काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा मतदान गर्दै । तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका हुन्।

उनले आफू सर्लाही ४ को उम्मेदवार हुँदै गर्दा मधेसमा गएर आफूलाई राजनीतिक पूर्णता पाएको समेत बताएका छन्। पहाड र काठमाडौँबारे जानेको भए पनि मधेसबारे सिक्ने अवसर सर्लाही ४ ले नै दिएको बताए।

उनले त्यहाँको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरु पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए।

सभापति थापाले भने, “त्यसलाई त बाहिर बाहिरबाट हेरिन्थ्यो नि त अहिले त बस्तीमा गइयो हेरियो उनीहरूसँग बसियो। सर्लाही ४ ले मलाई राजनीतिक पूर्णता दियो।”

उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए। उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न ससकेको पाठ त्यहीँ गएरमात्र सिकेको बताए।

उनले सरकारमा बस्दै गर्दा अरुको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए। उनले भने, “अर्बौं पैसा लागोस्। बरु मन्त्रालय काटौँ। मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो।”

उनले उम्मेदवार मात्रै हुँदा र प्रधानमन्त्री हुँदाको जिम्मेवारीबोधबारे छोटो प्रतिक्रिया दिए‚ “मजा आउँदो रहेछ।”

मतदान गरेपछि गगन थापाले भने, “मैतीदेवीको मतदान केन्द्रमा मतदान गर्दा प्रतिनिधिसभाको पहिलो निर्वाचनमा सुप्रभा घिमिरे दिदीलाई मत गरेको थिएँ। त्यसपछि निरन्तर उम्मेदवार म आफैँ थिएँ। मेरो मत आज साँझ मेरा लागि गणना हुँदैन। यो मेरो लागि नयाँ अनुभव भयो। मलाई के कुरामा खुसी लागेको छ भने जसरी मलाई यो ठाउँमा एउटा युवा हुँदै गर्दाखेरि यहाँका मेरा अभिभावकहरूले, मेरा साथीभाइहरूले बडो मायाका साथ मलाई एउटा काम गर्ने जिम्मेवारी दिनुभयो। आज मैले अलि माथिल्लो उमेरमा गइसकेपछि मैले त्यो बेलाको मेरै उमेरको सचिन तिमल्सेनालाई आज मेरो मताधिकार प्रयोग गरेर हिजो मैले काम गर्ने जिम्मेवारी पाएको जस्तै गरी जिम्मेवारीमा पुग्ने गरी त्यो अधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको छ।”

सर्लाही ४ को दुईवटा मतदान केन्द्रमा सामान्य झडप भएको भन्ने प्रसंगमा उनले भने, “दुईवटा मतदान केन्द्रमा सामान्य तनावको स्थिति भएको रहेछ। उहाँहरू तुरुन्तै बसेर छलफल भइसक्यो भन्नुभएको छ। मैले प्रशासनको साथीहरूलाई पनि हिजो भनेको छु योभन्दा अगाडि यो निर्वाचन क्षेत्रमा जस्तोसुकै ट्रयाक रेकर्ड भए पनि योपटक निर्वाचनको दिनसम्म आइपुग्दा कुनै पनि घटना भएको छैन। सबै जनाले भन्नुभएको छ पहिलोपटक तपाई यहाँ आइसकेपछि एकदमै सभ्य ढंगले प्रचार भएको छ। प्रोभोक गर्ने कोसिस नभएको होइन बेलाबेलामा प्रोभोक गर्ने कोसिस गर्नुभयो। मैले प्रोभोक हुनुहुँदैन भन्दै आएँ। आज पनि म त्यो हुन दिन्न। मलाई के विश्वास छ भने अलिअलि तनावको स्थिति भयो भने त्यसलाई सम्हाल्छौँ। किनकि नेपाली कांग्रेस पार्टी त्यहाँको मूल पार्टी हो। हामीले त्यो घटना हुन नदिने कुरामा हाम्रो भूमिका हुनुपर्छ हामी गर्छौँ।”

उनले मधेस गएर धेरै सिकेकोसमेत बताए। सभापति थापाले भने, “मलाई आफूलाई फराकिलो बनाउन मधेस जानुपर्ने थियो। अहिले गइसके पछाडि गएको १०-१२ दिनमा मैले के कुरा महसुस गरेँ भनेदेखि मलाई काठमाडौँबाट यत्रो वर्ष राजनीति गर्दै गर्दाखेरी मलाई मधेसबारे जुन ज्ञान छ जानकारी छ भन्ने थियो मलाई त केही प्रतिशत मात्र रहेछ। त्योभित्रको समाजको विविधता, त्यहाँभित्रको समस्या, संरचना, त्यहाँभित्रको यति धेरै कुरा। अहिले मैले ती सबै कुरा बुझेर त्यसको प्रतिनिधित्व गर्न पाउने अवसर गर्दै गर्दा मैलै राष्ट्रका लागि निर्वाह गर्ने भूमिका अझ बढी छ।”