काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

२४ फाल्गुन २०८२
अ+
अ-

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित हात पार्दै ‘क्लिन स्वीप’ गरेको छ । सिरहा जिल्लाको चारै निर्वाचन क्षेत्रमा मतदाताले पुरानो पार्टी र नेताहरुलाई पराजय गर्दै नयाँ पार्टी र अनुहारलाई मौका दिएको छ ।

सिरहा निर्वाचन क्षेत्र नम्बर–३ मा रास्वपाका शम्भु कुमार यादव विजयी भएका छन् । उनले ३२ हजार २४९ मत प्राप्त गर्दै नेकपा एमालेका लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरे । यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विश्वनाथ साहले ९ हजार ९४२ तथा नेपाली कांग्रेसका सुभाष चन्द्र यादवले ९ हजार ८७९ मत प्राप्त गरेका छन् ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका असेश्वर यादवले ५ हजार ६७१ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल ७६ हजार ४३० मत खसेको थियो । सिरहा निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाका बब्लु गुप्ता ४१ हजार ३२२ मत सहित विजयी भएका छन् । गुप्ता सुशिला कार्की नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका थिए ।

उम्मेदवारी दर्ता गराउने पुर्व राजिनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम सुन्दर चौधरीले ९ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् । गुप्ताले चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गरेका हुन् । सो क्षेत्रमा नेकपा एमालेका राम शंकर यादवले ७ हजार ८ सय ८६ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राम चन्द्र यादवले २ हजार ८सय ५३ मत प्राप्त गरेका छन् ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका सत्य नारायण यादवले ५ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।कुल ७० हजार ७६५ मत खसेको थियो ।

सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा रास्वपाका शिव शंकर यादव ३९ हजार ५६१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम चन्द्र यादवले १२ हजार ८१४ मत प्राप्त गरे ।

शिव शंकर यादवले २६ हजार ७४७ मतान्तरले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् । सो क्षेत्रमा नेकपा एमालेका नविन यादवले ६ हजार ७१३ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति नारायण सिंहले ३ हजार ६८० मत प्राप्त गरेका छन् ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका संजीप कुमार यादवले ३ हजार ८७ मत प्राप्त गरेका छन् ।सो क्षेत्रमा कुल ७३ हजार १७५ मत खसेको थियो ।

सिरहा निर्वाचन क्षेत्र नम्बर–४ मा रास्वपाका तपेश्वर यादव ३६ हजार २१० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अजय शंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरेका छन् । तपेश्वर यादवले २८ हजार २३८ मतान्तरले नायकलाई पराजित गरेका हुन् ।

सो क्षेत्रमा जनमत पार्टीका बिरेन्द्र प्रसाद महतोले ५ हजार ४१, नेकपा एमालेका धर्मनाथ साहले ४ हजार २२७, नेपाली कांग्रेसकी चन्द्रकला कुमारी यादवले ४ हजार ६१ तथा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले ३ हजार ४८४ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार सो क्षेत्रमा कुल ७० हजार ७७ मत खसेको थियो । पूर्वमन्त्री अजय शंकर नायक, बिरेन्द्र प्रसाद महतो, धर्मनाथ साह र राजकिशोर यादवसहितका स्थापित नेताहरूलाई पराजित गर्दै तपेश्वर यादवले सिरहा–४ मा विजयी भएका छन ।