जनकपुरधाम। मधेस प्रदेशको रौतहट जिल्लामा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। महिला मतदाताहरूमा मतदान प्रतिनिधिको उत्साह देखिएको छ।
दिउँसो १ बजे सम्ममा जिल्लाका ४ वटै क्षेत्रमा गरी ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए। रौतहटका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण निर्वाचनमा भइ रहेको छ।
जिल्लामा २७७ मतदान स्थल अन्तर्गत ५४१ मतदान केन्द्र तोकिएको छ। २७७ मतदान स्थल मध्ये १५२ अतिसंवेदनशीलको सूचीमा रहेको छ।
रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता छन्।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रत्येक मतदान स्थलको वरपर नियमित गस्तीको व्यवस्था गरिएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार हरेक मतदान स्थलमा करिब ५ देखि १० मिनेटको अन्तरालमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली गस्ती गरिरहेको छ।
हालसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए। त्यसैगरी सिराहा जिल्लामा ४० देखि ४५ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी राजन श्रीवास्तवले अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको जानकारी दिए।