प्रतिनिधिसभा निर्वाचन
आफ्नो बलियो संगठन भएको ठान्ने एमाले एक सिटमा सिमित, रास्वपाको पहिलो ‘इन्ट्री’
सुर्खेत। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। यस नतिजाले कर्णालीमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई आफ्नो प्रतिष्ठा जोगाउन मद्दत गरेको छ। प्रतिनिधि संख्याका हिसाबले कर्णालीमा कांग्रेस पहिलो बनेको छ। कर्णालीमा पनि बलियो संगठन र मत भएको दाबी गर्ने नेकपा (एमाले)को पक्षमा भने अपेक्षित नतिजा आएन।
२०७९ सालको निर्वाचनमा कर्णालीमा शून्य भएको एमालेले यस पटक कम्तीमा पाँच वटा सिट जित्ने अपेक्षा गरेको थियो। तर, उसको पक्षमा एउटा सिट मात्र आयो। एमालेले दैलेख २ मा जितेको छ। एमालेका लक्ष्मीप्रसाद पोखरेल यस क्षेत्रबाट निर्वाचित भएका छन्। अघिल्लो पटक उनैलाई हराएका कांग्रेसका दिक्पालकुमार शाही यो पटक पराजित भएका छन्।

कर्णालीमा एमालेबाट निर्वाचित एक मात्र सांसद लक्ष्मीप्रसाद पोखरेल (दैलेख २)।
कर्णालीमा प्रतिष्ठा जोगाएका पुराना दलमध्ये नेपाली कांग्रेसले पाँच र नेपाली कम्युनिष्ट पार्टीले चार सिट जितेका छन्। गएको २०७९ सालको निर्वाचनमा लडेका तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारहरूले यो पटक पुनर्गठित नेकपाको प्रतिष्ठा जोगाइदिएका छन्। एक किसिमले पूर्वमाओवादीको आधार इलाका मानिने कर्णालीमा पूर्वमाओवादीकै उम्मेदवारले बिरासत धानेका छन्।
नेपाली कांग्रेसले हुम्ला, मुगु, दैलेख १, जाजरकोट र सुर्खेत १ मा जित हात पारेको छ। हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग शाही, दैलेख १ मा वासना थापा, जाजरकोटमा खडकबहादुर बीसी र सुर्खेत १ मा विष्णुबहादुर खड्का निर्वाचित भएका छन्।
सुर्खेत २ मा कांग्रेसका उम्मेदवार नारायणकुमार कोइराला रास्वपासँग पराजित भए। सल्यानबाट लडेका जिल्ला सभापति केशबहादुर विष्ट, रुकुम पश्चिमबाट लडेका राजु केसी, डोल्पाबाट लडेका पार्टीका सहमहामन्त्री कर्णबहादुर बुढा, कालीकोटबाट लडेका हर्ष बम नेकपासँग पराजित भएका छन्। जुम्लाबाट लडेका दीपबहादुर शाही राप्रपासँग पराजित भएका छन्। दैलेख २ मा लडेका दिक्पालकुमार शाही एमालेसँग पराजित भएका छन्।

नेकपाबाट निर्वाचित सांसदहरू क्रमश: धनबहादुर बुढा (डोल्पा), गोपाल शर्मा (रुकुम पश्चिम), महेन्द्रबहादुर शाही (कालीकोट) र रमेश मल्ल (सल्यान)।
नेपाली कम्युनिस्ट पार्टीले सल्यान, रुकुम पश्चिम, कालीकोट र डोल्पामा जितेको छ। डोल्पामा पूर्वसमाजवादीका नेता धनबहादुर बुढा निर्वाचित भएका छन्। कालीकोटमा महेन्द्रबहादुर शाही, रकुम पश्चिममा गोपाल शर्मा र सल्यानमा रमेश मल्ल निर्वाचित भएका छन्। यी तीनै जना पूर्वमाओवादी नेता हुन्। नेकपाबाट जाजरकोटमा शक्तिबहादुर बस्नेत, सुर्खेत १ मा जितबहादुर राना, हुम्लामा डा. दीपेन्द्र रोकाया, दैलेखमा अम्मरबहादुर थापा, मुगुमा चन्द्रबहादुर शाही नेपाली कांग्रेससँग पराजित भएका छन्। सुर्खेत २ मा झकबहादुर मल्ल रास्वपासँग पराजित भएका छन्। जुम्लामा नरेश भण्डारी राप्रपासँग पराजित भएका छन्। दैलेख २ मा योगेन्द्रबहादुर शाही एमालेसँग पराजित भए।
राप्रपाको एउटा सिट पनि कर्णालीबाटै
अहिलेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि कर्णालीबाटै साख जोखिएको छ। राजावादी दल राप्रपाले देशभर एउटा मात्र सिट जितेको छ। जुम्लाबाट सांसद दोहोरिएका राप्रपाका ज्ञानबहादुर शाहीले राप्रपाको साख जोगाएका हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले राप्रपाबाटै लडेर जुम्लामा जितेका थिए। त्यतिबेला कांग्रेस-माओवादीको गठबन्धनलाई नै हराएका उनले यो पटक एकल रूपमा दलहरूसँग प्रतिस्पर्धा गरेका थिए।

