काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

टी-२० विश्वकप फाइनल

टी-२० विश्वकपको फाइनल जितेर न्युजिल्यान्डको खाता खोल्ने अभियान, भारतलाई उपाधि रक्षाको दबाब

२४ फाल्गुन २०८२
भारतीय बलर जसप्रित बुम्राह(दायाँ), न्युजिल्यान्डका फिन एलेन।
अ+
अ-

भारतीय कप्तान सूर्यकुमार यादवले भनेका छन्, “केही तनाव पक्कै हुन्छ। तनाव भएन भने खेलमा मजा पनि हुँदैन।”

टी-२० विश्वकपअन्तर्गत आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा न्युजिल्यान्डविरुद्ध फाइनलमा उत्रिँदा ‘डिफेन्डिङ च्याम्पियन’ भारतका कप्तानलाई मात्र होइन, किवी टोलीले पनि यस्तै दबाब महसुस गर्नेछ।

भारतले गत संस्करणमा दक्षिण अफ्रिकालाई फाइनलमा सात रनले हराउँदै १७ वर्षपछि उपाधि जितेको थियो। आइतबार त्यही देशसँग फाइनलमा प्रतिस्पर्धा गर्नुपर्दा न्युजिल्यान्डका लागि सोचेजस्तो सहज हुनेछैन।

न्युजिल्यान्ड पनि ५ वर्षपछि टी-२० विश्वकपको फाइनलमा फर्किएको छ। आजको खेलमा भारतले जित हासिल गरेको खण्डमा घरेलु टोलीले टी-२० विश्वकपको उपाधि रक्षा गर्ने इतिहास रच्नेछ। यसअघि कुनै पनि टोलीले विश्वकपको उपाधि रक्षा गरेका छैनन्।

भारत यतिबेला तेस्रो उपाधिको नजिक पनि छ। यसअघि उसले सन् २००७ र २०२४ मा उपाधि जितेको थियो। आजको फाइनल खेलमा विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालामध्ये एक नरेन्द्र मोदी मैदानमा एक लाखभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा छ।

यही मैदानमा तीन वर्षअघि ५० ओभरको विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई हराएको थियो। अहिले भारत यही मैदानमा टी-२० विश्वकप जित्ने लक्ष्यसहित उत्रिँदै छ।

नहारेको टोली

खेलमा केही उतारचढाव आए पनि भारतले टी-२० विश्वकपको फाइनलसम्मको यात्रा तय गर्न प्रभावकारी प्रदर्शन गरेको थियो। समूह चरणका खेलहरू सबै जितेर उसले पहिले सुपर ८ को यात्रा तय गर्‍यो भने त्यसपछि साविक उपविजेता दक्षिण अफ्रिकासँग ६७ रनले पराजय भोग्यो। त्यसयता टोलीले उत्कृष्ट पुनरागमन गरेको छ।

भारतको यस सफलतामा सबैभन्दा ठूलो कथा सन्जु स्यामसनले लेखेका छन्। विश्व नम्बर एक टी-२० ब्याटर बनेर आएका अभिषेक शर्मा लगातार लय समात्न संघर्ष गरिरहेको बेला उनलाई माथिल्लो क्रममा खेलाइएको थियो। उनले वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन बनाएर भारतलाई सेमिफाइनल पुर्‍याउन निर्णायक योगदान गरेका थिए। सेमिफाइनलमा पनि उनले इङ्ल्यान्डविरुद्ध ८९ रनको सानदार इनिङ्स खेलेर भारतको जित सुनिश्चित पारे। स्यामसनको लयले ईशान किसनसँगै शीर्षक्रमलाई थप सन्तुलित बनाएको छ।

भारतको वर्तमान टी-२० टोलीलाई धेरैले सर्वकालीन उत्कृष्ट टोली मानेका छन्। सन् २०२३ को अगस्टयता भारतले कुनै शृंखला वा प्रतियोगिता हारेको छैन। पछिल्लो टी-२० विश्वकप सुरु भएदेखि भारतले प्रत्येक एक हारको बदलामा सात खेल जित्दै प्रभावशाली प्रदर्शन गरेको छ। सन् २०२४ मा उपाधि जितेको टोलीमा यस पटक अभिषेक शर्मा, तिलक वर्मा र वरुण चक्रवर्तीजस्ता नयाँ खेलाडी थपिएका छन्। यी खेलाडीले टोलीलाई थप बलियो र आक्रामक बनाएका छन्।

