नारी दिवस
हातैले लुगा धुनुपर्ने बाध्यताले महिलाको समयसँगै स्वास्थ्यमा पनि प्रतिकूल असर, छैन कुनै कदर
काठमाडौँ, नयाँ बानेश्वर बस्ने २१ वर्षीया प्रतीक्षा ठकुरी बिहान ११ बजे कलेजबाट घर फर्कन्छिन्। जसै खाना खाइसक्छिन्, उनी लुगा धुन बस्छिन्। बुवाआमा खाजापसलमा बिहानदेखि रातिसम्मै व्यस्त हुन्छन्। भाइ दिउँसो विद्यालय जान्छन्। दिनहुँ केही न केही लुगा धुनका लागि ठिक्क पारिएको हुन्छ। “दिनदिनै लगाउने लुगा धुँदा छिटो सकिन्छ, तर दुई दिन बिराएर मेलम्चीको पानी आएको बेला सिरकको खोल, तन्ना, ज्याकेट, बाक्लो लुगा धुनुपर्छ, त्यतिखेर चार घण्टाजति लाग्छ,” उनी भन्छिन्। लामो समय टुक्रुक्क बसेर लुगा धोइसक्दा कम्मर, ढाड हुँदै घाँटीसम्म दुख्छ। जाडोमा पानी धेरै चिसो हुँदा औँला नै सुनिन्छन्। “धेरै लुगा धुँदा त गृहकार्यसमेत गर्न सक्दिनँ,” उनी भन्छिन्।
ललितपुर, इमाडोलमा डेरा गरी बस्ने रमिता प्रधानलाई लुगा धुन इनारको पानी जोहो गर्नै सास्ती छ। पानीकै दुःखले एक महिनाअघि कीर्तिपुरबाट इमाडोल सरेकी उनको पनि धेरै समय लुगा धुनमै जान्छ। “घरमा दुई जना स्कुले केटाकेटी छन्, त्यसैले पनि दिनहुँ लुगा धोइरहनुपर्छ,” उनी भन्छिन्, “इनारमा तल पुगिसकेको पानी तानेर धुँदा दिनदिनै कम्तीमा पनि डेढ घण्टाजति त लागेकै हुन्छ, पानी तान्दा हात, पाखुरा, ढाड र कम्मर थिलथिलो हुन्छ, असाध्य हैरानी छ।”
प्रतीक्षा र रमिताजस्तै नेपालका झन्डै एक करोडभन्दा बढी महिला (१५ वर्ष वा सोभन्दा माथिका)ले हरेक दिन आफू र परिवारका सदस्यको लुगा धुने दायित्व पूरा गर्नुपर्छ। आर्थिक वर्ष २०७४/७५ मा गरिएको तेस्रो नेपाल श्रमशक्ति सर्वेक्षणका अनुसार पुरुषको तुलनामा झन्डै तीन गुणा बढी महिला लुगा धुने, खाना पकाउने, सफाइ गर्ने, भाँडाकुँडा धुने, खानेपानी–इन्धन जोहो गर्ने, बालबच्चा हुर्काउने, सानोतिनो मर्मतसम्भारजस्ता घरधन्दाका काममा संलग्न छन्। देशभर घरधन्दामा संलग्न हुने महिला एक करोड दुई लाख २८ हजार जना र पुरुष ३५ लाख ४९ हजार जना छन्। घरधन्दाको प्रकृतिअनुसार खर्च हुने समयको अध्ययन श्रमशक्ति सर्वेक्षणमा उल्लेख छैन।
घरधन्दाको काम महिलालाई थोपर्ने पुरातन सोच, प्रवृत्ति र अभ्यासलाई निरन्तरता दिइँदा आधुनिक र प्रविधिको युगमा समेत महिला यसैको घानमा पिसिन बाध्य छन्।
घरधन्दाका प्रकृतिअनुसार समयको लागत निकाल्न ‘टाइम युज सर्भे’ गर्नुपर्ने राष्ट्रिय तथ्यांक कार्यालयका सूचना अधिकारी पूर्णबहादुर घर्तीमगर बताउँछन्। हाल जारी चौथो श्रमशक्ति सर्वेक्षणमा समेटिएका ‘टाइम युज सर्भे’ सँग सम्बन्धित केही प्रश्नावली राखिएकाले घरधन्दाका कामबारे आधारभूत तथ्यांक भने आउन सक्ने उनको भनाइ छ।
संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमनले ६ कात्तिक २०८२ मा प्रकाशन गरेको अर्थतन्त्रमा घरधन्दाको प्रभाव विषयक सामग्रीअनुसार विश्वभरका महिलाले दैनिक १६ अर्ब घण्टा बेतलबी घरधन्दामा खर्चन्छन्। घरधन्दाको काम महिलालाई थोपर्ने पुरातन सोच, प्रवृत्ति र अभ्यासलाई निरन्तरता दिइँदा आधुनिक र प्रविधिको युगमा समेत महिला यसैको घानमा पिसिन बाध्य भएको द वाटर च्यानल वेबसाइटमा ६ मंसिर २०७८ मा प्रकाशित मेघना मुखर्जी र फ्रांक भान स्टिनवर्गेनद्वारा लिखित लेखमा उल्लेख छ।
नदेखिएको/हेपिएको काम
संयुक्त राष्ट्रसंघको श्रम संगठन महासन्धि १८९ ले लुगा धुनेसहित घरभित्रका कामलाई घरायसी कामकाज वा घरधन्दा भनी परिभाषित गरेको छ। यसमा परिवारका ज्येष्ठ तथा बिरामी सदस्यको हेरचाह गर्ने र अपांगता भएका व्यक्तिलाई सहायता प्रदान गर्ने काम पनि पर्छन्।
परिवारबाहिरका मान्छेलाई पारिश्रमिक दिएर घरेलु काम लगाइएको अवस्थामा बाहेक परिवारका महिला सदस्यले गर्ने घरधन्दालाई मूल्यहीन र महत्त्वहीन बनाइएको छ।
संसारभर नै बढीजसो बेतलबी वा स्वयंसेवी दृष्टिकोणले हेरिने घरधन्दाको बोझ प्रायः महिला सदस्यलाई थोपरिन्छ। “घरभित्रको कामविना महिलाको दैनिकी नै सम्भव देखिन्न, महिलाले घर सम्हालेको भएर पुरुष सदस्यले बाहिर गएर आयआर्जनको काम गर्न पाएका छन्,” श्रम तथा रोजगारविज्ञ सरु जोशी भन्छिन्, “तर, घरायसी कामप्रतिको बुझाइ नकारात्मक छ, यसको योगदान न परिवारले, न समाजले। न राज्यले देखेको छ, न त सम्मान नै छ।”
जोशीको भनाइमा परिवारबाहिरका मान्छेलाई पारिश्रमिक दिएर घरेलु काम लगाइएको अवस्थामा बाहेक परिवारका महिला सदस्यले गर्ने घरधन्दालाई मूल्यहीन र महत्त्वहीन बनाइएको छ। राज्यले के–कति संख्याका महिलाले के–कस्तो प्रकृतिका घरधन्दामा के–कति समय खर्चन्छन्, यसले उनीहरूको व्यक्तित्व विकास र सशक्तीकरणमा कस्तो असर पारिरहेको छ भनेर अध्ययन गर्नुपर्ने र यसका आधारमा नीति बनाइनुपर्ने उनको सुझाव छ।
लुगा धोएरै साढे २२ हजार घण्टा
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र हेल्थब्रिज संस्थाले सन् २००८ मा सार्वजनिक गरेको काठमाडौँ उपत्यकाका महिलाको बेतलबी घरधन्दाको आर्थिक मूल्य विषयक अध्ययनले घरायसी काममा सहरका गृहिणीले हरेक दिन ९.७ घण्टा र ग्रामीण भेगका गृहिणीले १३.२ घण्टा खर्चने गरेको देखाएको थियो। उक्त सर्वेक्षण काठमाडौँ महानगर, ललितपुर उपमहानगर, कीर्तिपुर नगरपालिका तथा रामकोट, मच्छेगाउँ र इमाडोल गाविसका १२० जना गृहिणी र ३० जना विवाहित पुरुषबीच गरिएको थियो।
द वाटर च्यानलले २ वैशाख २०७९ मा प्रकाशन गरेको अर्को लेखमा महिलाले लुगा धुनकै लागि सातामा १० देखि १५ घण्टा खर्चिरहेको उल्लेख छ। ‘नेपाली ग्रामीण भेगमा १२/१३ वर्षकै किशोरावस्थादेखि महिला लुगा धुने जिम्मेवारी लिन बाध्य छन्,’ लेखमा भनिएको छ।