देशभर एक मात्र प्रत्यक्ष निर्वाचन जितेका राप्रपाका ज्ञानबहादुर शाही (जुम्ला)।
कर्णलीमा रास्वपाको पहिलो इन्ट्री
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको बेला कर्णालीमा भने रास्वपाले पहिलो पटक जित हात पारेको छ। सुर्खेत २ मा कांग्रेस, एमाले र नेकपालाई पछि पारेर १४ हजार बढी मतान्तरले रास्वपाका जिल्ला सभापति रमेशकुमार सापकोटा विजयी भएका छन्।
कर्णालीका अरू केही क्षेत्रमा पनि रास्वपाले सन्तोषजनक मत प्राप्त गरेको छ। सल्यानमा विजेता नेकपाका उम्मेदवारपछिको बढी मत रास्वपाका उम्मेदवार ललितकुमार चन्दले पाएका छन्। विजेता उम्मेदवारले २३ हजार २८९ मत पाउँदा चन्दले २० हजार ९०४ मत ल्याएका छन्।

कर्णालीमा रास्वपाबाट निर्वाचित एक मात्र सांसद रमेशकुमार सापकोटा (सुर्खेत २)।
सुर्खेत १ मा टेकबहादुर सिंहले १४ हजार ७२९ मत ल्याएका छन्। दैलेख १ मा उम्मेदवार रहेका नन्दकिशोर बस्नेतले आठ हजार १५१ र दैलेख २ मा पनि बखतबहादुर शाहीले ६ हजार ७९७ मत पाएका छन्। यी तीनै जना नेकपाका उम्मेदवारलाई पछि पार्दै मतका हिसाबले तेस्रो स्थानमा छन्।
रास्वपाले कर्णालीका अन्य जिल्लाहरूमा खासै मत पाउन सकेन। कालीकोटका उम्मेदवारले तीन हजार १०१ मत पाएका छन्। जुम्लाका उम्मेदवार तथा समानुपातिक प्रणालीबाट अघिल्लो पटक सांसद बनेकी विनिता कठायतले ४२१ मत ल्याएकी छन्। डोल्पाका उम्मेदवारले १८१, हुम्लाका उम्मेदवारले एक हचार ६४, मुगुका उम्मेदवारले ५३०, जाजरकोटका उम्मेदवारले दुई हजार ४७१, रुकुम पश्चिमका उम्मेदवारले चार हजार ७६ मत पाएका छन्।
दुई भाइबीचको प्रतिस्पर्धामा तेस्रो भए दाइ
यस निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभा सदस्य चुनिएका धनबहादुर बुढाको यो चौथो जित हो। उनी २०७० सालदेखि निरन्तर विजय भइरहेका छन्। विगतमा नेकपा (एमाले)मा रहेका उनी पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा थिए। माधवकुमार नेपालले पार्टी विभाजन गर्दा उनी समाजवादीतर्फ लागेका थिए। दुई पटक एमालेबाट सांसद बनेका उनी एक पटक समाजवादीबाट र अहिले पुनर्गठित नेकपाबाट सांसद बनेका हुन्।
यस चुनावमा धनबहादुरविरुद्ध उनकै सहोदर दाइ कर्णबहादुर नेपाली कांग्रेसबाट उम्मेदवार थिए। उनी कांग्रेसका सहमहामन्त्री पनि हुन्। नेकपाबाट धनबहादुर ६ हजार ८०२ मत ल्याएर विजयी हुँदा एमालेबाट उम्मेदवार बनेका लंकबहादुर रोकायाले पाँच हजार ३२६ मत ल्याए। कर्णबहादुर दुई हजार ९४७ मत ल्याएर तेस्रो भए।