प्रतिनिधिसभा निर्वाचन
डेढ वर्षअघि रास्वपा प्रवेश गरेका सापकोटाले तोडे सुर्खेत २ मा कायम कांग्रेस-एमालेको विरासत
सुर्खेत। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवारी दर्ता गर्ने दिन ६ माघमा सुर्खेतका दुई वटै क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)को उम्मेदवारीलाई विशेष रूपमा हेरिएको थियो।
जित-हारको दृष्टिकोणबाट समेत नेता र कार्यकर्ताको सामान्य नजर यिनै दुई दलमा थियो। विगतका चुनावी परिणामहरूलाई मात्र आकलन गर्दा सुर्खेतमा यिनै दुई दलबीच प्रतिस्पर्धा देखिनु सामान्य थियो। यद्यपि, सुर्खेत २ को यसपालिको निर्वाचनको मतपरिणाम भने अनपेक्षित निस्कियो। विगतका मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेको बिरासत ढालेर राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा फराकिलो मतान्तरले विजयी भए।
६ माघमा उम्मेदवारी दिँदा सापकोटालाई कांग्रेस-एमालेपछिको मतका हिसाबले तेस्रो प्रतिस्पर्धीका रूपमा आकलन गरिएको थियो। मतगणना सुरु भएको केही घण्टापछि झिनो अग्रता लिएका उनले अन्तिमसम्म भने फराकिलो अग्रता कायमै राखे। सुर्खेतको पश्चिम क्षेत्रका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकाको मतगणना हुँदा उनको पक्षमा जित सुनिश्चित हुने गरी मत भने आएको थिएन।
वीरेन्द्रनगर नगरपालिकाको मतगणना सुरु भइसकेपछि भने कांग्रेस र एमालेका उम्मेदवारसँग सापकोटाको मतान्तर फराकिलो बन्दै गयो।
अन्तिममा उनी १४ हजार ४३४ मतान्तरले विजयी घोषणा भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३९२ मत पाए। नेकपा (एमाले)का कुलमणि देवकोटाले १३ हजार १५५ मत पाए। नेकपाका झकबहादुर मल्लले चार हजार ५८७ मत पाए। रास्वपाबाट कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्येमा हालसम्म निर्वाचित हुने एक मात्र उम्मेदवार पनि सापकोटा नै हुन्। सल्यानबाहेक अन्य क्षेत्रमा रास्वपा दोस्रो स्थानमा समेत आएन।
प्रतिनिधिसभा सदस्यमा आफ्नो जितलाई उनी जनताले खोजेको परिवर्तनका रूपमा बुझेका छन्। विगतमा पुराना पार्टीहरूको आफूले भनेकै ठाउँमा मतदाताले मत हाल्छन् भन्ने भाष्य अहिले सुर्खेतका मतदाताले अन्त्य गरेको उनी बताउँछन्। “यो मलाई पार्टीले गरेको विश्वास नेता-कार्यकर्ताको मिहिनेतको फल पनि हो,” सापकोटा भन्छन्, “त्योभन्दा पनि ठूलो कुरा जनताले चाहेको परिवर्तनका रूपमा मेरो जितलाई लिनुपर्छ, मतदाताले परिवर्तनका लागि नयाँ दललाई गरेको विश्वास अतुलनीय छ।”
सुर्खेत मात्र नभएर कर्णालीमै अनपेक्षित जित निकालेका सापकोटा तिनै व्यक्ति हुन्,जो करिब डेढ वर्षअघि कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। देशमा यति छिटै विद्रोह हुन्छ र चुनावको वातावरण बन्छ भन्ने भेउ नपाएरै रास्वपाले देशभर आफ्नो संगठन संरचना विस्तार गरिरहेको बेला सापकोटा सुर्खेत जिल्लाको सभापति बनेर रास्वपामा सम्मिलित भएका थिए। उनी पार्टी प्रवेश गरेको एक वर्ष नपुग्दै देशमा जेन-जी विद्रोह भयो र चुनावको परिस्थिति निम्तियो। उनले पार्टीमा प्रदर्शन गरेको क्षमताको मूल्यांकन गरेर रास्वपाले टिकट पनि दियो।
अहिले पनि रास्वपाको सुर्खेत जिल्ला सभापति रहेका सापकोटा त्यताअघि कांग्रेसको वीरेन्द्रनगर नगर समिति सचिव थिए। त्यतिबेला उनी विशेषगरी कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको लाइनमा उभिन्थे।
आफ्नो क्षेत्रका कांग्रेसका नेतृत्वकर्ताको व्यवहारप्रति उनले केही समय पार्टीभित्रै रहेर असन्तुष्टि जनाइरहेका थिए। कर्णालीका ठूला यातायात व्यवसायीमध्येका एक सापकोटा कांग्रेसमा हुँदा नेतृत्वले अन्य पार्टीका यातायात व्यवसायीको कुरा सुनेर आफूलाई पेलानमा राखेको गुनासो गर्थे। आखिर नेतृत्वले आफ्नो गुनासो सुनुवाइ नगरेको महसुस गरेर उनी पार्टी परित्याग गर्नेसम्मको निर्णयमा पुगे।
यो पनि…
यद्यपि सापकोटा आफैँले कांग्रेसबाट असन्तुष्ट भएर पार्टी छोडेको स्विकार्दैनन्। “मैले मेरो अहिलेको पार्टी परिवर्तनशील छ, यसले देशमा धेरै कुरा नयाँ परिवर्तन गर्न सक्छ भन्ने ठानेर आएको हो। विद्रोह गरी निस्किएको भन्न मिल्दैन,” उनी भन्छन्, “यहाँ नेतृत्वको दबाब सहनुपर्दैन। जनताका लागि काम गर्न सकिन्छ भन्ने पनि महसुस भएर प्रवेश गरेको हो।”
प्रतिनिधिसभा सदस्यमा निर्वाचित सापकोटा यातायात क्षेत्रका कर्णालीका हस्तीमध्येका एक पनि हुन्। सुर्खेत कांक्रेविहार यातायात प्रालिका अध्यक्षसमेत रहेका सापकोटाले कुनै बेला सुर्खेत संयुक्त यातायात सेवाको पनि नेतृत्व गरे। जतिबेला सुर्खेतमा यातायात व्यवसायीको सिन्डिकेट उग्र थियो, त्यहीबेला उनले संयुक्त यातायात प्रणालीको अवधारणामा काम गरे। सबै व्यवसायीलाई एकै ठाउँमा राखेर उनले सार्वजनिक यातायात सेवा सञ्चालनलाई निरन्तरता दिए। त्यतिखेर यस क्षेत्रमा यातायात क्षेत्रको सिन्डिकेट र दादागिरी एक किसिमले अन्त्य नै भएको थियो। तर, यो अवस्था दिगो रहन सकेन। अहिले संयुक्त यातायात नै फुटेर एक्लाएक्लै भइसकेका छन्। सापकोटा नेतृत्वको सुर्खेत काँक्रेविहार यातायात प्रालिको पहलमा केही समय वीरेन्द्रनगर उपत्यकामा नगरबस पनि चलाइएको थियो। नगरपालिकासँगको सहकार्यमा सुरु गरिएको यो सेवा पनि निरन्तर चल्न सकेन।
जनतामा लहड चलेका बेला रास्वपाबाट सांसद बनेका सापकोटा स्वच्छ छवि भएका व्यक्तिमध्ये पर्छन्। वीरेन्द्रनगर नगरपालिका-७ इत्राम स्थायी ठेगाना भएका ४६ वर्षीय सापकोटा नेताभन्दा व्यवसायीको छवि बनाएका व्यक्ति हुन्।