जुम्लाको पातारासी गाउँपालिकाले महिलाले गर्ने दैनिक गतिविधि र त्यसमा लाग्ने समयबारे सानो आकारको सर्वेक्षण गरिरहेको छ। आठ जना कृषक र दुई जागिरे महिलामा गरिएको सर्वेक्षणमा सहभागीलाई उठेदेखि सुत्नुअघिसम्म गरेका काम र त्यसमा लाग्ने समयको विवरण भर्न लगाएको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरी बताउँछिन्। “सर्वेक्षणको अन्तिम नतिजा निकाल्न बाँकी भए पनि तथ्यांक हेर्दा पातारासीका महिलाले लुगा धुन दैनिक एक घण्टा समय खर्चने गरेको देखिन्छ,” गिरी भन्छिन्।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपाली महिलाको औसत आयु ७३.८ वर्ष रहेको छ। औसत आयु र पातारासीका महिलाका विवरणको आधारमा भन्ने हो भने एक नेपाली महिलाको आफ्नो जीवनकालमा २२ हजार ५२४ घण्टा त लुगा धुनमै जाने गरेको देखिन्छ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपाली महिलाको औसत आयु ७३.८ वर्ष रहेको छ। औसत आयु र पातारासीका महिलाका विवरणको आधारमा भन्ने हो भने एक नेपाली महिलाको आफ्नो जीवनकालमा २२ हजार ५२४ घण्टा त लुगा धुनमै जाने गरेको देखिन्छ।
त्रिभुवन विश्वविद्यालय, लैंगिक अध्ययन केन्द्रीय विभाग प्रमुख जमुना शिवाकोटी उप्रेती जलवायु परिवर्तनको असर, सुक्खा, खडेरीले पानी सुक्दै जाने क्रम बढेकाले महिलालाई लुगा धुने काम झनै बोझिलो बन्दै गएको बताउँछिन्। “पाँच महिनाअघिको मेरो अध्ययनमा एक महिला हरेक दिन १६ घण्टासम्म घरको काममा खटिएको पाइयो। खानेपानीका मुहान सुक्दै गएका कारण लुगा धुने कामको भारले झन् थिचिएका छन्,” उनी भन्छिन्, “कामकाजी महिलालाई समेत घरधन्दाको जिम्मेवारीले दोहोरोतेहरो बोझ थपिएको छ।”
स्वास्थ्यमै असर
वेटर काम गर्ने काठमाडौँ, मध्यबानेश्वरकी विमला राईलाई शनिबार हप्ताभरिका लुगा धोइसक्न तीनदेखि चार घण्टा लाग्छ। “निहुरिएर तीनचार घण्टा लगातार लुगा धुँदा गलेर हत्तु हुन्छु, राति निदाउनै सक्दिनँ,” उनी भन्छिन्।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ सन्तोष पौडेल हातैले एकोहोरो लुगा धुँदा स्वास्थ्यमा असर पर्ने बताउँछन्। “ढाड, कम्मर दुख्यो भनेर आउने कतिपय महिलामा लुगा धुनु नै कारक देखिन्छ,” उनी भन्छन्, “बाथ रोग भएकाहरूले धेरै चिसो पानीमा लुगा धुँदा हात सुन्निन सक्छ। कपडा मिच्दा कुहिनो सड्किने वा मांसपेशी तन्किने हुन सक्छ। निहुरेर धुँदा ढाड सर्किने, कम्मर दुख्ने हुन सक्छ। यस्तोमा टुल (पिर्का) मा बसेर धुने गर्नुस् भन्छौँ,” उनी भन्छन्।
भेरी अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार लुगा धुनेजस्ता काममा लामो समय बसिरहनुपर्ने भएकाले महिलामा पिसाब चुहिने, पाठेघर खस्ने, गर्भ खेर जाने जोखिम हुने गरेको छ।
भेरी अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार लुगा धुनेजस्ता काममा लामो समय बसिरहनुपर्ने भएकाले महिलामा पिसाब चुहिने, पाठेघर खस्ने, गर्भ खेर जाने जोखिम हुने गरेको छ। “महिलाको प्रजनन स्वास्थ्यमा जोखिम बढ्ने प्रमुख कारणमध्ये एउटा लुगा धुन लामो समय टुक्रुक्क बसेर गरिनेजस्ता काम हुन्,” उनी भन्छन्।
