काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका छन्।
गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनसम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो।
यो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ। निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ। यसले घटना र निर्वाचनविरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदानस्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ।
मतदानस्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्न इलेक्सन म्यानेजमेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षता तथा गृहमन्त्रीको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका सबै प्रमुख, गृह मन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा कार्कीले सूचना प्रणालीबारे जानकारी दिएका थिए। उनका अनुसार मतदानस्थलमा मतपेटिका पुगे/नपुगे, मतदान प्रक्रिया सुरु भएन/भएको तथा मतदान रोकिएको लगायत मतगणनाको अवस्थादेखि विजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुनेछ।
यो पनि…
केन्द्रीय सुरक्षा समितिको निष्कर्ष- निर्वाचन सुरक्षा तयारी पूरा भयो
अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबैको उपस्थिति थियो। यो केन्द्रमा ४१ वटा रियलटाइम भिडियो क्यामेरा जडान गरिएको छ। जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमन गरिन्छ।
त्यस अवसरमा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठुलो फड्को मारेको प्रतिक्रिया दिए। यो प्रणालीले निर्वाचनलाई महत्त्वपूर्ण सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। अर्यालले प्रविधिमा सबै अपडेट हुन आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए।
सूचना प्रणालीमार्फत निर्वाचनसम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रूपमा मनिटरिङ गर्न सकिन्छ।
मतदान केन्द्र‚ प्रदेश कमान्ड पोस्ट र जिल्ला सुरक्षा समितिबाट निर्वाचनका हरेक गतिविधिको मनिटरिङ गर्न सूचना प्रणालीको विकास गरिएको हो। मोबाइल टिम, सीसीक्यामेराबाट लाइभ मनिटरिङ गर्न सकिन्छ।
साथै गृहमन्त्री अर्यालले सात प्रदेशका लागि कार्यरत सुरक्षाकर्मीको डेस्कको पनि जानकारी लिएका थिए।