काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

बातचित

रास्वपाले बुझ्नुपर्छ, उसले जति बढी जनमत पाएको छ, जनअपेक्षा पनि उति नै चुलिएको छ। अब पहिलेजस्तो कोरा गफ र आश्वासनले जनता मान्दैनन्।

२४ फाल्गुन २०८२
अ+
अ-

२०३२ सालदेखि वामपन्थी राजनीति र २०३७ सालदेखि नेकपा (माले)मा आबद्ध नारायण ढकाल २०५३ सालको उपनिर्वाचनमा एमालेबाट काठमाडौँ १ का सांसद चुनिए। त्यसपछि कहिले पार्टीको केन्द्रीय प्रचार विभाग त कहिले सांस्कृतिक विभागका सदस्य रहेका ढकालले २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि भने पार्टी छाडे। राजनीतिमा नेताभन्दा नीति र विधिमा जोड दिने उनी एमालेलगायत ‘कम्युनिस्ट’ शक्तिहरू विचार र चरित्रबाट च्युत भइरहँदा चिन्तासँगै चिन्तन पनि गरिरहेका छन्। पछिल्ला दशकहरूमा वाम राजनीतिका विकृति र विरोधाभासलाई साहित्यमार्फत तीखो प्रहार गरिरहेका उनीसँग २१ फागुनको आमनिर्वाचनको परिणाम र वामशक्तिको बिजोगलाई लिएर नेपालन्युजले गरेको कुराकानीको सार :

आमनिर्वाचनको जारी मतगणनामा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ पाइरहेको मतलाई तपाईं के भन्नुहुन्छ?

गलत र उल्टो बाटो हिँडेपछि पुगिने यही हो। एकातिर काल्पनिक सपना देखाएर जनतालाई ढाँट्ने र अर्कातिर राज्यको अवाञ्छित दोहन गर्ने दोहोरो व्यवहारले एमाले यो हालतमा आएको हो।

एमालेमा विचारको बहस कहिल्यै भएन। भविष्यको बाटोबारे कहिल्यै छलफल चलेन। कार्यक्रम र कार्यदिशाको मन्थनलाई पूर्णत: ‘ब्रेक’ लगाउने काम भयो। पार्टीका निर्णयहरू तथाकथित एकल मसिहावादी अहंकार र सनकको आधारमा भइरहे। टाउको उठाउनेहरूविरुद्ध फोहोरी व्यवहार गरियो। लामो समय सरकारमा बसेर पत्यारलाग्दो काम पनि भएन। गफ र उखान धेरै भए। लोकतन्त्रका मूल्य र मान्यता आत्मसात् नगर्ने, राजकीय संस्थाहरूलाई आर्थिक विनिमयका आधारमा विकृत बनाउने, राजकीय नीतिहरूलाई पार्टीको सर्वोच्च गिरोह र आफ्नाहरूको हितमा दुस्ट्याइँपूर्वक उपयोग गर्ने काम भयो। त्यसलाई ढाकछोप गर्न सामाजिक सञ्जाल बाधक भएपछि त्यसलाई नोकरशाही उन्मादमा बन्द गरियो। जसले २३ र २४ भदौको विद्रोह निम्तियो। त्यस घटनामा नैतिक जिम्मेवारीसमेत लिइएन। त्यसैले जनताले अहिले दण्डित गरे।

एमाले यस्तो हुनुमा अध्यक्ष केपी शर्मा ओली कत्तिको जिम्मेवार देख्नुहुन्छ?

अहिलेको मुख्य जड त उहाँ नै हो। उहाँले संगठनमा स्टालिनवाद र व्यवहारमा चरम दक्षिणपन्थी राजनीतिक व्यवहार अभ्यास गर्नुभयो। उहाँका कर्म र वचनमा सधैँ अन्तर्विरोध रहे। फलस्वरूप नैतिक विश्वसनीयता ह्रास भइरह्यो। यो सनकलाई उहाँको गिरोहले भरथेग गर्‍यो। एउटा परिपक्व र आदर्श राजनेताको व्यवहार त्यस्तो हुन सक्तैन।

२०७२ सालको भारतीय नाकाबन्दीको समयमा दृढतापूर्वक सामना गरेको नेपालको नयाँ नक्सालगायत निर्णयका लागि जोखिम मोलेकाले ओली राष्ट्रवादी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँका यस्तै ‘साहस’ ले एमाले २०७४ सालमा पहिलो दलसमेत बन्यो। के यो संयोग मात्र थियो?