यूएन वुमनको अध्ययनअनुसार नेपालमा धेरै महिला अझै हातैले लुगा धुन्छन्। मध्यम र विकसित देशमा भने वासिङ मेसिनमा लुगा धुने चलन छ। मेसिनको प्रयोगले महिला–पुरुषलाई काम बाँडफाँड र सहकार्यमा सहज बनाउने श्रम तथा रोजगारविज्ञ जोशीको भनाइ छ। “मेरै घरमा हेर्छु, वासिङ मेसिनमा लुगा मैले हाले पनि सुकाउने काम भने श्रीमान्को हुन्छ,” उनी भन्छिन्।
वरदान ‘वासिङ मेसिन’
सन् २०२४ मा बेलायतको द वासिङ मेसिन प्रोजेक्टले भारत, तामिलनाडु राज्यको कुइलापलायम र इडियान्चभाडी गाउँका १० परिवारलाई एक एक थान लुगा धुने वासिङ मेसिन वितरण गरेको थियो। परिवार छान्दा २५ देखि ६५ वर्षभन्दा माथिको उमेरसमूहका, एकदेखि पाँचजनासम्म सदस्य भएका, आर्थिक रूपले कमजोर र सीमान्तीकृत परिवारलाई आधार मानिएको थियो। हातैले लुगा धुनुपर्दाको बोझ घटाएर क्षमता विकास र आयआर्जनका गतिविधिमा महिलाको सहभागिता बढाउने उद्देश्यले उक्त परियोजना सञ्चालन गरिएको थियो।
नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा सहरी क्षेत्रका कुल घरधुरीमध्ये १०.९ प्रतिशतले र ग्रामीण भेगका १.४ प्रतिशतले वासिङ मेसिन प्रयोग गरिरहेका छन्। गाउँ गाउँमा विद्युत् पहुँच बढे पनि वासिङ मेसिनले भने प्रवेश पाउन सकेको छैन।
एक वर्षपछि लाभान्वित ती परिवारले हातले पाँच किलोजति लुगा धुँदा ५३ मिनेट लाग्नेमा वासिङ मेसिन पाएपछि ३८ मिनेट मात्र लागेको, थाक्ने, कम्मर, मांसपेसी, पैताला र घुँडामा दुखाइ, छाला सुक्खा हुने, फाट्ने, उप्कने, चिलाउने आदि कम भएको बताएका थिए।
नेपालमा पनि वासिङ मेसिनको प्रयोग बढ्दो छ। नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा सहरी क्षेत्रका कुल घरधुरीमध्ये १०.९ प्रतिशतले र ग्रामीण भेगका १.४ प्रतिशतले वासिङ मेसिन प्रयोग गरिरहेका छन्। गाउँ गाउँमा विद्युत् पहुँच बढे पनि वासिङ मेसिनले भने प्रवेश पाउन सकेको छैन।

लुगा धुने मेसिन पाएपछि हर्षित तामिलनाडुका महिला। तस्बिर : द वासिङ मेसिन प्रोजेक्टको वेबसाइट
ग्रामीण भेगमा घर घरमा धारा जडान गरिए पनि पर्याप्त पानी नआउने हुँदा महिला सदस्य (खासगरी बुहारी)ले धारा, कुवा, पँधेरो, खोला, खोल्सामा पुगेर लुगा धुनुपर्छ। खानेपानी मन्त्रालयको अभिलेखअनुसार देशभर ९८ प्रतिशत घरपरिवारलाई आधारभूत खानेपानी सुविधा पुगिसकेको भए पनि २३.५ प्रतिशतलाई लुगा धुन पुग्ने पानीको पहुँच छैन। बहुसूचक सर्वेक्षणका अनुसार देशभर अझै पनि पानी संकलन गर्न ३१ मिनेटदेखि एक घण्टा लाग्ने जनसंख्या १.८ प्रतिशत र एक घण्टादेखि तीन घण्टासम्म लाग्ने जनसंख्या ०.९ प्रतिशत छ।
राज्यको दायित्व
लुगा धुनेलगायत घरधन्दाले महिलाको सशक्तीकरण र आर्थिक सक्षमतामा बाधा पुर्याउने गरेको छ। साइन्सडिरेक्ट जर्नलमा १५ जेठ २०७६ मा प्रकाशित कृषि फार्म व्यवस्थापनमा लैंगिक र सामाजिक मूल्यमान्यता तथा अभ्यास विषयक अध्ययनअनुसार परम्परागत सांस्कृतिक मान्यता र लैंगिक भूमिकाले गर्दा नेपाली महिलालाई घरबाहिर आयआर्जन गर्ने गतिविधिमा संलग्न हुन निरुत्साहित गरेको छ। घरधन्दाले महिलालाई व्यक्तित्व विकास र अर्थोपार्जन गर्ने अवसरबाट वञ्चित गरेको राष्ट्रिय जनगणनाले पनि उजागर गरेको छ। राष्ट्रिय जनगणना, २०७८ ले लुगा धुनेजस्ता घरधन्दामा समय दिनुपर्ने कारण पुरुषको तुलनामा झन्डै पाँच गुणाभन्दा बढी महिला आयआर्जनमा संलग्न हुनबाट वञ्चित हुनुपरेको तथ्य उजागर गरेको छ। १० वर्ष वा सोभन्दा माथिका ३२.४ प्रतिशत महिला घरधन्दाका कारण आर्थिक उपार्जनका काममा संलग्न हुन पाएका छैनन्।