भारतले प्रतियोगिता सुरु हुनुअघि शुभमन गिलको सट्टा ईशान किसनलाई टोलीमा भित्र्याएको थियो। त्यसपछि प्रतियोगिताकै बीचमा स्यामसनलाई पनि फर्काइयो। टोलीमा दुई परिवर्तन भए पनि सन्तुलनमा कुनै असर परेको छैन। बरु टोली थप सन्तुलित देखिन्छ।

टी-२० क्रिकेट सबैभन्दा अनिश्चित र छिटो परिवर्तन हुने फर्म्याट हो। त्यसैले भारतले प्रतियोगिताभर विभिन्न प्रकारका सावधानी अपनाएको चर्चा पनि चलेको थियो। टोली सदस्यले नियमित मन्दिर जाने, चन्द्रग्रहणका बेला अभ्यास नगर्ने र फाइनलका लागि होटल परिवर्तन गर्नेजस्ता कार्य अपनाएको देखिन्छ।

सधैँको ‘अन्डरडग’

फाइनलमा भारतले सामना गर्न लागेको न्युजिल्यान्डलाई सधैँझैँ ‘अन्डरडग’ मानिएको छ। तर, यो टोली दबाबमा सहज खेल्न सक्ने शैलीका कारण खतरनाक मानिन्छ। त्यसैले सन् २०१९ यता न्युजिल्यान्डले आईसीसी प्रतियोगितामा सबैभन्दा धेरै सेमिफाइनल खेल्ने कीर्तिमान बनाएको छ। अहिलेसम्म यस टोलीले सीमित ओभरको कुनै पनि विश्वकप जित्न सकेको छैन।

न्युजिल्यान्ड सन् २०२१ को टी-२० विश्वकपमा पहिलो पल्ट फाइनल पुगेको थियो। तर, अस्ट्रेलियासँग आठ विकेटले पराजित हुँदा उसको पहिलो उपाधि जित्ने सपना चकनाचुर भयो। यस पल्ट भारतीय समर्थकको हृदय तोड्दै उपाधि जित्ने अठोट राखेर आएको कप्तान मिचेल स्यान्टनरको भनाइ छ।

“हामी दाबेदार होइनौँ भन्ने सबैलाई थाहा छ। तर, एक पटक उपाधि उठाउन कसैको हृदय तोड्नुपरे पनि आपत्ति छैन,” उनी भन्छन्।

सन् २०१९ यता भारत र न्युजिल्यान्डले आईसीसीका नकआउट खेलमा उत्तिकै प्रतिस्पर्धा गरेका छन्। न्युजिल्यान्डले सन् २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनल र सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिप जितेको थियो भने भारतले सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनल र पछिल्लो च्याम्पियन्स ट्रफीको फाइनल जितेको छ।

न्युजिल्यान्डले यस पालिको विश्वकपमा भने मिश्रित प्रदर्शन गरेको छ। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै यो टोलीले सानदार जित निकालेको थियो। उक्त खेलमा फिन एलनले ३३ बलमै ६ चौका र चार छक्का प्रहार गर्दै प्रतियोगिताको सबैभन्दा छिटो शतक बनाएका थिए। तर, न्युजिल्यान्डले समूह चरणमा दक्षिण अफ्रिकासँग सात विकेट र सुपर ८ मा इङ्ल्यान्डसँग चार विकेटको हार बेहोरेको थियो।

त्यसैले उसलाई सेमिफाइनलमा स्थान बनाउन नेट रनरेटको साहरा लिन परेको थियो। तर, सेमिफाइनलमा एलनले ३३ बलमा १०० रन बनाउँदै दक्षिण अफ्रिकालाई पराजित गरेपछि टोलीको आत्मविश्वास चुलिएको छ। न्युजिल्यान्डले १६९ रनको लक्ष्य १२.५ ओभरमा पछ्याउँदै नौ विकेटको सानदार जित निकालेको थियो।

यस अवस्थामा भारत र न्युजिल्यान्डबीचको फाइनल रोमाञ्चक हुने सबैको विश्लेषण छ।