौँ। हाल स्थिति पूर्ण नियन्त्रणमा छ। मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरिएको छ।”

झापा ५ मा राष्ट्रिय-अन्तर्राष्ट्रिय ध्यान छ। उनी भन्छन्, “त्यहाँको सम्भावित तनावलाई आकलन गरेर हामीले विशेष सतर्कता अपनाएका छौँ। हाल त्यहाँको स्थिति पूर्ण नियन्त्रणमा छ।”

डिजिटल चुनौती रोक्न ‘साइबर डेस्क’

यस पटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीका रूपमा लिएको छ। “सामाजिक सञ्जालमार्फत एकैछिनमा माहोल बिगार्ने प्रयास हुन सक्छ,” डीआईजी घिमिरे भन्छन्, “त्यसैले हामीले प्रदेशस्तरमै साइबर डेस्क स्थापना गरेर डिजिटल गतिविधिबारे सूक्ष्म निगरानी गरिरहेका छौँ।” डीआईजी घिमिरे सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा घेरा मजबुत बनाइएको दाबी गर्छन्। “उम्मेदवारी दर्ताका दिन झापामा देखिएको सामान्य तनावबाहेक अन्यत्र कुनै गम्भीर घटना भएको छैन,” उनले भने, “समग्रमा सुरक्षा अवस्था सन्तोषजनक छ। मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरेका छौँ।”

सुरक्षामा खटिएका प्रहरी। फाइल तस्बिर

प्रहरीले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखेको जनाएको छ।

संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङलगायत जिल्लामा प्राकृतिक चुनौती बढी हुने देखिएको छ। “हिमपात, वर्षा र चिसो मौसमका कारण यातायात अवरुद्ध हुन सक्छ। केही स्थानमा सञ्चार सम्पर्क नै नहुने अवस्था छ, जसका लागि स्याटेलाइट फोनको व्यवस्था गरिएको छ। दुर्गम क्षेत्रमा निर्वाचन सामग्री ढुवानी गर्न हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ,” डीआईजी घिमिरे भन्छन्।

मतदानस्थलभित्र कर्मचारीहरू।

कोसी प्रदेशको भारतसँग ४२७ किलोमिटर र चीनसँग २५८ किलोमिटर सिमाना जोडिएको छ। सीमाक्षेत्र सुरक्षाका लागि झापा, सुनसरी र मोरङमा भारतीय सुरक्षा निकायसँग काउन्टर-पार्ट बैठक सम्पन्न गरिएको प्रहरीले जनाएको छ।

यो पनि…

नतिजा आउन कति समय लाग्ला?

कोसी प्रदेशमा ४९५ जना उम्मेदवार छन्। २८ निर्वाचन क्षेत्र रहेको कोसीमा कुल मतदाता ३५ लाख ७४ हजार ३१० छन्। त्यहाँ चार हजार २७० मतदान केन्द्रको व्यवस्था गरिएको छ।

मतदानस्थलबाहिर सुरक्षामा खटिएका सुरक्षाकर्मी।