नाकाबन्दीको अडानको आडमा पार्टीलाई आकारमा ठूलो बनाउनुभयो, त्यो सही हो, तर त्यो उहाँको भद्दा ‘पपुलिज्म’ थियो। महाकाली सन्धिको प्रखर हिमायती कसरी राष्ट्रवादी हुन सक्छन्, म अचम्ममा छु। अहिले केही मानिस बालेनजी र रास्वपाका नेताहरूलाई ‘पपुलिस्ट’ भन्छन्, खास पपुलिस्ट त उहाँ पो हो।

नेकपा बन्दा ओलीजी र दाहालजीमा वचनमा एउटै वामशक्ति बनाउने कुरा भए पनि भित्रभित्रै भने राज्यशक्ति हत्याउने र भागबन्डा खाने प्रपञ्च नै प्रधान थियो। उहाँहरूमा राज्य दोहन गर्ने भागबन्डाको प्रतिस्पर्धा थियो। त्यसमा रस्साकस्सी भएपछि एकता टिकेन।

ओलीजीको राष्ट्रवादको वास्तविकता त भारतसँगको महाकाली सन्धिमा देखिन्छ। २०५३ सालमै भएको महाकाली सन्धिको काम किन अहिलेसम्म अघि बढेन, त्यसले नै उहाँको सत्तास्वार्थमा आधारित राष्ट्रियता प्रमाणित गर्छ।

२०७५ सालमा संसद्को पहिलो दल एमाले र तेस्रो ठूलो दल माओवादी केन्द्रको एकीकरणबाट नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि नेपालमा लामो समय वामपन्थी शासन रहने अनुमान थियो। तर, तीन वर्ष नपुग्दै एकता विघटन भयो। सात वर्षको अन्तरमा त्यही एमाले र पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी अस्तित्वकै संकटमा आइपुगेका छन्। वाम शक्तिको यस्तो बेहाल कसरी भयो?

नेकपा बन्दा ओलीजी र दाहालजीमा वचनमा एउटै वामशक्ति बनाउने कुरा भए पनि भित्रभित्रै भने राज्यशक्ति हत्याउने र भागबन्डा खाने प्रपञ्च नै प्रधान थियो। उहाँहरूमा राज्य दोहन गर्ने भागबन्डाको प्रतिस्पर्धा थियो। त्यसमा रस्साकस्सी भएपछि एकता टिकेन।

नेपालमा वामपन्थीको यो अवस्था आउनुको मुख्य कारण उनीहरूमा निहित खोटा विचार र अश्लील व्यवहार नै हुन्। कुनै बेला आधा विश्वका समाजशास्त्री, राजनीतिकर्मी, दार्शनिक, अर्थशास्त्री, वैज्ञानिक सबैलाई प्रभावित तुल्याउने साम्यवादको ‘युटोपिया’ एक शक्तिशाली बिम्ब थियो। अल्बर्ट आइन्सटाइनले समेत ‘समाजवाद किन चाहिन्छ?’ भनेर ओजिलो पैरवी गरेका थिए। तर, आज त्यस्तो छैन। मार्क्सले समेत मलाई मार्क्सवादी नबनाउनू भनेका बेला एकोहोरो परम्परागत सतही विद्वत्ताका आधारमा, पुरानो शास्त्रको नक्कलका आधारमा कम्युनिस्ट आन्दोलन हाँक्नु घातक बन्यो।

वाम राजनीति सकियो भन्ने चाहिँ होइन, इतिहासका भुलहरूलाई सच्चाउँदै सामाजिक न्याय, सुशासन, सुधार र साना साना जनसरोकारका मुद्दामा स्वत:स्फूर्त संगठित समूहले वाम शक्तिलाई नयाँ जीवन दिन सक्छ। तर, यसका लागि समय लाग्छ।

कम्युनिस्टहरूले नयाँ परिवेशअनुसार नयाँ वैचारिक आलोक आविष्कार गर्न सकेनन्। विचारधारा, संगठन निर्माण र व्यवहारमा धेरै ठूलो गल्ती गर्दै गए। भारतको पश्चिम बंगाल राज्यमा शिर नउठ्ने गरी वामपन्थी शक्ति पतन हुनुमा यही मुख्य कारण थियो। त्यो अब यहाँ पनि देखिएको छ।

प्रायः हरेक समाजमा वर्गीय स्वार्थअनुसार वामपन्थी, दक्षिणपन्थी र मध्यमार्गी धारा रहन्छन्। तर, यहाँका वामपन्थीमा वामपन्थ नै छैन। त्यस्तै, कांग्रेसले पनि कांग्रेसको स्वभाव त्याग्यो। त्यसैले अहिले वामपन्थी र दक्षिणपन्थी दुवै धाराको मत रास्वपामा गयो। उच्च वर्ग र पिँधमा रहेका गरिबले यस पटक सँगसँगै रास्वपामा भोट हाले।

यस परिदृश्यमा एमालेसहित नेपालमा वाम राजनीतिको भविष्य कस्तो देख्नुहुन्छ?

