काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नियात्राकार पशुपति घिमिरेको नवीनतम नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरंग’ को लोकार्पण गरिएको छ।

शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, विशेष अतिथि विश्व साइकलयात्री तथा नियात्राकार पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ, कवि प्रह्लाद पोखरेल, प्रकाशक पुष्पराज पौडेल, निबन्धकार कुमारी लामा र लेखक पशुपति घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरे।

प्रमुख अतिथि प्रा.डा. भट्टराईले नियात्रा लेखनको क्षेत्रमा यो कृति उल्लेखनीय र सशक्त रचना भएको बताए। उनले भने‚ “हाम्रा सिर्जना भनेको कहिल्यै पूर्ण नहुने चिज हो। यो यस्तो यात्रा हो कि आफैंले निर्माण गरेको यात्रालाई जीवन रहेसम्म श्रष्टा आफैले नाघ्दै-नाघ्दै नयाँ-नयाँ पर्वत चढिरहने हो।”

उनले घिमिरेको सरल तर पाठकलाई मोहित पार्ने भाषाशैलीले मनोवैज्ञानिक प्रभाव पार्ने क्षमता राख्ने उल्लेख गर्दै डायस्पोरिक लेखनका क्षेत्रमा सशक्त हस्ताक्षरका रूपमा परिचित घिमिरेका आगामी कृतिहरू अझै सशक्त रूपमा आउने विश्वास व्यक्त गरे।

समीक्षक बानियाले पशुपतिका अनुभवले खारिएका यी नियात्राले आम पाठकको संवेदनालाई प्रस्ट्याएको बताउँदै कृतिको कवितात्मक तथा कलात्मक शैलीले यसको साहित्यिक मूल्य अझ उच्च बनाएको धारणा व्यक्त गरे। उनका अनुसार वर्तमान समयका साक्षी बन्ने यी नियात्रामा जीवनचेतबारे निकै मिठा बिम्बहरू सँगालिएका छन्।

विशेष अतिथि विश्व साइकलयात्री शाहले घिमिरेको यात्रालाई ‘अनुभूतिको संगीत’ का रूपमा प्रस्तुत भएको बताए। जीवनका विभिन्न आयाम र भौतिक विज्ञानलाई समेत सरल शैलीमा प्रस्तुत गर्नु लेखकको उत्कृष्ट काव्यशैलीको परिचायक भएको उनले बताए।

लेखक पशुपति घिमिरेले विशिष्ट महानुभावको उपस्थितिमा आफ्नो कृतिको लोकार्पण गर्न पाउनु सौभाग्यको विषय भएको बताए। कार्यक्रममा लेखक अनीता कोइराला, नियात्राकार राजेन्द्रमान डंगोल, लेखक नारायण नेपाल, सम्पादक पारस नेपाललगायत करिब चार दर्जन साहित्यप्रेमीको उपस्थिति थियो।