त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभाग र इस्टवेस्ट सेन्टरले सन् २०२२ मा गरेको ‘नेपालमा सामाजिक समावेशिताको अवस्था : समयको बाँडफाँडसम्बन्धी अध्ययन’ ले विशेषगरी बहिष्कृत समूहका महिलालाई लुगा धुनेलगायत बेतलबी घरधन्दाको बोझ बढी छ। आम्दानी हुने काममा भने सबै जातजातिका पुरुषकै बाहुल्य छ। आम्दानी हुने काममा पुरुषले हरेक दिन ७.५ घण्टा समय दिन्छन् भने महिलाले ४.५ घण्टा मात्र। घरधन्दामा महिलाले हरेक दिन औसत ६ घण्टा समय दिन्छन् भने पुरुषले औसतमा २.२५ घण्टा मात्र।
त्रिवि, अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारी पनि महिलाको घरधन्दाको कामलाई कुल गार्हस्थ्य उत्पादनमा गणना गर्नुपर्ने बताउँछन्।
परिवारका पुरुष सदस्यहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेकाले महिलालाई भार झन् थपिइरहेको श्रम तथा रोजगारविज्ञ जोशीको तर्क छ। “पुरुषजति बिदेसिएपछि महिलालाई घरधन्दादेखि घरव्यवहारसम्मको जिम्मेवारी थपिएको छ,” उनी भन्छिन्।
लुगा धुनेजस्ता घरधन्दाका काम गरेर महिलाले पुर्याइरहेको योगदानलाई परिवार, समाज र राज्यले पहिचान र कदर गर्नुपर्ने त्रिवि लैंगिक अध्ययन विभाग प्रमुख शिवाकोटीको सुझाव छ। “घरधन्दाको काम महिलाको मात्र हो भनेर विभेद गर्ने व्यवहारबाट सबै माथि उठ्नुपर्छ, घरधन्दाको जिम्मेवारीमा महिला–पुरुष सहकार्य हुनुपर्छ,” उनी भन्छन्।
सरकारले राष्ट्रव्यापी सर्वेक्षण गरेर लुगा धुने मेसिन प्रयोगमा प्रोत्साहन तथा अनुदानका कार्यक्रम ल्याउनुपर्ने बताउँदै उनी भन्छिन्, “महिलाले एक घण्टा लुगा धुने बराबरको समय र परिश्रम बाहिरी काममा गर्ने हो भने ३०० रुपैयाँ ज्याला पाइन्छ, यही हिसाबमा यसलाई कुल गार्हस्थ्य उत्पादनमा गणना गर्नुपर्छ। सँगै, यस्ता महिलालाई सामाजिक सुरक्षाको प्रणालीमा ल्याउन पनि सहज हुन्छ।”
त्रिवि, अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारी पनि महिलाको घरधन्दाको कामलाई कुल गार्हस्थ्य उत्पादनमा गणना गर्नुपर्ने बताउँछन्। “करेसाबारीमा उत्पादित साग टिपेर खाइन्छ, त्यहाँ मूल्य परेन। तर, बजारमूल्य बराबर त्यो सागको गणना कृषि गणनामा गरिन्छ, त्यसरी नै घरधन्दाको कामलाई पनि कुल गार्हस्थ्य उत्पादनमा गणना गर्नुपर्छ भनिएको हो।” सित्तैमा कपडा धोइन्छ भने वासिङ मेसिन किन जडान गर्ने भन्ने मानसिकता हटाउनुपर्ने र मेसिनमार्फत काम गर्दा उब्रिएको समय अरू उत्पादनशील काममा लगाउने सोच विकास गर्नैपर्ने उनी बताउँछन्।