पोखरा। प्रतिनिधिसभाका सदस्यका लागि भोलि (बिहीबार) देशभर मतदान हुँदै छ।
गण्डकीबाट १८ सिटमा २४७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। २०७९ सालको निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले गण्डकीबाट १० सिट जित्दा तत्कालीन नेकपा माओवादी केन्द्रले जम्मा दुई सिट हात पारेको थियो।
नेकपा एमालेले पाँच सिट जितेको थियो। यस प्रदेशबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी बागलुङ १ मा प्रतिनिधिसभाका सांसद निर्वाचित भएका थिए।
पाँचवर्षे समयवधि नपुग्दै हुन गइरहेको यो निर्वाचन विशेष छ। यसपटक ठुला भनिएका दलको विरासत भत्काउने होडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फरक ढंगले निर्वाचनमा छ। यसअघिको निर्वाचनमा गण्डकीका सबैजसो निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार उठे पनि जित हासिल गरेका थिएनन्। यद्यपि रास्वपाले पहिलोपटकको निर्वाचनमा समानुपातिकतर्फ उल्लेख्य मत ल्याएको थियो।
प्रदेशबाट समानुपातिकतर्फ एमालेले तीन लाख २४ हजार ८८२ मत ल्याउँदा दोस्रोमा कांग्रेसले तीन लाख १२ हजार ७२० ल्याएको थियो भने रास्वपाले एक लाख ७७ हजार २५ मत ल्याएर तेस्रो बनेको थियो।
मैदानमा ३५ हजार सुरक्षाकर्मी, ‘हाई प्रोफाइल’ क्षेत्रमा उच्च सतर्कता
यसपटक पनि गण्डकीमा रास्वपाबाट स्वर्णिम वाग्ले, एमालेका महासचिव पृथ्वीसुब्बा गुरुङजस्ता हेभिवेट नेता चुनावी मैदानमा छन्। पूर्वशिक्षामन्त्री महावीर पुन म्याग्दीको एकमात्र निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार छन्। केही निर्वाचनमा क्षेत्रमा यसअघि हारेका उम्मेदवार पुनः चुनावी मैदानमा छन्। सांसद बनिसकेका अनुहार पनि दोहोरिएर उम्मेदवार बनेका छन्।
एमालेले विवादित छवि भएका मिलन गुरुङ (चक्रे मिलन) लाई गोरखा २ बाट उम्मेदवार बनाएको छ। जेन-जी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङ रास्वपाका तर्फबाट लमजुङ १ मा उम्मेदवार छन्। यसअघिको निर्वाचनमा यस क्षेत्रबाट पृथ्वी सुब्बा गुरुङ ३४ हजार ९८५ मत ल्याएर निर्वाचित भएका थिए।
गण्डकीका अहिले चर्चित निर्वाचन क्षेत्र लमजुङ र म्याग्दीबाहेक सबैलाई चासो बनेको अर्को क्षेत्र हो तनहुँ। जुन क्षेत्रबाट २०८० को उपनिर्वाचनमा रास्वपका स्वर्णिम वाग्ले ३४ हजार ९१९ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दप्रसाद भट्टराईले २० हजार १२२ मत ल्याएका थिए। अहिलेको निर्वाचनमा पनि यी दुवै उम्मेदवार आमनेसामने भएका छ। एमालेबाट यस क्षेत्रमा राष्ट्रिय सभाका पूर्वसदस्य भगवती न्यौपाने प्रतिस्पर्धामा छिन्।
गण्डकी प्रदेशमा कुल मतदाता १८ लाख ७० हजार ६५ छ। जसमध्ये महिला नौ लाख ५५ हजार ५१६ छन् भने पुरुष मतदाता नौ लाख १४ हजार ५३५ छन्। गण्डकीमा अन्य मतदाता १४ छन्। गण्डकीका ११ जिल्लामा मतदानका लागि एक हजार २८३ मतदानस्थल छन्।