जनकपुरधाम। मधेसमा चलेको बालेनको लहरले पराजय भोगेका मधेसकेन्द्रित दलका नेताहरूले जनताको निर्णय स्वीकार रहेको बताएका छन्।
पराजित भएपछि सामाजिक सञ्जालमा उनीहरूले जनताले गरेको निर्णय स्वीकार रहेको बताएका छन्। सप्तरी ३ मा रास्वपाका उम्मेदवार अमरकान्त चौधरीसँग पराजित जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताको जनादेश आफूलाई स्वीकार रहेको उल्लेख गर्दै अधिकार र पहिचानका लागि संर्घष जारी राख्ने बताएका छन्। उनले लेखेका छन्, ‘जनताको जनादेशलाई स्वीकार गर्दै भविष्यमा समानता, स्वतन्त्रता, सामाजिक न्याय, समृद्धि र समाजवाद प्राप्तिको उद्देश्य र लक्ष्यप्रति दृढ रहँदै बहिष्करणमा पारिएका वा परेका सीमान्तीकृत वर्ग र समुदायका पहिचान, स्वाभिमान, अधिकार, न्याय तथा मुक्तिका लागि अविचलित रूपमा निरन्तर संघर्ष गरिरहने नै छौँ।
अध्यक्ष यादवले आफ्नो पार्टीका पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले मतदाताले दिएको समर्थनलाई जिम्मेवारीका रूपमा लिँदै भविष्यमा अझ दृढतापूर्वक जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरू अहिले प्राप्त जनादेशबाट विचलित नभएर त्यसलाई आत्मसात् गरेर अगाडि बढ्न चाहेको बताउँदै जनताको अभिमत स्वीकार रहेको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले यस परिणामलाई कसैको व्यक्तिगत उपजका रूपमा नलिएर, परिस्थितिजन्य कुराको रूपमा स्विकारेर अगाडि बढ्नुहोस्, अलिकति पनि निराश हुनै पर्दैन, जनताले दिएको आदेश स्वीकार गरौँ, जितेकालाई सरकार चलाउन दिऔँ।’
राउतले भने, ‘एक–दुई वर्ष मात्रै कुर्नुहोस्, सबै कुरा छर्लंग हुन्छ, फेरि जनता हामीतिरै आउँछन्, हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेन्डाले हामीलाई चिरकालसम्म समाजमा जीवित राख्दछ।’
राउत सप्तरी २ मा तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बालेन शाह पहिलो पटक मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्न लागेकाले यो ऐतिहासिक घटना भएको बताएका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हासिल गरेको विजयप्रति बधाई दिँदै महतोले यो परिणाम परिवर्तन, सुशासन र उत्तरदायी नेतृत्वप्रतिको जनताको चाहनाको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महतोले साह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा नै आफूले यसलाई परिवर्तनको संकेतका रूपमा संसद्मा उठाएको स्मरण गर्दै उनले नामांकनअघि जनकपुरधाममा शाहले मैथिली भाषामा संघीयता बलियो बनाउने अभिव्यक्ति दिएको विषयले संघीयता र समावेशी राज्य संरचनाका पक्षधर नागरिकको ध्यान आकर्षित गरेको बताएका छन्।
उनले जनताले दिएको मतादेशलाई सम्मान गर्दै आगामी सरकारले संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशहरूको अधिकार सुनिश्चितता, सीमांकन तथा नामकरणसम्बन्धी विवाद समाधान, संविधान संशोधन र भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा गम्भीर पहल गर्नुपर्ने बताएका छन्। साथै, महतोले सर्लाही २ बाट निर्वाचित रबिन महतोलाई बधाई दिँदै आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन्।