म त अब एमालेको कुनै भविष्य देख्दिनँ। यो पार्टी पुनर्जागृत भएर आउने सम्भावना छैन, किनभने त्यहाँ रहेका अन्य नेताहरूमा पनि नयाँ ढंगले पार्टीलाई अघि बढाउने वैचारिक स्पष्टता, सांगठनिक दृष्टिबोध र क्षमता छैन। नवौँ महाधिवेशनसम्म त पार्टीलाई मैले पनि नजिकबाट हेरेको छु। मलाई उनीहरूको योग्यता राम्रोसँग थाहा छ।

एमाले, पुराना तथा नयाँ माओवादीलगायत पार्टीहरू पुनर्जीवित हुन सानोतिनो जोखिम र मिहिनेतले पुग्दैन। यसका लागि नेता र कार्यकर्ताहरूको ठूलो त्याग र प्रज्ञा आवश्यक पर्छ। अहिलेको हिसाबमा भन्दा १८० डिग्री परिवर्तन हुनुपर्छ।

यसो भनिरहँदा तपाईंलाई म आग्रही पनि लाग्न सक्छ। तर, एमाले, पुराना तथा नयाँ माओवादीलगायत पार्टीहरू पुनर्जीवित हुन सानोतिनो जोखिम र मिहिनेतले पुग्दैन। यसका लागि नेता र कार्यकर्ताहरूको ठूलो त्याग र प्रज्ञा आवश्यक पर्छ। अहिलेको हिसाबमा भन्दा १८० डिग्री परिवर्तन हुनुपर्छ। विगतका पाप र अपराध कबुल गर्नुपर्छ। त्यस्तो सम्भावना म देख्दिनँ।

केही हदसम्म नेपाली कांग्रेसका नयाँ सभापति गगन थापाले यसो गर्न चाहेको म बुझ्छु। तर, एमालेमा अरू त अरू, वैकल्पिक वामपन्थको कुरा गर्छु भन्नेहरूमा पनि म वैचारिक प्रस्टता भेट्दिनँ। त्यसो भन्दैमा वाम राजनीति सकियो भन्ने चाहिँ होइन, इतिहासका भुलहरूलाई सच्चाउँदै सामाजिक न्याय, सुशासन, सुधार र साना साना जनसरोकारका मुद्दामा स्वत:स्फूर्त संगठित समूहले वाम शक्तिलाई नयाँ जीवन दिन सक्छ। तर, यसका लागि समय लाग्छ।

रास्वपाको उभारलाई चाहिँ कसरी हेर्नुभएको छ? अब देशको राजनीति कतातिर जाला?

जनताले पञ्चायतलाई ३० वर्ष हेरे। २०४७ सालपछि अहिलेका दलहरूलाई पनि तीन दशकभन्दा बढी बेहोरे। अब रास्वपा नयाँ शक्तिका रूपमा आएको छ। उसलाई अवसर र चुनौती सँगसँगै छ।

रास्वपालाई सबैभन्दा पहिले त बन्नु छ। एकबद्ध रसायनबिना पार्टी बलियो बन्दैन। उसले सार्वजनिक गरेको वाचापत्रको इमानदार कार्यान्वयनको प्रश्न छ। देशका अनेक समस्याग्रस्त क्षेत्रहरूमा हस्तक्षेप गर्नुपर्ने त छँदै छ, खासगरी कर्मचारीतन्त्रमा। उदाहरणका लागि, एउटा सानो तर महत्त्वको विषय, बालेन प्रधानमन्त्री भएको कति दिनभित्र नापी, मालपोत र भन्सारमा भइरहेको भष्ट्राचार रोकिन्छ?

रास्वपाले बुझ्नुपर्छ, उसले जति बढी जनमत पाएको छ, जनअपेक्षा पनि उति नै चुलिएको छ। अब पहिलेजस्तो कोरा गफ र आश्वासनले जनता मान्दैनन्। लोकतन्त्रका मान्यता र व्यवहारमा चरम बदलाव देखिनुपर्छ। यसो गर्न सके अर्को पाँच वर्षपछि पनि रास्वपाको पुनः जनअनुमोदन हुनेछ।

नत्र त फेरि घुमिफिरी रुम्जाटार!